कमिशन घटाएको बहानामा लगानीकर्ताबाट वर्षेनि करोडौँ रुपैयाँ असुल्ने योजना, अर्बौ असुल्ने खेल « Arthapath.com
९ माघ २०७७, शुक्रबार

कमिशन घटाएको बहानामा लगानीकर्ताबाट वर्षेनि करोडौँ रुपैयाँ असुल्ने योजना, अर्बौ असुल्ने खेल



काठमाडौं । नयाँ ब्रोकर थप गर्नुकासाथै बैंकहरूलाई ब्रोकर लाइसेन्सको माग गरिरहेका लगानीकर्तालाई झनै लुट्ने योजना बनेको छ । धितोपत्र बोर्डले सिमित कमिशन घटाएर लगानीकर्ताको पक्षमा काम गरेको नाटक गरे पनि उसले पहिले ५ रुपैयाँमा हुने नामसारीको काममा सीडीएसले अहिले २५/२५ गरी ५० रुपैयाँ डिम्याट चार्ज लिइरहेकोबारे केही बोलेन । नेप्से र बोर्ड आफैले लिने कुनै पनि शुल्कसमेत घटाएन । तर, ब्रोकर कमिशन घटाएको बहानामा अनन्तकालसम्म लगानीकर्ताबाट वर्षेनि करोडौँ रुपैयाँ असुल्ने योजना कार्यान्वयन गरिन लागिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सित्तैमा चलाउन दिएको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) चलाएबापत् शुल्क लिएर लगानीकर्तालाई थप व्ययभार थप्ने र अकुत कमाउने तयारी भैरहेको छ ।

नेप्सेले ल्याएको टीएमएस सिस्टम राम्रोसँग नचलेको वहानामा बोकर कम्पनीहरूलाई नै टीएमएस सफटवेयर स्थापना गर्न बोर्ड र नेप्सेले निर्देशन दिएका छन । ब्रोकरहरूले मिलेर त्यस्तो सफ्टवेयरका लागि कम्पनी समेत खडा गरिसकेका छन् । अहिले नेप्सेले सित्तैमा उपलब्ध गराइरहेको टीएसएस सुविधाका लागि अब ब्र्रोकरहरूले हरेक लगानीकर्तासँग वार्षिक १ हजार रुपैयाँ शुल्क लिने तयारी गरेका छन् ।

अर्बौ असुल्ने खेल

अहिले नै १० लाखभन्दा बढी सक्रिय लगानीकर्ता छन् । हरेक आईपीओको निष्काशनमा १० लाखभन्दा बढिले आवेदन गर्न थालेका छन् । यदि १० लाखमात्रै लगानीकर्ता मान्ने हो भने भने सबैबाट वार्षिक १ हजार रुपैयाँ असुल्ने हो भने वर्षेनि १ अर्ब रुपैयाँ ब्रोकरहरूले असुल्ने छन् । एक दुई करोड रुपैयाँ खर्चेर ल्याइएको त्यस्तो सामान्य सफ्टवेयरबाट वर्षेनि अर्बौं रुपैयाँ असुल्दै घर बसी–बसी एउटैको भागमा करोडौँ मुनाफा खाने दाउमा बोर्ड र ब्रोकरहरू छन । लगानीकर्ता लुटेर अनन्तकालसम्म आम्दानीको स्रोत बनाउनका लागि धितोपत्र बोर्डका अध्यक्षले ब्रोकहरूको योजनामा साझेदारी गरेका छन् ।

केही कमिशन घटाएकोजस्तो गर्ने र अर्कोतिरबाट शुल्क असुल्ने योजनाको रणनीतिगत कार्यान्वयनमा बोर्ड अध्यक्ष भीष्मराज ढुंगाना उपयोग भैरहेका छन् । केही ब्रोकरहरूले यस्तो कम्पनीबाट दीर्घकालीनरुपमा बसी–बसी करोडौँ कमाउने योजना सुनाएपछि अध्यक्ष ढुंगाना ब्रोकरहरूको पार्टनर बन्दै उनीहरूको इसारामा नाचिरहेका छन् ।

लगानीकर्ताले हालसम्म निःशुल्क पाइरहेको टीएमएसमा शुल्क लिने योजना ढुंगाना अध्यक्ष भएसँगै बनेको हो । उनी बोर्डमा आउनासाथै बैंकका सहायक कम्पनीहरूलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोकिदिएका थिए । यसमा पनि उनी ब्रोकरहरूको अनुचित प्रभावमा परेका थिए । साथै, अध्यक्ष ढुंगानाले यिनै ब्रोकरका व्यक्तिहरूलाई प्रदेशस्तरको बोकर लाइसेन्स दिने योजनासमेत बनाएको बुझिएको छ ।

यसअघि नेप्सेले ब्रोकर कम्पनीहरूलाई टिएमएस बनाएर सित्तैमा चलाउन दिँदै आएको थियो । तर उसले हालै एपीआई पोलिसी पास गर्दै सित्तैमा चलाउन दिँदैआएको टीएमएसको शुल्क लिने गृहकार्य सुरु गरेको हो । उसले शुल्क निर्धारण र टीएमएस चलाउन दिने विधिबारे अध्ययन गर्न एक कमिटी गठन गरेको छ ।

नेप्सेका एक निर्देशकको संयोजकत्वमा उक्त कमिटी गठन भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । पराजुलीकाअनुसार कमिटीले तोकेको शुल्क र विधिका आधारमा के कति शुल्क लिने र कस्तो विधिमार्फत उनीहरूलाई चलाउन दिने भन्ने तय हुनेछ । कमिटीले अध्ययनलाई करीब करीब सकेको अवस्था छ । उसले बुझाएको रिपोर्ट नेप्से सञ्चालक समितिले पास गरेपछि कार्यान्वयनमा आउनेछ ।

ब्रोकरहरूले छुट्टै टीएमएस राख्न पाउनुपर्ने माग गर्दैआएका थिए । उनीहरूले नेप्सेले बनाएर सित्तैमा चलाउन दिएको टीएमएसले भरपर्दो काम नगरेको गुनासो गर्ने गरेका थिए । ब्रोकर कम्पनीले मात्रै नभएर लगानीकर्ताहरूले समेत बेला–बेलामा टीएमएसले काम नगरेको गुनासो गर्दैआएका छन् । सोही गुनासोलाई सम्बोधन गर्न नेप्सेले टीएमएस प्रयोगमा ब्रोकर कम्पनीहरूलाई छनौटको अवसर दिन लागेको जनाएको छ ।

नेप्सेले सित्तैमा दिएको टीएमएस चलाउने वा आफैँले भरपर्दो विदेशी टीएमएस ल्याउने ब्रोकर कम्पनीहरूलाई छनौटको अवसर हुने बताएको छ । नेप्सेले तोकेको मापदण्डअनुसारको टीएमएस ल्याउन ब्रोकर कम्पनीहरूलाई छुट हुनेछ । ब्रोकर कम्पनीले किनेर ल्याएको टीएमएसलाई नेप्सेले आफ्नो म्याचिङ इन्जिनमा एक्सेस दिने जनाएको छ । उनीहरूको टीएमएसलाई एक्सेस दिएबापत् कुनै शुल्क नलिने प्रारम्भिक तयारी रहेको नेप्सेले जनाएको छ । तर, नयाँ टीएमएस खरिद गर्न नसक्नेले भने नेप्सेकै टीएमएसले काम चलाउनु पर्नेछ । यसअघि काम चलाएबापत् कुनै पनि शुल्क तिर्नु नपर्ने भए पनि अब त्यो प्रावधान परिवर्तन गरिँदैछ । नेप्सेकै टीएमएसबाट काम चलाउने हो भने ब्रोकर कम्पनीले अब निश्चित रकम तिर्नु पर्नेछ ।

उता ब्रोकर कम्पनीले यसै पनि अत्याधुनिक र सुविधा सम्पन्न टीएमएस ल्याएर लगानीकर्तालाई राम्रो सुविधा दिने भन्दै क्याप टेक नेपाल नामक कम्पनी नै दर्ता गरिसकेका छन् । ब्रोकर कम्पनीहरूलाई टीएमएस सप्लाई गर्ने तयारीसमेत अन्तिम चरणमा पु¥याएको क्याप टेक नेपाल कम्पनीका संयोजक टंक गौतमले जानकारी दिए ।

तर, यता नेप्सेले भने ब्रोकरहरूले क्याप टेकमार्फत गरिरहेको तयारीलाई स्वीकृति नदिने जनाएको छ । बजारमा बोकरहरू मिलेर लूट मच्चाउन सक्ने र कार्टेलिङमार्फत बदमासी हुनसक्ने भएकाले नेप्सेले यसबारे चासो लिएको हो ।

योजनाअनुसार हाल चलिरहेको नेप्सेको टीएसएस सिस्टम बिगार्ने र काम नलाग्ने बनाउने तथा ब्रोकरहरूबाट बनाइने टीएमएस (ट्रेडिङ म्यानेजमेन्ट सिस्टम) अनिवार्यरुपमा लगानीकर्तालाई भिडाउने तयारी भैरहेको छ । यसपछि लगानीकर्ताबाट वार्षिक सदस्यता शुल्क र ट्रान्जेक्सन फी भनी पतिव्यक्ति बार्षिक १ हजार शुल्क असूल गर्ने तयारी भइरहेको छ ।

एनसीएचएल पनि ठगीमा

यति बेला लगा नीकर्ताले सेयर बेचेको रक लिँदा र किनेको रकम तिर्दासमेत एनसीएचएलबाट रकम हस्तान्तरण गर्दाको दुवैतर्फको व्ययभार बेहोर्नु परिरहेको छ । जबकी यसअघि चेकबाट भुक्तानी गर्दा ब्रोकरले एकतर्फी शुल्क तिर्ने गरिन्थ्यो । लगानीकर्तालाई थाहै नदिई लकडाउनको मौका पारेर नेप्सेको मिलेमतोमा लगानीकर्ता ठग्ने धन्दा सुरु भएको हो ।

सेयर खरिद–बिक्रीपछि चेकबाट भुक्तानी गर्दा (इलेक्ट्रोनिक चेक क्लियरिङ)मा रु. १०० सम्म दुवैतर्फ बेहोर्ने व्यवस्था कायम थियो, तर पछिल्लो समयमा कोभिड–१९ को असरले गर्दा अधिकांश रकम हस्तान्तरणमा एनसीएचएलको कनेक्ट आईपीएस र आईपीएसमार्फत लाग्ने शुल्कको भार भने लगानीकर्ताहरूलाई मात्रै बोकाइएको छ ।

ब्रोकर र एनसीएचएलको सहमतिमा बनेको यो किसिमको चार्जका विषयमा भने लगानीकर्ता बेखबर छन् । एनसीएचएलको कनेक्ट आईपीएसबाट सेयर किनबेचपछि रकम हस्तान्तरण गर्दा कारोबारको सीमाअनुसार रु.२ देखि १० रुपैयाँसम्म शुल्क लगानीकर्ताहरूको थाप्लोमा थुपारिएको छ भने एनसीएचएलकै आईपीएसमार्फत रकम हस्तान्तरण गर्दा कारोबार सीमाका आधारमा रु.२ देखि १५ रुपैयाँसम्म लागत लगानीकर्ताले नै व्यहोर्दै आइरहेका छन् । धितोपत्र बोर्डले हालसालै एकतिहाई कमिशन कटौती गरे तापनि स–साना थुप्रै शुल्कबाट लगानीकर्ताहरूको ढाड सेक्ने काम भइरहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले हाल निःशुल्क दिइरहेको टीएमएस सञ्चालन अब ब्रोकर स्वयम्ले गर्नुपर्ने र उनीहरूले नयाँ टीएमएस बनाउनमा बोर्डका अध्यक्ष ढुंगानाले अनुमति दिएपछि ब्रोकरहरूले ६ महिनाअघि नै नयाँ आईटी कम्पनीका रुपमा क्यापटेक नेपाल नामक कम्पनी खडा गरिसकेका छन् ।

क्यापटेक नेपालको अधिकृत पुँजी २५ करोड रुपैयाँ रहेको छ, जसमध्ये हाल कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । सिटी टेक सोलुसन नामको कम्पनी २० प्रतिशत साझेदारका रुपमा रहेको छ । ५० वटै ब्रोकर कम्पनी र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको गोप्य सहमति मुताबिक कम्पनी दर्ता भएको बताइन्छ । बोर्ड अध्यक्षलाई समेत कमिशनको रुपमा यस कम्पनीमा गोल्डेन सेयर दिइएको बताइएको छ ।

क्यापटेक नेपालको योजना ब्रोकरहरूलाई आईटी सेवा बेचिरहेको एउटा सफ्टवेयर कम्पनीले बनाएको थियो । सोही कम्पनीको योजनामा लाखौँ लगानीकर्ताहरूले वर्षेनि अर्बभन्दा बढी शुल्क असुल्ने योजना बनेको थियो । यसमा ब्रोकर र बोर्डका अधिकारीहरूको साझेदारी थियो, तर अहिले नेप्सेले यसमा टाङ्ग अडाएको छ । जसका कारण अहिले तनाव बढेको छ ।

यतिबेला नेपाल स्टक एक्सचेञ्जले ५० ब्रोकर कम्पनीको एकल लगानी रहेको एक कम्पनीलाई मात्रै डाटा नदिने बतायो । ब्रोकर कम्पनी स्वयम्ले टीएमएस बनाएको खण्डमा मात्रै डाटा दिने नेप्सेले स्पष्ट पारेको छ । हरेक ब्रोकर कम्पनीले आफ्नै हिसाबले टीएमएस बनाउनुपर्ने सिद्धान्त हो । तर, सबै बोकरले मिलेर एउटै सफ्टवेयर बनाउने र त्यसैबाट चर्को शुल्क असुल्ने तयारीपति नेप्सेको आपत्ति छ । नेप्सेको कदमले क्यापटेकको योजना तत्कालका लागि ब्रेक लागेको स्रोत बताउँछ ।

नेप्सेले एकै कम्पनीबाट टीएमएस खरिद गर्दा सफ्टवेयर कम्पनीसँगको मिलेमतोमा बजारमा प्राविधिक लूट हुनसक्ने भन्दै स्वीकृति नदिने बताएको हो । “हामीले एउटै कम्पनीबाट सप्लाई भएको सबै टीएमएसलाई हाम्रो सिस्टममा आवद्ध हुन दिने छैनौँ । किनकि मिलेमतो र बजारमा कार्टेलिङ नहोस् भन्नकोलागि यस्तो गर्न लागिएको हो”, नेप्सेका एक उच्च अधिकारीले भने ।

ब्रोकर कम्पनीले नयाँ टीएमएस ल्याएपछि लगानीकर्ताहरूले नयाँ फिचरसहितको टीएमएस चलाउन पाउनेछन् । उनीहरूले टीएमएसमार्फत नै पोर्टफोलियो हेर्ने, बैंकमा रहेको रकम हेर्ने, डाटा हेर्ने, बजार सिनारियोसमेत त्यही बाट हेर्न पाउने बताइएको छ । तर, पछिल्लो समय ब्रोकर कमिशन घटेपछि असन्तुष्ट ब्रोकर कम्पनी नयाँ सुविधा दिन त्यत्ति इच्छुक देखिएका छैनन् । आम्दानी घटेको समयमा प्रविधिमा थप लगानी गर्न नसकिने भन्दै उनीहरू रिसाएका छन् । “आम्दानी घट्दै जाने, सेवाचाहिँ अन्तर्राष्ट्रियस्तरको दिनुपर्ने भन्ने कहीँ लेख्या छ । नयाँ टीएमएस थप्ने वा नथप्ने ब्रोकरको तजबिजको कुरा हो । आवश्यक देखिए ल्याउन पनि सक्छौँ, नभए त्यसैले काम चलाउँला, नेपालमा चलिहाल्छ”, एक ब्रोकरले भने ।

उच्च प्राविधिक जोखिम

नेपाल स्टक एक्सचेञ्जकाअनुसार हाल दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या बढेर ५ लाख पुग्न लागेको छ । यो तथ्यांक एक वर्षमै दोब्बर भएको हो भने यो बढ्ने क्रम बुलिस बजार भएकाले अझै निरन्तर रहने प्रक्षेपण गर्न सकिन्छ ।

अनलाइन कारोबार प्रणालीमा आवद्ध हुनेको संख्या २ लाख ६२ हजार प्रयोगकर्ता नाघेको छ । यो तथ्याङ्क एक वर्षमा १००० प्रतिशतले वृद्धि भएको हो । अहिले पनि नेप्सेको अनलाइन कारोबार प्रणालीमा केही समस्या यथावत् नै छ । प्रविधि र रिसोर्सको दायरा अंकगणितीय दरमा बढिरहेकोमा प्रयोगकर्ता भने ज्यामितीय दरमा बढिरहेका छन् ।

टीएमएसमा अधिक भार भएकै कारण बेलाबेलामा सिस्टम नै डाउन हुनेदेखि कारोबार नै प्रभावित हुने समस्या दिनानुदिन जटिल बन्दै गइरहेको छ । भित्रभित्रै समस्या बल्झिरहँदा ब्रोकर, नेप्से र वाइकोबीच पनि खटपट हुन थालेको छ । यी निकायबीच समन्वय नहुँदा जुनसुकै बेला उच्च प्राविधिक जोखिम निम्तिन सक्ने खतरा रहेको स्रोत दाबी गर्छ ।सेयर बजार


प्रतिक्रिया दिनुहोस्