घट्दै नेपालमा बनेका चाँदीका गहनाको अन्तर्राष्ट्रिय व्यापार, विदेशी मुद्रा आर्जनमा कति असर ? « Arthapath.com
२५ जेष्ठ २०८०, बिहीबार

घट्दै नेपालमा बनेका चाँदीका गहनाको अन्तर्राष्ट्रिय व्यापार, विदेशी मुद्रा आर्जनमा कति असर ?



काठमाडौं । पछिल्लो नेपालमा बनेका चाँदीका गहनाको अन्तर्राष्ट्रिय व्यापारले गति लिन सकिरहेको छैन । विदेशी मुद्रा आर्जन गर्ने स्रोत मध्येको चाँदी गहना निर्यात खस्किदो छ । हाल नेपालको कुल वस्तु निर्यातमध्येको चाँदीको गहना पनि एक हो ।

चालु आर्थिक वर्ष २०७९/८० को बैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार कुल वस्तु निर्यातको ३०औं स्थानमा छ । चाँदीका गहना निर्यात हिस्सा शून्य दशमलव १ प्रतिशत मात्रै रहेको छ ।

नेपालमा परम्परा र सांस्कृतिक पहिचान झल्कने किसिमका चाँदीका गहना बनाउने र प्रयोग गर्ने कार्य परापूर्वकालदेखि नै चल्दै आएको छ । चाँदीका गहनाको प्रयोग फेशनको रुपमा देश भित्र र बाहिर पनि हुने गरेको छ । पछिल्लो समयमा विश्वमै चाँदीका गहनाप्रतिको मानिसहरुको आकर्षण र माग पनि बढ्दै गएको पाइन्छ ।

नेपालमा उत्पादन हुने अधिकांश चाँदीका गहनामा नेपाली परम्परा र आधुनिकताको समिश्रण हुने गरेको छ । जसले देश भित्र र अन्तर्राष्ट्रिय बजारमा पनि यस्ता गहनाप्रति मानिसको आकर्षण हुने गरेको पाइन्छ ।

विशेषगरि नेपालका चाँदीका गहनाको सबैभन्दा ठुलो आयातकर्ता संयुक्त राज्य अमेरिका रहेको छ । नेपालका चाँदीका गहना अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया, डेनमार्क, सिंंगापुर , जापान, जर्मन, लगायतका दर्जन बढी मुलुकहरुमा पुग्ने गरेको छ ।

विश्व बजारमा चाँदीका गहनाको माग निरन्तररुपमा बढ्दै गएको देखिन्छ । तर नेपालबाट हुने चाँदीका गहनाको निर्यात भने विगतका केही वर्षहरुमा घट्दै गएको छ । पछिल्लो समयमा नेपालबाट बाहिरिने चाँदीका यस्ता गहनामा कमी देखिन थालेको हो । एक वर्षर्मा चाँदीको गहना निर्यात ११ करोड रुपैयाँले घटेको छ । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको छ ।

गत आवको बैशाख मसान्तसम्ममा २७ करोड ७३ लाख रुपैयाँ बराबरको ७ हजार ८१५ केजी बढी चाँदीका गहना नेपालबाट बाहिरिएको थियो । तर, यस आवको समिक्षा अवधिमा भने यस्तो गहना निर्यात ३९.५० प्रतिशतले घटेको छ । यस आवको १० महिनामा गहना निर्यात १६ करोड ७६ लाख रुपैयाँमा समिति भएको छ । तथ्याङ्क अनुसार चालु आवको समिक्षा अवधिमा ६९० केजी बराबरको चाँदीको गहना निर्यात भएको छ ।

विशेषगरि विदेशी मुलुकमा बन्न नसक्ने मौलिक गहना नेपालबाट निर्यात हुने गरेको छ । विदेशी मुलुकमा नेपालीहरुको बसोबास धेरै भएका देशहरुबाट यस्ता सुनका गहनाको माग हुने गरेको छ । नेपाली चाँदी गहना सबैभन्दा धेरै अमेरिका हुने गरेको छ । नेपाली चाँदीका गहनाको सबैभन्दा ठुलो आयातकर्ता अमेरिका हो । अमेरिका तर्फको गहना निर्यात पनि घटेको छ ।

गत आवको बैशाख मसान्तसम्मा १७ करोड ८४ लाख रुपैयाँ बराबरको गहना निर्यात भएको थियो । तर, यस वर्षको समिक्षा अवधिमा भने ८ करोड ३८ लाख रुपैयाँले घटेर ९ करोड ४५ लाख रुपैयाँमा झरेको छ । अमेरिकापछि जापान र जर्मनीमा धेरै गहना निर्यात हुने गरेको छ । चालु आवको १० महिनामा जापानमा १ करोड ५० लाख र जर्मनीमा १ करोड ५८ लाख रुपैयाँ बराबरको चाँदीका गहना पुगेका छन् । यी दुवै देशहरुमा निर्यात हुने गहनामा गत आवको तुलनामा धेरै संकुचन देखिएको छ ।

यस्तै, समिक्षा अवधिमा अष्ट्रेलियामा ९० लाख, फ्रान्समा ६२ लाख, क्यानडामा ५३ लाख, स्वीटजरल्याण्ड र सिंगापुरमा ३४/३४ लाख, नेदरल्याण्डमा २८ लाख, रुसी संघहरुमा ४३ लाख, बेल्जियमा १७ लाख रुपैयाँ बराबरको चाँदीका गहना पुगेको छ । नेपालबाट वस्तु निर्यात गर्दा विदेशी मुद्रा आर्जन हुन्छ । त्यस्ता सामग्रीहरुको निर्यात बढ्यो भने नेपालले पनि विदेशी मुद्रा आर्जन बढी नै गर्छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली चाँदीका गहनाको निर्यात बढ्न सक्ने प्रशस्त सम्भावना रहेको छ । जसले विदेशी मुद्रा आर्जनको पनि बलियो सम्भावना रहेको छ । चाँदीका गहना बनाउन अत्यावश्यक कच्चा पदार्थ नेपालले पूर्ण रुपमा आयात गर्दछ ।

सुनचाँदीको कारोबार सम्वन्धी प्रष्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा कठीनाई भएको व्यवसायीहरु बताउँछन् । निर्देशिकाकै अभावमा पर्याप्त कच्चा पदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका व्यवसायीक झन्झट र व्यवधान उत्पन्न हुने जस्ता समस्या आएको उनीहरुको भनाई छ । गहनाको निर्यात बढाउन सकेको विदेशी मुद्रा आम्दानी बढ्ने व्यवासायीहरु व्यसायीहरु बताउँछन् । सुनचाँदी व्यवसायीले पनि नेपाली मौलिक गरगहना निर्यातमा जोड दिँदै आएका थिए । व्यवसायीहरुले नेपाली परम्परागत कला कौशल युक्त गरगहनाको निर्यातबाट रोजगारी प्रवद्र्धन गर्दै मुलुकमा विदेशी मुद्रा आर्जनको समेत प्रशस्त संभावना औंल्याउँदै आएका थिए । त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उनीहरुको माग छ ।

८७ प्रतिशतले घट्यो चाँदी आयात, ६.८० गुणाले घट्यो राजश्व

पछिल्लो समय चाँदीको आयातमा पनि भारी गिरावट आएको छ । आयत घटेसंगै राजश्व पनि प्रभावित भएको छ । गत आवको बैशाख मसान्तसम्मा १५ अर्ब ५३ करोड २८ लाख रुपैयाँ बराबरको चाँदी आयात भएको थियो । तर, यस वर्षको समिक्षा अवधिमा भने १३ अर्ब ६४ करोड रुपयाँ अर्थात ८७.८० प्रतिशतले कमी हो ।

चालु आवको १० महिनामा १ अर्ब ८९ करोड २७ लाख रुपैयाँ बराबरको २० हजार १८७ केजी मात्रै चाँदी नेपाल भित्रिएको छ । गत आवको समिक्षा अवधिमा १ लाख ६३ हजार ४०१ केजी बढी चाँदी नेपाल आएको थियो । विशेष गरि सरकारले आयातमा गरेको कडाईका कारण पनि आयात खस्किएको हो ।

आयातमा घटेको पछि सरकारले प्राप्त गर्ने राजश्वमा पनि कमी देखिएको छ । चाँदी आयातबाट गत आवको समिक्षा अवधिमा १ अर्ब ४७ करोड ४ लाख रुपैयाँ राजश्व उठेको थियो । तर, चालु आवको सोही अवधिमा भने १ अर्ब २५ करोड ४४ लाख रुपैया अर्थात ८५.३० प्रतिशतले कमी हो ।

चाँदी आयातबाट उठ्ने राजश्व यस वर्ष २१ करोड ६० लाख रुपैयाँमा झरेको छ । नेपालमा भारत, चीन, हङकङ, यूएई लगायतका देशबाट चाँदी आयात हुने गरेको छ । सबैभन्दा धेरै हङकङबाट आयत हुने गरेको छ । चालु आवको १० महिनामा हङकङबाट १ अर्ब ११ करोड ४२ लाख रुपैयाँ बराबरको चाँदी आयात भएको हो ।

यस्तै, यूएईबाट ६८ करोड ७८ लाख, चीनबाट ८ करोड ५० लाख, स्वीटजरल्याण्डबाट ४ लाख, इटलीबाट २ लाख रुपैयाँ बराबरको चाँदी आयात भएको छ ।


प्रतिक्रिया दिनुहोस्