कर्जा अपचलनमा मुछिएपछि छानविनका लागि तानिए कामना सेवा विकास बैंकका सीइओ बस्नेत « Arthapath.com
१६ माघ २०७९, सोमबार

कर्जा अपचलनमा मुछिएपछि छानविनका लागि तानिए कामना सेवा विकास बैंकका सीइओ बस्नेत



काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणकुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

झापास्थित इलाका प्रहरी कार्यालय दकमले सीईओ बस्नेत र दुई जना ऋणीलाई समेत पक्राउ गरेको जनाएको छ । बैंकमा ३१ करोड रुपैयाँ बराबरको ऋण अपचलन भएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

उक्त आरोपमा थप अनुसन्धान गरी कारबाही गर्न नेपाल राष्ट्र बैंकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्र पठाएको थियो । बस्नेतसहित ऋणी चन्द्रबहादुर थापा र हरेन्द्र दाहल पनि पक्राउ परेका छन् ।

थापा मधुसुदन ट्रेडर्स र दाहल बरापति सप्लायर्सका संचालन हुन् । थापा र दाहाललाई गत विहीबार नै पक्राउ गरिएको र सीईओ बस्नेतलाई आइतबार पक्राउ गरेको दमक प्रहरीले जनाएको छ । कामना सेवाको कर्जा अपचलनका बारेमा ३ वटा भिन्दाभिन्दै उजुरी परेको र ती तीनवटै फाइलमा किटानी गरिएका एक एक जना पक्राउ गरिएको प्रहरीले बतायो ।

सोमबार दिउँसो पनि सरकारी वकिलको कार्यालयमा बयान लिएर म्याद थपका लागि इलाम अदालतमा पेश गरिएको प्रहरीको भनाइ छ । सोमबार म्याद थप भएन भने उनीहरु छुट्ने छन् । अदालतले धरौटी लिएर वा बिनाशर्त छोड्न पनि आदेश दिन सक्छ । तर प्रहरीले तीनै जनालाई अझै ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको माग गरेको छ ।

राष्ट्र बैंकले कामना सेवा विकास बैंकले झापाको दमक क्षेत्रमा विभिन्न व्यक्ति तथा कम्पनीका नाममा प्रवाहित ३१ करोड रुपैयाँ बराबरको कर्जा अपचलन भएको निष्कर्ष निकालेर गत मंसिरमै सीआईबीलाई फाइल पठाएको थियो । सीआईबीले पनि ४१ दिन अघि उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

कामना सेवा विकास बैंकका कर्मचारी मिलेर नक्कली ऋणि खडा गरेर ऋण दिएको, कतिपय बिनाधितो पनि ऋण दिएको पाइएको राष्ट्र बैंक स्रोतले जनाएको छ । बैंकका कर्मचारीले भ्यालुएटरसँग मिलेर नक्कली ऋणीको खडा गर्दै आफैं पैसा चलाएको भेटिएको भनेर अनुसन्धान गर्न फाइल प्राप्त भएको प्रहरीले जनाएको छ ।

कतिपय ऋणीले अर्काको व्यवसाय देखाएर पनि ऋण लिएको पाइएको र त्यस्ता फाइलहरु सीईओसम्म पुगेको देखिएको प्रहरीले भनेको छ । कोभीडपछिको अवस्थामा घरजग्गा र सेयरको भाउ निरन्तर उकालो लाग्दा धेरै बैंक तथा वित्तीय संस्थाका कर्मचारीले यसरी नै ऋण अपचलन गरिरहेको खबरहरु बाहिर आएका थिए । उनीहरुले साना ऋणीहरुलाई कर्जा दिएबापत घुस लिने गरेको र उनीहरुकै फाइल दुरुपयोग गरेर समेत कर्जा अपचलन गरिरहेको भन्ने हल्ला बाहिर आए पनि राष्ट्र बैंकले यस्ता विषयमा प्रभावकारी अनुसन्धान अझै गर्न सकिरहेको छैन ।

यद्यपि, बैंकका कर्मचारीको बदनियतपूर्ण काम र ऋणीको झुटा विवरणले बैंकिङ क्षेत्रमा ठूलै हलचल ल्याउन सक्ने देखिएको छ । राष्ट्र बैंकले १५ अर्ब रुपैयाँभन्दा बढी कर्जा अपचलन गरेको आरोपमा अरु कतिपय बाणिज्य बैंक र विकास बैंकको पनि अनुसन्धान गरिरहेको स्रोतको दाबी छ ।

यसअघि राष्ट्र बैंकको सुपरिवेक्षण विभागले ७ लाखभन्दा बढी ऋण लिने सबै ऋणीको विवरण बैंक तथा वित्तीय संस्थासँग मागेर अध्ययन गरेको थियो । पछिल्लो समय राष्ट्र बैंकले सुपरिवेक्षणलाई कडाई गर्दै जाँदा धेरै बैंकहरु फस्ने संभावना देखिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्