विद्युतीय कारोबारमा फड्को: आक्रामक रुपमा बढे प्रयोगकर्ता, क्यूआर कोड र मोबाईल बैंकिङ्ग बढी « Arthapath.com
६ माघ २०७९, शुक्रबार

विद्युतीय कारोबारमा फड्को: आक्रामक रुपमा बढे प्रयोगकर्ता, क्यूआर कोड र मोबाईल बैंकिङ्ग बढी



काठमाडौं । नेपालमा विद्युतीय कारोबार बढ्न थालेको छ । पछिल्लो समयमा डिजिटल कारोबार निकै नै लोकप्रियता बन्दै गएको पाइन्छ ।

राष्ट्र बैंकले पनि डिजिटल कारोबारलाई बढवा दिँदै आएको छ । विशेषतः कोरोना महामारीपछि आम मानिसमा विद्युतीय भुक्तानी तर्फ आकर्षण बढ्ेको तथ्याङ्कले देखाउछन् । नेपालमा कोरोना महामारीपछि मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र क्यूआर कोड पेमेमेन्ट तर्फ प्रयोगकर्ताहरुको आकर्षण बढेको पाइन्छ ।

सरकारले पनि नीति तथा कार्यक्रममा आगामी ५ वर्षभित्र देशलाई डिजिटलतर्फ उन्मुख गराउने घोषणा सहित अगाडि बढेको छ । प्रविधिको विकाससँगै सरकारले कागजी नोटको प्रयोग घटाउँदै डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्ने नीति लिँदै आएको छ ।
राष्ट्र बैंकले समेत क्युआर पेमेन्टलाई प्राथमिकतामा राखी बैंक तथा वित्तीय संस्थासँग समन्वयमा ‘नगदरहित’ कारोबार अभियान नै चलाईरहेको छ ।

राष्ट्र बैंकका अधिकारीका अनुसार पछिल्लो समय नगदसहित आरजिटिएस, एटिएम र डिजिटल कारोबारका लागि कनेट आइपिएस, इ–कर्मश, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्यूआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का प्रयोगकर्ता बढेको बताउँछन् ।

डिजिटल कारोबार मार्फत एक बैंकबाट अर्को बैंकको खातामा रकम पठाउने, आफूलाई आवश्यक वस्तुहरुको किनमेल, टेलिफोन, विद्युत, खानेपानी लगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने लगायतको काम गर्न सकिन्छ । त्यसैले पनि यसतर्फ मानिसहरुको आकर्षण दिनानुदिन बढ्दै गएको छ ।

चालु आर्थिक वर्षको मंसिर महिनाको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा धेरै आरजिटिएस मार्फत कारोबार भएको छ । सो महिनामा आरजिटीएसमार्फत २४ खर्ब ३६ अर्ब ५४ करोड १० लाख रुपैयाँ र एटीएम मार्फत ७५ अर्ब २२ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुन मार्फत कति कारोबार ?

मोबाइल बैंकिङ्ग

गत मंसिर महिनामा मोबाइल बैंकिङ्ग मार्फत नेपालमा १ खर्ब ६० अर्ब ३ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो गत वर्षको सोही महिनाको तुलनमा ८०.७६ प्रतिशतले बढी हो। गत वर्षको मंसिरमा भने यस बैंकिङ्ग मार्फत ८८ अर्ब ५३ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । राष्ट्र बैंकका अनुसार यस वर्षका मंसिर महिनामा मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबार ह्वात्तै बढेको हो । संख्याको आधारमा भने २ करोड १६ लाख ३५ हजार पटक/वटा मोबाइल बैंकिङ्ग कारोबार भएको छ । मोबाइल बैंकिङ्ग प्रयोगकर्ता १ करोड ९७ लवाख ६६ हजार ४१५ रहेको छ ।

कनेक्ट आईपीएस

कनेक्ट आईपीएस मार्फत मंसिर महिनामा मात्रै करिव ३ खर्बको कारोबार भएको छ । राष्ट्र बैंकका अनुसार मंसिर महिनामा २ खर्ब ९८ अर्ब २८ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । गत कात्तिक महिनामा भने यो मार्फत २ खर्ब ७९ अर्ब ८९ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । गत वर्षको सोही मंसिर महिनामा भने कनेक्ट आईपीएस मार्फत २ खर्ब २८ अर्ब ४५ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या भने ९ लाख ७४ हजार ५४३ रहेको छ ।

इन्टरनेट बैंकिङ्ग

चालु आवको मंसिर महिनामा इन्टरनेट बैंकिङ्ग मार्फत ११ अर्ब ४७ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । राष्ट्र बैंकका अनुसार गत कात्तिकमा भने ११ अर्ब ७० करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यस्तै, गत वर्षको मंसिरमा इन्टरनेट बैंकिङ्ग मार्फत १२ अर्ब ७३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । इन्टर बैंकिङ्ग प्रयोगकर्ताको संख्या भने १७ लाख ७० हजार ९३७ रहेको छ ।

वालेट

यस मंसिर महिनामा वालेट मार्फत १७ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत कात्तिक महिनाको तुलनामा भने २.९१ प्रतिशतले मात्रै बढी हो । कात्तिकमा भने १७ अर्ब २२ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । राष्ट्र बैंकका अनुसार वर्षको मंसिरमा भने १५ अर्ब ५२ करोड ८० लाख रुपैयाँ बराबरको वालेट कारोबार भएको थियो । मंसिर महिनामा वालेट प्रयोगकर्ताको संख्या १ करोड ५५ लाख २ हजार १३३ रहेको छ ।

क्यूआर कोड

मंसिर महिनामा क्यूआर कोड मार्फत हुने कारोबार पनि ह्वात्तै बढेको छ । पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार यस मार्फत हुने कारोबार २०७.९५ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार मंसिर महिनामा १९ अर्ब ३४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही महिनामा भने ६ अर्ब २८ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

पीओएस

चालु आवको मंसिर महिनामा पीओएस मार्फत ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही महिनाको तुलनामा भने १६.८८ प्रतिशतले बढी हो । गत वर्षको मंसिरमा यस मार्फत ३ अर्ब ८१ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्