नेपाली अर्थतन्त्रको पुनरागमन हुँदै छः एडीबी, कहाँ छन् सकारात्मक संकेत ? « Arthapath.com
२९ चैत्र २०८०, बिहीबार

नेपाली अर्थतन्त्रको पुनरागमन हुँदै छः एडीबी, कहाँ छन् सकारात्मक संकेत ?



काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाली अर्थतन्त्र अहिले पुनरागमनको दिशामा रहेको बताएको छ । गत सालको सुस्तता झेलेपछि यो वर्ष पुरानो लयमा फर्कने कोसिसमा अर्थतन्त्र देखिएको एडीबीका अर्थशास्त्रीहरुले बताएका छन् ।

एडीबीमा बरिष्ठ अर्थशास्त्र अधिकृत मानवर खड्काले भने, ‘यो साल नेपालको अर्थतन्त्र पुनरागमन भइरहेको देखिएको छ । यसले आगामी दिनमा निजी उपभोग खर्चमा बढोत्तरी हुने यथेष्ट संभावना छ ।’ गत सालदेखि नै नेपालको आन्तरिक बजार चलायनमान हुन नसकेको र उपभोग घटेको भनेर चौतर्फी चिन्ता जाहेर गरिँदै आएको थियो ।

उक्त चिन्ता अवका दिनमा विस्तारै मत्थर हुने अर्थशास्त्रीहरुले बताएका छन् । पछिल्ला वर्षमा लघुवित्त र सहकारी संस्थाहरुमा देखिएको समस्याले बजारको तल्लो तप्कामै भुक्तानी प्रणाली रोकिदिएको थियो । यसले सिंगो अर्थ व्यवस्था नै प्रभावित भएको भए पनि अब विस्तारै त्यस्ता समस्याबाट बाहिर आउने अवस्था सिर्जना हुन थालेको अर्थशास्त्री बताउँछन् ।

हालका वर्षमा रेमिटेन्स आयमा उच्च बृद्धि भएको, ब्याजदर घट्न थालेको, मुद्रास्फीति घट्दो क्रममा रहेकोजस्ता कारणले भविष्यमा आन्तरिक बजार चलायमान हुने संभावनाको ढोका खोलेको अर्थशास्त्रीले बताए ।

एडीबीले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । केही दिन अघिमात्रै अर्को बहुपक्षीय साझेदार संस्था विश्व बैंकले ३.३ प्रतिशतको आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको थियो । वर्षौँदेखि आर्थिक बृद्धिको प्रक्षेपणमा बढी नै कञ्जुस्याईँ गर्दै आएका यस्ता बहुपक्षीय विकास साझेदारले यस पल्ट भने ‘उदार’ भएर प्रक्षेपण गरिरहेको पूर्व अर्थमन्त्रीहरुले बताउँदै आएका छन् ।

खड्काले ३.६ प्रतिशतको बृद्धिको आधारका रुपमा कृषि र सेवा क्षेत्रको विस्तारलाई अघि सारेका छन् । उनले यो साल अघिल्ला वर्षमा जस्तो मलखादको समस्या नदेखिएको बताए । सँगसँगै बाढी पहिरोजस्ता प्रकोपजन्य समस्याको पनि असर न्यून रहेको हुँदा यो वर्ष कृषि उत्पादनमा सुधार हुने पक्का देखिएको उनले बताए ।

ऊर्जा क्षेत्रमा पनि यो साल राम्रै प्रगति भएको एडीबीको ठहर छ । केही ठूला विद्युत् प्रशारण लाइनहरु निर्माण सम्पन्न भएको, कतिपय यस्ता प्रशारणलाइनहरु निर्माण अघि बढेको र जलविद्युत् उत्पादन नै करीब ९०० मेगावाट थपिने सरकारी दाबी रहेको भनेर एडीबीले आधार प्रसस्त गरेको छ ।

सिमेण्ट, फलामजस्ता निर्माण सामग्रीसम्बद्ध उद्योगहरु ‘मन्दीमै गएको भन्न नसकिने’ भए पनि ती क्षेत्रमा सुस्तता आएको एडीबीको बुझाइ छ । तर होटेलहरुमा बढेको ठूलो लगानी र पर्यटकको आगमन तथा उनीहरुको खर्चमा पनि बढोत्तरीले पर्यटन क्षेत्रलाई उँचो बनाएको खड्काले बताए ।

देशको अर्थतन्त्रमा २३ प्रतिशत हाराहारी योगदान गर्ने थोक तथा खुद्रा ब्यापारमा भने अपेक्षित सुधार नदेखिएको उनीहरुले बताए । तर पछिल्लो समय उपभोग शैलीमा आएको ब्यापक भिन्नताले अनलाइन कारोबारलाई बढावा दिएको एडीबीले बताएको छ ।

एडीबीकै अर्का बरिष्ठ अर्थशास्त्री समीर खतिवडाले सरकारी निकायहरुमा निर्णय गर्न हच्किने अवस्थाले अर्थतन्त्रको गति अपेक्षित मात्रामा बढ्न नसकेको हुनसक्ने बताए । उनले रेमिटेन्सजस्ता आम्दानीका कारण ह्वात्तै बढेको नेपालको क्रय शक्तिले नेपालको औद्योगिक एवम् कृषि उत्पादनलाई अन्य देशसँग प्रतिस्पर्धी हुन नसक्ने अवस्थामा पुर्याउन थालेको हो की भनेर आफूहरुले अध्ययन पनि गरिरहेको बताए ।

एडीबीले सार्वजनिक गरेको ‘एसियन डेभेलपमेण्ट आउटलूक–२०२४’मा नेपालले मौद्रिक नीतिमा क्रमिक लचकता अपनाएसँगै उपभोक्ता र लगानीकर्ताको आत्मविस्वासमा सुधार हुँदै गएको औँल्याएको छ । यसले आर्थिक गतिविधीमा प्रोत्साहन मिल्ने अपेक्षा गरिएको उसले उल्लेख गरेको छ ।

एडीबीका प्रमुख अर्थशास्त्री इआन हासिनले विश्व अर्थतन्त्रमा देखिन सक्ने नयाँ तनावहरुले नेपालको रेमिटेन्स र पर्यटनमा प्रभाव पार्नसक्ने संभावना कायमै रहेको बताए । उनले जलवायु जोखिम, अन्तरराष्ट्रिय स्तरमा हुने पेट्रोलियम तथा खाद्य वस्तुको मूल्य परिवर्तन जस्ता कुराले आउँदा दिनमा नेपालको अर्थतन्त्रलाई दिशा प्रदान गर्ने बताए ।

आउटलूकले पेट्रोलियम पदार्थको मूल्यमा कमी आउने, भारतको मुद्रास्फीति घट्ने जस्ता कारणले गतसाल ७ प्रतिशत पुगेको औसत मूल्यबृद्धिको दर (मुद्रास्फीति) यो वर्ष ६.५ र आगामी साल ६ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्