बागमती प्रदेशका अधिकांश उद्योग काठमाडौं र हेटौडामा संचालन « Arthapath.com
२० मंसिर २०७८, सोमबार

बागमती प्रदेशका अधिकांश उद्योग काठमाडौं र हेटौडामा संचालन



काठमाडौं । बागमती प्रदेशमा उद्योगको औसत क्षमता उपयोगमा वृद्धि आएको छ । आर्थिक बर्ष २०७६/७७ को तुलनामा उद्योगको औसत क्षमता उपयोगमा वृद्धि आएको हो । आ.व. २०७७/७८ नमुना छनौटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४६.४ प्रतिशत रहेको छ । जुन गत बर्ष नमुना छनौटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ३७.८ प्रतिशत मात्र रहेको थियो ।

प्रादेशिक आर्थिक गतिविधि अध्ययन बागमती प्रदेशको बार्षिक प्रतिवेदन आ.व. २०७७/७८ का अनुसार छनौटमा समेटिएका उद्योग मध्ये रङ्ग उद्योगले सबैभन्दा बढी ९२.९ प्रतिशत उपयोग क्षमता उपयोग गरेको छ भने प्रशोधित दूधको क्षमता उपयोग सबैभन्दा कम १३.१ प्रतिशत रहेको छ ।

समीक्षा बर्षमा यस प्रदेशको अध्ययनले समेटेका उद्योगमध्ये पशुदाना उत्पादन १६.४ प्रतिशत, विस्कुट उत्पादन ३४.९ प्रतिशत, चाउचाउ उत्पादन २३.२ प्रतिशत, हल्का पेय पदार्थ उत्पादन १८.७ प्रतिशत, चुरोट उत्पादन ८.५ प्रतिशतले बढेको छ । त्यस्तै पश्मिना उत्पादन ४.० प्रतिशत, गार्मेन्ट उत्पादन १९.० प्रतिशत, रङ्ग उत्पादन ५४.९ प्रतिशत, साबुन उत्पादन ४५.१ प्रतिशत, कंक्रिट उत्पादन ५१.६ प्रतिशत र कपडाको जुत्ता उत्पादन ३२.५ प्रतिशतले बढेको छ । प्रशोधित दूध उत्पादन ११.० प्रतिशत र वियर उत्पादन ११.४ प्रतिशतले घटेको छ ।

औद्योगिक वस्तुको उत्पादन स्थिति

बागमती प्रदेशमा २०७७/७८ पशुदाना ५० हजार ९७९ दशमलव ३ मेट्रिक टन उत्पादन गरेको छ । पेन्टस् ४६ हजार ४३७ मे.टन, कंक्रिट ३४ हजार १९६ मे.टन, चाउचाउ ३२ हजार ३५६ दशमलव ८ मे.टन र साबुन २८ हजार ८५६ दशमलव २ मे.टन उत्पादन गरेको छ । भने पश्मिना २७ हजार ६५४ थान उत्पादन गरेको छ । त्यस्तै प्रशोधित दुध ६ करोड ९८ लाख लिटर, वियर ६ करोड ४५ लाख लिटर र हल्का पेय पदार्थ १ अर्ब ४५ करोड ४८ लाख लिटर उत्पादन रहेको छ । लिक्युड ३७ अर्ब ५७ करोड ५४ लाख बोतल र ट्यावलेट २ अर्ब ८४ करोड ४० लाख थान उत्पादन गरेको छ ।

बागमती प्रदेशमा अधिकांश उद्योग काठमाडौ र हेटौडामा

बागमती प्रदेशमा संचालित अधिकांश उद्योगहरु काठमाडौं उपत्यका र मकवानपुरको हेटौडामा संचालनमा रहेका छन् । जुन प्रमुख उद्योगहरुमा छालाका जुत्ता, कपडाका जुत्ता, गलैंचा, पश्मिना, फेल्टका सामान, जीवजन्तुको आहार, ऊनको तयारी पोशाक, सुतिको तयारी पोशाक, सजावटका सामान, चाउचाउ, विस्कुट, पेय पदार्थ, इटा, औषधी र सिमेन्ट उद्योगहरु पर्दछन् ।

११ सिमेन्ट उद्योगहरु संचालनमा

बागमती प्रदेशमा ११ वटा सिमेन्ट उद्योगहरु संचालनमा रहेका छन् । जुन धादिङ जिल्ला सिमेन्ट हवको रुपमा विकास हुदै आएको छ । धादिङ जिल्लामा वैदेशिक लगानीमा हुवासीन सिमेन्ट नारायणी प्रा.लि. स्थापना भई उत्पादन शुरु गर्ने क्रममा रहेको छ । यस उद्योगको वार्षिक ओ.पि.सी. सिमेन्ट उत्पादन क्षमता ३ लाख ५५ हजार मेट्रिक टन, पी.पी.सी सिमेन्ट २ लाख ४० हजार मेट्रिक टन र पी.यस.सी सिमेन्ट २ लाख ५० हजार मेट्रिक टन रहने अनुमान गरिएको छ । उक्त उद्योगले करिब १ हजार जनालाई रोजगारी प्रदान गर्ने देखिएको छ ।

बागमती प्रदेशमा २०७७ साउनदेखि २०७८ असारसम्म दर्ता भएका उद्योग

बागमती प्रदेशमा आ.व. २०७७/७८ मा ८९ वटा उद्योग दर्ता भएका छन् । उक्त उद्योगले करिब ४ हजार ८२१ जनालाई रोजगारी प्रदान गर्ने भएका छन् । जुन भक्तपुरमा २ वटा, चितवनमा ४ वटा, धादिङमा २ वटा, दोलखामा ५ वटा, काठमाडौंमा ५० वटा, काभ्रेपलाञ्चोकमा २ वटा, ललितपुरमा ११ वटा, मकवानपुरमा ६ वटा, नुवाकोटमा ५ वटा र सिन्धुपाल्चोकमा २ वटा उद्योग दर्ता भएका छन् । जुन बागमी प्रदेशमा दर्दा भएका उद्योगको कुल पुँजी ३३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

औद्योगिक कर्जाको अवस्था

२०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले यस प्रदेशका औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २५.७ प्रतिशतले वृद्धि भई ८ खर्ब ९६ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । गत बर्ष यस्तो कर्जा २२.८ प्रतिशतले वृद्धि भई ७ खर्ब १२ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३७.७ प्रतिशत रहेकोे छ । औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ७ खर्ब ७१ अर्ब ६ करोड कर्जा लगानी रहेको छ भने रसुवा जिल्लामा सबैभन्दा कम ४६ करोड कर्जा लगानी रहेको छ ।

कुल औगोगिक कर्जामध्ये धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रिोनिक उद्योगमा प्रवाहित कर्जा बढी ४१.१ प्रतिशतले वृद्धि भएको छ । भने सबैभन्दा कम खानी उत्पादन सम्बन्धि उद्योगमा १४.८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी विद्युत, ग्यास तथा पानीमा ३२.५ प्रतिशतले, कृषि वन तथा पेय पदार्थ उत्पादन सम्बन्धि उद्योगमा ३७.७ प्रतिशतले, निमार्णमा १९.१ प्रतिशतले र गैरखाद्य वस्तु उत्पादन सम्बन्धि उद्योगमा २०.८ प्रतिशतले बर्जा बढेको छ । स्रोत नेपाल राष्ट्र बैंक ।


प्रतिक्रिया दिनुहोस्