झन्डै एक दर्जन बैंकको खराब कर्जा ४ प्रतिशत माथि, १ प्रतिशत कम हुनेमा एभरेष्ट बैंक एक्लो « Arthapath.com
९ बैशाख २०८१, आईतवार

झन्डै एक दर्जन बैंकको खराब कर्जा ४ प्रतिशत माथि, १ प्रतिशत कम हुनेमा एभरेष्ट बैंक एक्लो



काठमाडौं । वाणिज्य बैंकहरुको खराब कर्जा बढ्दो नै छ । कतिपय बैंकको खराब कर्जा सीमा भन्दा माथि नै पुगेको देखिन्छ ।
बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

पछिल्लो समय देखिएको आर्थिक शिथिलता कारण पनि बैंकहरुका खराव कर्जा अनुपात झन् बढ्दै गएको छ । तेस्रो त्रैमासमा बैंकहरुको औसत खराब कर्जा अनुपात ३.६३ प्रतिशत पुगेको छ । तर, गत आवको सोही अवधिमा भने यस्तो कर्जाको अनुपात ३ प्रतिशत कम अर्थात् २.९८ प्रतिशत रहेको थियो । यो गत आवको तुलनामा भने यस्तो अनुपात शून्य दशमलव ६५ प्रतिशत बिन्दुले बढेको हो ।

अझै पनि आर्थिक गतिविधि बढ्न नसक्दा पनि खराब कर्जा बढेको हो । आर्थिक शिथिलताकै कारण बैंकहरुको कर्जा असुल हुन सकेको छैन । आर्थिक संकटका कारण अधिकांश क्षेत्रको व्यवसायीक आम्दानीमा गिवरावट आएको छ, त्यसको असरले ऋणीहरुको ऋण तिर्ने क्षमता घटेको छ । उनीहरुले कर्जाको किस्ता तथा ब्याज तिर्न पनि सकस नै छ, यसले खराव कर्जा बढेको छ ।

बैंकहरुको खराब कर्जा बढ्दा नाफा पनि प्रभावित भएको छ । गत वर्षको तुलनामा बैंकहरुको नाफा झन्डै आधाले घटेको छ । समिक्षा अवधिमा बैंकहरुको खुद नाफा १३.४७ प्रतिशत घटेर ४० अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । तर, गत वर्ष चैतसम्म बैंकहरूले ४७ अर्ब १ करोड रुपैयाँ नाफा कमाएका थिए । खराब कर्जा आएको बढोत्तरीले नै अधिकांश बैंकहरूको वितरण योग्य नाफा पनि ऋणात्मक भएको छ ।

१ प्रतिशत कम खराब कर्जा हुनेमा एभरेष्ट बैंक मात्रै

समिक्षा अवधिमा १ प्रतिशत कम खराब कर्जा हुनेमा एभरेष्ट बैंक मात्रै छ । एभरेष्ट बाहेकका अन्य बैंकहरुको खराब कर्जा अनुपात १ प्रतिशतदेखि ५ प्रतिशत माथि छ ।

तेस्रो त्रैमासमा आइपुग्दा एभरेष्टको खराब कर्जा शून्य दशमलव ७ प्रतिशत मात्रै छ । गत वर्षको सोही अवधिमा पनि बैंक यस्तो कर्जाको अनुपात शून्य दशमलव ७ प्रतिशत नै थियो । कम खराब कर्जा हुनेको दोस्रो र तेस्रो सूचीमा रहेका सानिमा र नेपाल एसबिआई बैंकको क्रमशः १.४९ प्रतिशत र १.९८ प्रतिशत छ ।

यस्तै, समिक्षा अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको खराब कर्जा २.१४ प्रतिशत, सिद्धार्थको २.५२ प्रतिशत, एनएमबि बैंकको २.८६ प्रतिशत रहेको छ । गत वर्षहरुमा १ प्रतिशत कम बिन्दुमा रहने एनआइसी एशियाको खराब कर्जा पनि अहिले ३.०८ प्रतिशत पुगेको छ । समिक्षा अवधिमा कृषि विकास बैंकको ३.३ प्रतिशत, माछापुच्छ्रे ३.६८ र सिटिजन्स बैंक ३.७६ प्रतिशत रहेको छ ।

लक्ष्मी सनराइजको खराब कर्जा सबैभन्दा धेरै, १० वटाको ४ प्रतिशत माथि

समिक्षा अवधिमा झन्डै एक दर्जन बैंकहरुको खराब कर्जा ४ प्रतिशत माथि नै छ । सबैभन्दा धेरै लक्ष्मी सनराइजको ५.४९ प्रतिशत छ । जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा माथि हो ।

यस्तै, नबिल बैंकको खराब कर्जा ४.०४ प्रतिशत, प्राइमको ४.२९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.६६ प्रतिशत, ग्लोबल आइएमईको ४.७४ प्रतिशत, प्रभुको ४.८१ प्रतिशत छ । यता, नेपाल बैंकको खराब कर्जा ४.८५ प्रतिशत, कुमारीको ४.९५ प्रतिशत, हिमालयन बैंकको ४.९६ प्रतिशत रहेको छ ।

तेस्रो त्रैमासमा कुन बैंकको खराब कर्जा कति ?


प्रतिक्रिया दिनुहोस्