नेपालमा बनेका सुनका गरगहना निकासी खस्कियो, विदेशी मुद्रा आर्जन पनि घट्ने « Arthapath.com
१९ जेष्ठ २०८०, शुक्रबार

नेपालमा बनेका सुनका गरगहना निकासी खस्कियो, विदेशी मुद्रा आर्जन पनि घट्ने



काठमाडौं । नेपालबाट बाहिरिने सुनका मौलिक गहना निर्यातमा कमी देखिएको छ । एक वर्षमा सुन गहना निर्यात ६८.३० प्रतिशतले घटेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८/७९ को बैशाख मसान्तसम्ममा नेपालबाट ४६ करोड बढीको सुनका नेपाली मौलिक गहना निर्यात भएको थियो । तर, चालु आवको समिक्षा अवधिमा भने ३१ करोड ४० लाख रुपैयाँले घटेको छ । चालु आवको बैशाख मसान्तसम्ममा गहना निर्यात १४ करोड ६० लाख रुपैयाँमा झरेको छ । विभागका अनुसार चालु आवको १० महिनामा १५ केजी बराबरको सुनका गहना निर्यात भएको विभागले जनाएको छ । गत वर्षमात्रै ५३ करोड २७ लाख रुपैयाँ बढीको गहना निर्यात भएको थियो ।

सुनका गहना निर्यात गत वर्षमा भने निकै उत्साहजनक रुपमा बढेको थियो । भन्सार विभागले एचएस कोड दिएपछि आव २०७७/७८ देखि नेपालबाट सुनका गहना विदेश निर्यात हुन थालेको थियो । बिशेषगरि अमेरिका, अस्ट्रेलिया र हङकङमा सुनका गरगहना निर्यात हुने गरेको छ । भन्सारले एचएस कोड दिएको वर्ष सुनको गहना निर्यात उच्च दरमा वृद्धि भएको थियो ।
विशेषगरि विदेशी मुलुकमा बन्न नसक्ने मौलिक सुनका गहना नेपालबाट निर्यात हुने गरेको विभाले जनाएको छ ।

विदेशी मुलुकमा नेपालीहरुको बसोबास बढी भएका देशहरुबाट यस्ता सुनका गहनाको माग हुने गरेको छ । सुनचाँदी व्यवसायीले नेपाली मौलिक गरगहना निर्यातमा जोड दिँदै आएका थिए । व्यवसायीहरुले नेपाली परम्परागत कला कौशल युक्त गरगहनाको निर्यातबाट रोजगारी प्रवद्र्धन गर्दै मुलुकमा विदेशी मुद्रा आर्जनको समेत प्रशस्त संभावना औंल्याउँदै आएका थिए । विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३८ करोड ७१ लाख रुपैयाँको ३८ केजी बराबर सुनका गहना निर्यात भएको थियो । यसैगरि गत आव २०७८/७९ मा ५३ करोड २७ लाख रुपैयाँ बराबरको ६१ केजी सुनको गरगहना निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

तर, पछिल्लो समय सुनका गहना निर्यात घट्दै गएको विभागको तथ्याङ्कले पुष्टि गर्छ । सुनको गहनाको निर्यात घटेसंगै विदेशी मुद्रा आम्दानी पनि घटी रहेको व्यवासायीहरु बताउँछन् । यस्तै हालसम्म विदेशमा बस्ने नेपालीहरुले विभिन्न माध्यमबाट नेपालमा बनेका सुनका गरगहना लैजाने गरेकोमा अब त्यो अवस्थाको पनि अन्त्य भएको बताइएको छ ।

कोटा तोकेपछि सुन आयातमा कमी, एक वर्षमा २६ प्रतिशतले घट्यो आयात

सुन आयात पनि घटेको छ । गत वर्षको तुलनामा २६.१० प्रतिशतले सुन आयात घटेको हो । गत आवको बैशाख मसान्तसम्ममा १४ अर्ब ३० करोड ६७ लाख रुपैयाँ बढीको सुन आयात भएको थियो । तर, यस वर्षको समिक्षा अवधिमा भने ३ अर्ब ७४ करोडले घटेर १० अर्ब ५६ करोड ६६ लाख रुपैयाँ कायम भएको छ ।

विशेषगरि सरकारले सुन आयातमा कोटा तोकेपछि नै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिरत्न शाक्यले बताए । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले १० केजी मात्रै सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । सरकारले २० केजी आयात गर्ने ठाउँमा १० केजी कोटा तोकेपछि नै आयातमा गिरावट आएको अध्यक्ष शाक्यको भनाई छ ।

पछिल्लो समय काँचो सुन अभावले नै गहना निर्यात घटेको शाक्यले बताए । सुनको आयातको कोटा घटाए पनि निर्यात गर्ने व्यवसायीलाई छुट्टै सुन आयात गर्न दिने वा बिशेष व्यवस्था गर्ने भनिएको थियो । तर, त्यसको लागि कुनै व्यवस्था नहुँदा सुनको गहनाको निर्यात प्रभावित भएको अध्यक्ष शाक्यको भनाई छ ।

महँगो भन्सार तिरेर अन्तर्राष्टिय बजारमा प्रतिस्पर्धा गर्न सक्दैनौं : अध्यक्ष शाक्य

सरकारले गत सोमबार मात्रै आगामी आर्थिक वर्ष २०८०/८१ को लागि बजेट सार्वजनिक गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सुनचाँदी कारोबार सम्वन्धी विद्यमान व्यवस्था संशोधन गरिएको उल्लेख गरे । बजेटमा सुनचाँदीको आयातमा लाग्ने भन्सार दरमा ५० प्रतिशत वृद्धि गरेको छ । अबदेखि सुन र चाँदीमा १५ प्रतिशत भन्सर र थप २ प्रतिशत विलासिता कर लाग्नेछ । योसंगै महँगो भन्सारमा सुन आयात गरि गहना बनाएर अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता नरहने अध्यक्ष शाक्यले बताए । सरकारले गहना निर्यातका लागि पनि कुनै सुविधा नदिएकाले पनि निकासी घटीरहेको उनको भनाई छ । आगामी दिनमा थप घट्ने उनले बताए । उनले भने,– ‘महँगो भन्सार तिरेर सुन आयात गरि गहना बनाएर अन्तर्राष्र्टि«य बजारमा हामी प्रतिस्पर्धा गर्ने हाम्रो क्षमता रहँदैन । गहना निर्यातमा सरकारले पनि कुनै सुविधा दिएको छ । जसले निर्यात घट्दै आएको छ । आगामी दिनमा थप घट्दै जान्छ ।’

गहना निर्यात घटेसंगै देशले विदेशी मुद्रा आर्जन पनि गुमाउने उनले बताए । यसका असर प्रत्यक्ष रुपमा अर्थतन्त्रमा पर्ने उनको भनाई छ । ‘गहना निकासी कमीसंगै विदेशी मुद्रा आर्जनमा पनि यसले असर पर्छ । राजश्व, वैदेशिक व्यापार घाटा र समग्रमा अर्थतन्त्रमा नै यसले असर पार्छ ।’– शाक्ले भने ।

नेपालमा भन्दा अन्य देशमा प्रति तोला सुन १५ हजार भन्दा कम मुल्यमा पाइने भएकोले त्यसको सिधा असर नेपालमा देखिने व्यवसायीहरुको भनाई छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, अझ बढ्ने

शुक्रबार सुनको मूल्य १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको छ । पछिल्लो केही दिन सुनको मूल्य ह्वात्तै बढेको छ । विशेष गरि सरकारले बजेट मार्फत १० प्रतिशतको भन्सारलाई वृद्धि गरेकाले नै मूल्य वृद्धि भएको महासंघले जनाएको छ ।

महासंघ अध्यक्ष शाक्यले भने,–‘अहिले सुनको बजारमा भाउ बढ्नुको मुख्य कारण सरकारले बढाएको भन्सार शुल्क नै हो । बजेट मार्फत सरकारले १० प्रतिशतको भन्सार दर १५ प्रतिशत पुर्याएको छ । जसले बजार भाउ वृद्धि भएको हो ।’ उनका अनुसार सरकारको नीतिले गर्दा नै आगामी दिन अझ बढ्ने बताए ।


प्रतिक्रिया दिनुहोस्