विदेशी विनिमय सञ्चिति ६ प्रतिशतले बढेर १२ खर्ब ९२ अर्ब पुग्यो, ९ महिनाको आयात धान्न सक्ने « Arthapath.com
२९ पुष २०७९, शुक्रबार

विदेशी विनिमय सञ्चिति ६ प्रतिशतले बढेर १२ खर्ब ९२ अर्ब पुग्यो, ९ महिनाको आयात धान्न सक्ने



काठमाडौं । विदेशी विनिमय सञ्चिति करिब १३ खर्ब पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा विदेशी सञ्चिति १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ पुगेको हो ।

गत असार मसान्तसम्मको तुलनामा भने विदेशी सञ्चिति ६.३ प्रतिशतले बढेको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको देशको वर्तमान आर्थिक स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म विदेशी सञ्चिति १२ खर्ब १५ अर्ब ८० रुपैयाँ रुपैयाँ बराबर रहेको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति पाँच महिनामा ३ प्रतिशतले मात्र वृद्धि भएको हो । चालु आवको मंसिर मसान्तसम्ममा यस्तो सञ्चिति ९ अर्ब ८२ करोड कायम भएको छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको थियो ।

सो अवधिमा कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा भने ११ खर्ब बढी रहेको छ । राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तसम्मको तुलनामा पाँच महिनामा ७.८ प्रतिशतले बढेको हो । मंसिर मसान्तसम्म यस्तो सञ्चिति बढेर ११ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा भने १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।

यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति भने ३.८ प्रतिशतले कमी देखिएको छ । सो अवधिमा यस्तो सञ्चिति १ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ । गत असार मसान्तसम्ममा भने १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९÷८० को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २६.६ प्रतिशत, ७२.६ प्रतिशत र २३.० प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्