बाणिज्य बैंकले मात्रै बढाए ८ खर्ब कर्जा, एनआईसीको ९१ अर्ब, सीसीडी रेसियोमा मेगा अगाडी « Arthapath.com
४ श्रावण २०७८, सोमबार

बाणिज्य बैंकले मात्रै बढाए ८ खर्ब कर्जा, एनआईसीको ९१ अर्ब, सीसीडी रेसियोमा मेगा अगाडी



काठमाडौं । गत आर्थिक वर्षमा २७ बाणिज्य बैंकले मात्रै ८ खर्ब १५ अर्ब ४४ करोड रुपैयाँ कर्जा बढाएका छन् । असार महिनामा मात्रै ७४ अर्ब ६५ करोड रुपैयाँ ऋण थपिएको नेपाल बैंकर्स संघले जनाएको छ । यस बीचमा एनआईसी एसिया बैंकले सर्वाधिक कर्जा बृद्धि गरेको छ ।

एनआईसीले पछिल्लो एक वर्षमा मात्रै ९१ अर्ब १० करोड रुपैयाँ ऋण बढाएको छ । जुन रकम सेञ्चुरी, सिभिल, नेपाल बंगलादेश, स्ट्याण्डर्ड चार्टर्डमध्ये कुनै पनि एक बैंकको कुल ऋण भन्दा बढी हो । बैंक अफ काठमाडौं वा एनसीसी बैंकको कुल ऋणभन्दा थोरैमात्र कम । भलै असारमा भने एनआईसी एसियाका ऋण झण्डै २ अर्ब रुपैयाँ घटेको छ ।

असार एक महिनाको मात्रै तथ्यांकले सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकबाट निकै बढी ऋण प्रवाह भएको देखिएको छ । उक्त बैंकले आर्थिक वर्षको अन्तिम महिनामा पनि १३ अर्ब ५९ करोड रुपैयाँ ऋण बढाएको छ । सिटिजन्स बैंकले साँढे ८ अर्ब र नबील बैंकले ७ अर्ब ८० करोड रुपैयाँ कर्जा एक महिनामा बढाएका छन् ।

नेपाल बैंक, प्राइम, एनसीसी लगायत बैंकले पनि एकै महिनामा ५ अर्बभन्दा बढी ऋण विस्तार गरेका छन् । ऋण विस्तार भएसँगै केही बैंकसँग कर्जा विस्तार गर्ने क्षमता समेत कमजोर भएको छ । अधिकमात्रामा कर्जा विस्तार गर्दा थप ऋण प्रवाह गर्ने सामथ्र्य घट्छ । तर यसले बैंकको ब्याज आम्दानी भने बढाउँछ । फलस्वरुप बैंकको नाफा बढाउन सहयोगी हुन्छ ।

पछिल्लो तथ्यांक अनुसार मेगा बैंकको निक्षेप र पूँजीमा कर्जाको अनुपात (सीसीडी रेसियो) सबैभन्दा बढी देखिएको छ । मेगाको सीसीडी रेसियो ८२.०२ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले यस्तो अनुपात ८५ प्रतिशतसम्म बढाउनसक्ने छुट दिएको भए पनि यो स्तरमा आउँदा बैंकसँग तरल सम्पत्तीको अभाव हुने गर्छ । भलै मेगा बैंक पहिलेदेखि नै निकै संकुचित तरलतामा ब्यापार गर्दै आएको छ ।

बैंकर्स संघका अनुसार नेपाल बंगलादेश बैंकसँग लगानी गर्ने क्षमता सबैभन्दा बढी छ । उसले प्राथमिक पूँजी र निक्षेपको अनुपातमा ६७.३७ प्रतिशतमात्रै लगानी गरेको छ । बाणिज्य बैंकहरुको औसत सीसीडी रेसियो ७७.३८ प्रतिशत रहेको बेला औद्योगिक औसतभन्दा १० प्रतिशतविन्दु न्यून कर्जा प्रवाह गर्नु बैंकको अक्षमता हो । यस्तो अवस्थाले बैंकको वित्तीय स्वास्थ्य दुरावस्थामा धकेल्ने छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकमा आधारित ।


प्रतिक्रिया दिनुहोस्