चालु आर्थिक वर्षमा ५.८ प्रतिशतको आर्थिक वृद्धि हुने विभागको प्रक्षेपण « Arthapath.com
१५ बैशाख २०७९, बिहीबार

चालु आर्थिक वर्षमा ५.८ प्रतिशतको आर्थिक वृद्धि हुने विभागको प्रक्षेपण



काठमाडौं । चालू आर्थिक बर्षमा ५.८ प्रतिशतको आर्थिक बृद्धिदर हुने केन्द्रिय तथ्यांक बिभागले जनाएको छ । बिहीवार आर्थिक बर्ष २०७८–७९ को राष्ट्रिय लेखा सम्बन्धि तथ्यांक सार्बजनिक गर्दै यस्तो बताएको हो । विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले आर्थिक वर्ष २०७८–७९ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिकीकरण कार्यक्रममा आर्थिक वृद्धिदरको आँकलन सार्वजनिक गरेका हुन् ।त्यस्तै, विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, उद्योगमा १०.३ प्रतिशत र सेवा क्षेत्रमा ५.९ प्रतिशतको वृद्धिदर हासिल हुने विभागको अनुमान छ ।

चालु आर्थिक वर्षको छ देखि नौ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकड़ा तथा सूचनाहरू एवं बाँकी अवधिको अनुमान गर्दा केही हालको अवस्था र विगतका अवस्थाका आधारमा वस्तु तथा सेवाको उत्पादन अनुमान गरी २०७८-७९ को प्रारम्भिक अनुमान र प्राप्त संशोधित तथ्याङ्कका आधारमा गत आर्थिक वर्ष २०७७-७८ को संशोधित अनुमान तथा बिगत आर्थिक वर्ष २०७६-७७ को अन्तिम अनुमान प्रकाशित गरिएको छ । हाल प्रकाशित स्थिर मूल्यका अनुमानहरू आर्थिक वर्ष २०६७-६८ को मूल्यमा आधारित छन् । तथ्याङको उपलब्धता संगसँगै केन्द्रीय तथ्याङ्क विभागको राष्ट्रिय लेखा तथ्याङ्क परिमार्जन नीति बमोजिम आर्थिक वर्ष २०७७-७८ र आर्थिक वर्ष २०७८-७९ का अनुमानहरूलाई क्रमशः परिमार्जन सहित प्रकाशित गर्दै लगिने छ । हालसम्म प्राप्त अनुमानहरूको अध्ययन गर्दा चालु आर्थिक वर्ष २०७८-७९ मा उपभेक्ताको मुल्यमा ५.८४ प्रतिशतले समष्टिगत आर्थिक वृद्धि (कुल कुल गार्हस्थ्य उत्पादनको वृद्धि) हुने देखिन्छ ।

हालसम्म पनि विश्वमा कोभिड १९ को महामारीको अवस्था विद्यमान रहेको छ । कोभिङ १९ को असरलाई न्यून गर्नको लागि अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासहरूको प्रभाव हाम्रो अर्थतन्त्रमा पनि पर्ने नै देखिन्छ । तथापि हालका दिनहरूमा नेपालमा कोभिड १९ को प्रभावको अवस्था साह्रै न्यून रहेको र यस आर्थिक वर्षको अन्तिमसम्म नै यसको नकारात्मक असर नरहने साथै आर्थिक क्रियाकलापहरू सामान्य किसिमले सन्चालन हुने विश्वास गरिएको छ ।

चालु आर्थिक वर्ष २०७८-७९ को छ देखि नौ महिना सम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकड़ा तथा सूचनाहरूका आधारमा तयार गरिएको तथ्याङ्क अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ ।

सोही वृद्धिदर गत आर्थिक वर्ष २०७७-७८ मा ३.८३ प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०७६-७७ मा २.४२ प्रतिशत ऋणात्मक रहेको अन्तिम अनुमान छ ।


प्रतिक्रिया दिनुहोस्