१२ वर्षदेखि बन्द भृकुटी कागजमा फस्यो हिमालयन र नेपाल बैंकको लगानी, अरबौं पैसामा ‘गोल्छाको मनोमानी’ « Arthapath.com
२० फाल्गुन २०७९, शनिबार

१२ वर्षदेखि बन्द भृकुटी कागजमा फस्यो हिमालयन र नेपाल बैंकको लगानी, अरबौं पैसामा ‘गोल्छाको मनोमानी’



ऋण लिएर नतिर्ने गोल्छा अर्गनाइजेशन बैंकदेखि उद्योगसम्मका लागि बन्यो गलपासो

काठमाण्डौं । स्वदेशमै कागजको उत्पादन गरी रोजगार सिर्जना र आत्मनिर्भर बनाउन आजभन्दा ४० वर्षअघि देशकै ठूलो गौरवको उद्योगको रुपमा चिन सरकारले भृकुटी कागज कारखाना नेपाललाई निर्माण गरिदियो । तर, जुन उद्देश्यबाट देशले उक्त उद्योग प्राप्त गरेको थियो, त्यसले आफ्नो रुग्ण अवस्थाबाट दिगो सञ्चालनको भविष्यको मौका नपाउँदैँ अन्यौल र बेवारिसे हुनपुग्यो । यसरी सो उद्योग आज बन्द भइसकेको पनि १२ वर्ष बितिसक्यो ।

कारखाना नै उल्टै ऋणमा चुर्लुम्म डुब्न पुग्दा यसको भारले नेपाली अर्थतन्त्रमाथी नै नराम्ररी थला पार्दै जाने क्रम दिन दुगुना, रात चौगुणा बढिरहेको छ । अर्कोतर्फ उद्योग सञ्चालनकै लागि भनेर लगानी भएको नेपाल बैंक लगायत अन्य बैंकहरुको करोडौं (अहिले अरबभन्दा माथी) को रकम ऋण असुली हुन नसकी डुबिरहेको छ ।

कारखानामाथि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र हिमालयन बैंक गरी १ अर्ब ५० करोड रुपैयाँमाथिको लगानी रहेको छ । वि.स. २०३९ सालमा चिन सरकारको सहयोगमा नवलपुर गैँडाकोटमा भृकुटी कागज कारखाना सञ्चालनमा ल्याइएको थियो । मुलुकभित्रै कागजको उत्पादन गरी आत्मनिर्भर बन्न चिन सरकारले कारखानाको निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तर, कारखाना सञ्चालनको १ दशक पनि नबित्दै सरकारले उक्त कागज कारखाना निजी क्षेत्रलाई सुम्पियो ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले वि.स. २०४९ सालामा भृकुटी कागज कारखाना गोल्छा अर्गनाजेशनलाई सुम्पियो । गोल्छा अर्गनाइजेशनसहितको ज्वाइन्ट भेन्चर (जेभी) कम्पनीलाई १ हजार ८० कट्ठा जमिन र औद्योगिक उपकरणसहित १३ करोड रुपैयाँमा कारखाना बेचिएको थियो ।

तर, निजीकरण भएसँगै कारखाना राम्रोसँग सञ्चालन हुन सकेन । निरन्तर उत्पादनमा कमजोर बन्दै गएको कागज कारखाना अन्ततः २०६७ फागुन १९ देखि पूर्ण रूपमा बन्द हुन पुग्यो ।त्यसबेला कारखानाको क्षमता विकास गर्न भन्दै गोल्छा अर्गनाइजेशनले बैंकसँग करिब ८५ करोड रुपैयाँ व्यावसायिक ऋण लिएको थियो । सोही ऋणको ब्याज, हर्जाना बढेर झण्डै दोब्बर भइसकेको छ । तर, उद्योग बन्द भएको १२ वर्ष बितिसक्दा समेत बैंकहरुले सो कर्जा फिर्ता पाउन सकेका छैनन् ।

भृकुटी कागज कारखानाको ऋण तिर्न गोल्छा अर्गनाइशेजन तयार, १ वर्षको ग्रेस अवधि पाउने
बैंकहरुको पटक–पटकको ताकेतापछि भृकुटी कागज कारखानाको ऋण तिर्न गोल्छा अर्गनाइजेशन तयार भएको छ । कारखानाको जग्गा बेचेर बक्यौता ऋण तिर्न स्वामित्वकर्ता हितेश गोल्छा तयार भएसँगै लगानीकर्ता नेपाल बैंक र हिमालय बैंकले कम्पनीलाई थप १ वर्ष ग्रेस समय दिन तयार भएका हुन् ।

अन्ततः भृकुटी कागज कारखानाका स्वामित्वकर्ता हितेश गोल्छाले कारखानाको जग्गा बेचेर ऋण तिर्न राजी भएपछि बैंकहरुले थप एक वर्षको समय दिने भएका हुन् । गोल्छाले नै एक वर्ष भित्र ऋण तिर्ने प्रतिबद्धता जनाएपछि थप समय प्रदान गरिने तयारी गरिएको नेपाल बैंकले जनाएको हो ।

यद्यपि, यसबारेमा निर्णय नै चाहिँ भई नसकेको प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्णबहादुर अधिकारीले जानकारी दिएका छन् । तत्कालीन समयमा भृकुटी कागज कारखानाका मुख्य सञ्चालक दिवाकर गोल्छा थिए । दिवाकरको निधनपछि यो कारखानाको स्वामित्व उनका छोरा हितेश गोल्छामा आएको छ ।

कागज कारखानाले चर्चेको कूल १ हजार ८० कट्ठा मध्ये ८ बिघा जग्गा भने कम्पनीले यसअघि नै बेचिसकेको छ । गैडाकोटमा अहिले सडकले छोएको ठाउँमा एक कट्ठा जग्गाको न्यूनतम मूल्य १ करोड पर्छ । यस हिसाबले १ बिगाहको २० करोड रुपैयाँ पर्छ । भृकृटी कागज कारखानासँग ५२ बिगाह जग्गा रहेको छ । सो जग्गा बिक्री गर्दा न्यूनतम १० अर्ब ४० करोड रुपैयाँ पर्ने देखिन्छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्