किन कमजोर बने सरकारी बैंकहरु ? « Arthapath.com
२० कार्तिक २०८०, सोमबार

किन कमजोर बने सरकारी बैंकहरु ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारी स्वामित्वका बैङ्कहरू कमजोर देखिएका छन् । सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैङ्कको अधिकांश वित्तीय सूचक घटेको छ । 

बैङ्कहरूले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार नाफा, खुद नाफा, वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी लगायतका सूचकहरू घटेका छन् । चालु आवको पहिलो त्रैमासमा अधिकांश बैङ्कहरूको नाफा लगायतका सूचकहरू सकारात्मक त छैनन् । तर पनि वित्तीय विवरणले सरकारी स्वामित्वका बैङ्कहरूको अवस्था अझ कमजोर देखाएको छ । 

समीक्षा अवधिमा सरकारी तीन वटै बैङ्कको खुद नाफामा भारी गिरावट आएको छ । पहिलो त्रैमासमा कृषि विकास बैङ्क ऋणात्मक देखिएको छ । गत वर्षको असोज मसान्तसम्ममा बैङ्कले २२ करोड ९ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, यस वर्षको सोही अवधिमा भने बैङ्क ८८ करोड ८० लाख रुपैयाँ ऋणात्मक बनेको छ । 

यस्तै, सो अवधिमा राष्ट्रिय वाणिज्य बैङ्कको खुद नाफा पनि ३१.०३ प्रतिशतले घटेर ८५ करोड ९८ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा बैङ्कले १ अर्ब २४ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यता, नेपाल बैङ्कको नाफा पनि ७६.४३ प्रतिशतले घटेर १४ करोड २३ लाख रुपैयाँ कायम भएको छ ।  

समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैङ्कको खुद ब्याज आम्दानी पनि दोहोरो अङ्कले (२४.०९ प्रतिशत) घटेको छ । गत वर्षको असोज मसान्तसम्ममा ३ अर्ब ३३ करोड ११ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । तर, नेपाल बैङ्कको ब्याज आम्दानी भने १६.२८ प्रतिशतले बढेर १ अर्ब २१ करोड ७७ लाख र कृषि विकास बैङ्कको १२.१६ प्रतिशतले बढेर २ अर्ब ६ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, बैङ्कहरूको वितरणयोग्य नाफा पनि खस्किएको छ । गत वर्ष ३ अर्ब २७ करोड ४७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको कृषि विकास बैङ्कले यस वर्ष भने ८६.७२ प्रतिशतले घटेको छ । यता, नेपाल बैङ्कको वितरणयोग्य नाफा पनि ८७.३३ प्रतिशतले घटेर ३६ करोड ७५ लाख रुपैयाँ कायम भएको छ । राष्ट्रिय वाणिज्य बैङ्कको पनि ४२.८० प्रतिशतले घटेर १ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ कायम भएको छ । 

समीक्षा अवधिमा बैङ्कहरूको प्रतिसेयर आम्दानीमा पनि गिरावट देखिएको छ । कृषि विकास बैङ्कको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८३ पैसाले ऋणात्मक देखिएको हो । नेपाल बैङ्कको यस्तो आम्दानी पनि १२ रुपैयाँ ८९ पैसाले घटेर ३ रुपैयाँ ८८ पैसा कायम भएको छ । यता, राष्ट्रिय वाणिज्य बैङ्कको प्रतिसेयर आम्दानी पनि १३.७७ पैसाले घटेर २१ रुपैयाँ ९९ पैसा कायम भएको छ । 

हाल राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल र कृषि विकास बैङ्कको  चुक्ता पुँजी क्रमशः १५ अर्ब ६३ करोड ७३ लाख, १४ अर्ब ६९ करोड ४० लाख र १८ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा यी तीन वटै बैङ्कको जगेडा कोषको आकार भने बढेको छ । पहिलो त्रैमासमा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैङ्कको १२९.९३ प्रतिशतले बढेर ३८ अर्ब २० करोड ४५ लाख रुपैयाँ पुर्‍याएको छ । यस्तै, नेपाल बैङ्कको जगेडा तथा कोषमा पनि २१ अर्ब ४४ करोड ७९ लाख रुपैयाँ र कृषि विकास बैङ्कको १३ अर्ब ९२ करोड ८४ लाख रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा यी दुई बैङ्कको कोषको आकार पनि क्रमशः १४.१७ प्रतिशत र १४.०३ प्रतिशतले बढेको हो । 

समीक्षा अवधिमा निक्षेप सङ्कलन र कर्जा लगानी वृद्धिदरमा कृषि विकास बैङ्क अगाडि देखिएको छ । चालु आवको तीन महिनामा बैङ्कले कुल २ खर्ब ९ अर्ब १७ करोड ५९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी कुल १ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको तुलनामा बैङ्कको निक्षेप सङ्कलन ४.८५ प्रतिशत र कर्जा लगानी ६.५८ प्रतिशतले वृद्धि भएको हो । 

यस्तै, राष्ट्रिय वाणिज्य बैङ्कको निक्षेप सङ्कलन सामान्य (१.२३ प्रतिशत) ले बढेर ३ खर्ब २५ अर्ब ६३ करोड १६ लाख रुपैयाँ कायम भएको छ । बैङ्कको कर्जा लगानी भने ३.१० प्रतिशतले वृद्धि भई २ खर्ब ३७ अर्ब १५ करोड ५३ लाख रुपैयाँ पुगेको छ । यता, नेपाल बैङ्कको निक्षेप सङ्कलन पनि २.६६ प्रतिशतले वृद्धि भई २ खर्ब ५१ अर्ब ६ करोड ९९ लाख रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा बैङ्कले कुल १ खर्ब ८० करोड ४१ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

पहिलो त्रैमासमा खराब प्रदर्शन गरेको कृषि विकास बैङ्कको खराब कर्जा सबैभन्दा धेरै देखिएको छ । बैङ्कसँग हाल ५.३३ प्रतिशत खराब कर्जा छ । गत वर्षको पहिलो त्रैमासमा बैङ्कसँग यस्तो कर्जा २.३८ प्रतिशत रहेको थियो । 

यस्तै, राष्ट्रिय वाणिज्य बैङ्कको खराब कर्जा पनि २.४८ प्रतिशतबाट बढेर ३.६२ प्रतिशत पुगेको छ । यता, नेपाल बैङ्कको यस्तो कर्जा पनि गत वर्षको पहिलो त्रैमासमा २.३६ प्रतिशत रहेको थियो । तर, चालु आवको पहिलो त्रैमासमा आइपुग्दा भने बढेर ३.८४ प्रतिशत पुगेको छ । 


प्रतिक्रिया दिनुहोस्