२९ फाल्गुन २०७६, बिहीबार

नेपाल बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झौता



काठमाडौं । नेपाल बैंक र नीलकण्ठ नगरपालिकाबीच व्याज अनुदान तथा सहुलियत ऋण प्रवाहसम्बन्धी सम्झौता भएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख विकास उद्यमशीलता कार्यक्रम नेपाल बैंकमार्फत कार्यान्वयन गर्ने, ब्याजमा अनुदान र सहुलियत ऋण प्रवाह गर्ने सम्वन्धमा हस्ताक्षर गरिएको हो ।

धादिङ वेशीमा आयोजित एक समारोहमा नीलकण्ठ नगरपालिकाको तर्फबाट प्रमुख भीमप्रसाद ढुङ्गाना र नेपाल बैङ्कका तर्फबाट बैंकका बागमती प्रदेश प्रमुख सुन्दर पन्थीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौतापश्चात चालू आर्थिक वर्षमा नीलकण्ठ नगरपालिकाका २ सय ८० उद्यमीले प्रत्यक्ष लाभ लिने छन । उद्यामीले नगरपालिकाको सिफारिसमा नेपाल बैंकबाट कर्जा प्राप्त गरि व्याजमा अनुदान पाउने छन । सम्झौताबमोजिम असल ऋणीमध्ये महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत व्याज अनुदान प्राप्त गर्ने छन ।

बैंकले यो कर्जा प्रवाह गर्दा सेवा शुल्क नलिने जनाएको छ । सम्झौता तथा घोषणा सभामा नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले नगरपालिकासँग सहकार्य गर्न पाएकामा खुशी व्यक्त गर्दैै यस कार्यक्रमबाट किसानले सहुलियतपूर्ण कर्जा सुविधा पाउने र नगरपालिकाबाट थप व्याज अनुदान पाउने बताए । नगरप्रमुख ढुङ्गानाले नेपाल बैंकमार्फत मेयर विकास उद्यमशिलताकार्यक्रम सञ्चालन गर्न पाउनु गौरवको विषय भएको जनाए ।


प्रतिक्रिया दिनुहोस्