मर्जरमा आक्रामक बन्दै सिटिजन्स बैंक, सिर्जना फाइनान्सलाई असारभित्रै अक्वायर गर्ने, ९२ करोड पुँजी थपियो « Arthapath.com
११ जेष्ठ २०७८, मंगलवार

मर्जरमा आक्रामक बन्दै सिटिजन्स बैंक, सिर्जना फाइनान्सलाई असारभित्रै अक्वायर गर्ने, ९२ करोड पुँजी थपियो



काठमाडौं । मर्जर तथा अक्वायरमा सिटिजन्स बैंक आक्रामक बन्दै आएको छ । गत माघ २८ गते विराटनगरमा केन्द्रीय कार्यालय रहेको सिर्जना फाइनान्सलाई अक्वायर गर्न एमओयू गरेको सिटिजन्स बैंकले यसै आवभित्र कारोवार सुरु गर्नेगरी मर्जरलाई अन्तिमरुप दिएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) निती ल्याएपछि सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी जेठ ११ गते आज अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सिर्जना फाइनान्स लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

दुबै संस्थाले आफ्नो विशेष साधारणसभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गर्ने बैंकका संचालक प्रवलजंग पाण्डेले बताए । दुवै बैंकले माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।

नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरी यसै आर्थिक वर्ष २०७७÷०७८ भित्र संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको छ । २०७८ साल जेठ ९ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाईसमेत प्राप्ति गरेपछि बैंकको निक्षेप करिव १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ । ऋण लगानी करिव १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिव १२ लाख पुग्नेछ ।

बैंकको संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडी बढाएको हो । सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्