एक वर्षमा भन्सारबाट १ खर्ब ५ अर्ब बढी राजश्व गायब ! « Arthapath.com
१० श्रावण २०८०, बुधबार

एक वर्षमा भन्सारबाट १ खर्ब ५ अर्ब बढी राजश्व गायब !



काठमाडौं । भन्सार राजश्वमा भारी गिरावट आएको छ । आयात भट्दा भन्सार मार्फत सरकारलाई प्राप्त हुने राजश्वमा दोहोरो अंकको गिरावट आएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा आयात मार्फत सरकारले ४ खर्ब ८२ अर्ब ४३ करोड ७७ लाख ३४ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । तर, गत आवमा भने २१.८० प्रतिशतले घटेर ३ खर्ब ७७ अर्ब २६ करोड ४ लाख ७० हजार रुपैयाँ कायम भएको छ ।

एक वर्षमा भन्सार राजश्व १ खर्ब ५ अर्ब १७ करोड ७२ लाख ६४ हजार रुपैयाँले कमी देखिएको हो । गत आवमा आयात घट्दा राजस्व संकलन पनि उच्चदरमा घटेको छ । गत आवमा आयात १६.०८ प्रतिशतले घटेको छ । अघिल्लो आवमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख रुपैयाँ बराबरको आयात भएको थियो । तर, गत आवमा भने ३ खर्ब ८ अर्ब ७१ करोड ६५ लाख ७९ हजार रुपैयाँले घटेको छ । भन्सार विभागका अनुसार गत आवमा कुल १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको आयात भएको हो ।

अघिल्लो आवमा पनि आयात २४.७२ प्रतिशतले वृद्धि भएको थियो । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण नेपालमा आयात बढ्न सकेको छैन । बाह्य क्षेत्रमा परेको चापलाई लक्षित गर्दै गत आवको सुरुवाती महिनाहरूमा केही वस्तुहरूको आयातमा प्रतिबन्ध लगाइएको थियो । तर, पुसबाट सरकारले उक्त प्रतिबन्ध हटाए पनि आयात बढ्न सकेको थिएन् । विशेषगरि महँगी लगायतका कारण उपभोक्ताको क्रयशक्ति घटेको छ । त्यसले बजारमा वस्तुको माग घटाएको छ । यसरी बजारमा माग घट्दा आयात बढ्न सकेको छैन । त्यसको असर राजश्व संकलनमा पनि परेको बताइन्छ ।

नेपाल सरकारको आम्दानी नै राजस्व संकलनमा निर्भर छ । त्यसमा पनि आयातमार्फत हुने राजस्वमै सरकारको आम्दानी बढी निर्भर छ । सरकारको कुल राजश्वमा ४० प्रतिशतदेखि ५० प्रतिशतसम्मको हिसा भन्सार राजश्वले ओगटेको हुन्छ । आयात घट्नुलाई सकारात्मक रूपमा लिए पनि राजस्व संकलनमा प्रभावित हुने गरेको जानकारहरू बताउँछन् ।

झण्डै ४३ अर्बले घट्यो निर्यात

समिक्षा अवधिमा निर्यात पनि झण्डै ४३ अर्ब रुपैयाँले घटेको छ । अघिल्लो आवमा नेपालबाट २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँ बराबरको बस्तु निर्यात भएको थियो । तर, गत आवमा भने २१.४४ प्रतिशत अर्थात ४२ अर्ब ८९ करोड २ लाख रुपैयाँले घटेको छ । विभागको तथ्याङ्क अनुसार गत आवमा नेपालबाट १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।


प्रतिक्रिया दिनुहोस्