सिमेन्टको बढ्दो निकासीले थपेको उत्साह: सीमावर्ती क्षेत्रबाट हुन्छ धेरै माग, निर्यातको आँकडा कस्तो ? « Arthapath.com
१२ बैशाख २०८१, बुधबार

सिमेन्टको बढ्दो निकासीले थपेको उत्साह: सीमावर्ती क्षेत्रबाट हुन्छ धेरै माग, निर्यातको आँकडा कस्तो ?



काठमाडौं । नेपाली सिमेन्टको निर्यात उत्साहप्रद देखिएको छ । भारतीय सीमावर्ती क्षेत्रमा निर्यात हुने नेपाली सिमेन्ट तथा क्लिंकरको आँकडामा उल्लेख्य सुधार आएको छ ।

९ महिनामै झन्डै तीन अर्ब बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार एकै वर्ष नेपाली सिमेन्ट तथा क्लिंकरको निर्यात ७ गुणा बढेको छ ।

चालु आर्थिक वर्षको ९ महिना (साउन–फागुनसम्म) मा कुल २ अर्ब ९७ करोड ४६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ७.०२ गुणा अर्थात् ६०० प्रतिशत बढी हो । समिक्षा अवधिमा १५ लाख ९ हजार ५७८ टन सिमेन्ट तथा क्लिंकर भारतीय बजारमा पुगेको छ । नेपाली सिमेन्ट उद्योगहरु गत वर्षको असारदेखि सिमेन्ट निर्यात थालनी गरेका थिए । निर्यात सुरुवातदेखि सिमेन्ट तथा किङ्कर निकासी निरन्तर बढिरहेको छ ।

नेपालबाट आधिकारिक रूपमा पहिलो पटक तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । गत वर्ष असार २४ गते उक्त सिमेन्ट भारत निर्यात गरिएको थियो । हाल नेपालका चार वटा उद्योगले भारत तर्फ सिमेन्ट निर्यात गर्दै आएका छन् । नेपालबाट घोराही, बालाजी, तानसेन, अर्घाखाँची सिमेन्ट भारततर्फ निर्यात हुँदै आएका छन् ।

औसतमा मासिक ३३ करोड रुपैयाँ बढीको सिमेन्ट भारतीय बजारमा पुग्ने गरेको तथ्याङ्कले देखाउँछ । चैत महिनामा औसत भन्दा धेरै अर्थात् ५० करोड २८ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ ।

गत फागुनमा ४१ करोड ८ लाख, माघमा २९ करोड ७५ लाख, पुसमा २७ करोड ९ लाख, मंसिरमा ३६ करोड १५ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । विभागका अनुसार गत कात्तिकमा २७ करोड ७६ लाख, असोजमा ४३ करोड ४५ लाख, भदौमा १८ करोड ३४ लाख र साउनमा २३ करोड ४९ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर नेपाली उद्योगीहरुले निर्यात गरेका छन् ।

विशेषगरि सरकारी नीतिले पनि सिमेन्ट निर्यातमा प्रोत्साहन गरेको छ । हाल सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने नीति ल्याएको छ, त्यसबाट सिमेन्ट उद्योगहरू निर्यात गर्न प्रोत्साहित भएका छन् । देशभित्र सिमेन्टको मागमा कमी आए पनि निर्यातको आँकडा भने निरन्तर बढेको छ ।

सिमेन्ट निर्यात थालनी भएको छोटो अवधिमा नै निकासीको आँकडाले उत्साह थपेको व्यवासयीहरु बताउँछन् । नेपाली सिमेन्ट तथा किङ्कर भारतको विहार र उत्तर प्रदेशबाट बढी माग हुने गरेको उनीहरुको भनाई छ ।

भारतीय बजारमा नेपाली सिमेन्टको माग बढ्दै नै रहेको अर्घाखाँची सिमेन्टका ब्रान्ड म्यानेजर असोक थापाले बताए । नेपाली सिमेन्ट तथा क्लिंकरको माग विस्तारै बढ्दै गएको उनको भनाई छ । हाल भारतीय बजारमा प्रतिस्पर्धाका लागि व्यापार विस्तारमा एकदमै जोड दिइरहेको थापाले बताए ।

उनले भने,‘बिक्री एकैपटक ह्वात्तै बढ्ने भन्ने हुँदैन । झन् सिमेन्टको कुरामा विश्वासको बढी महत्व हुन्छ । भारतीय बजारमा ठुला ठुला उद्योगहरु छन्, नेपाली सिमेन्ट उनीहरुको विश्वास जित्न अझै समय लाग्छ । हाल नेपाली सिमेन्टको निर्यात वृद्धिका लागि भारतीय बजारमा ब्राण्डिङ गर्ने, विज्ञापन गर्ने लगायतका धेरै कार्यहरु भइरहेका छन् ।’

सीमावर्ती क्षेत्रहरुमा नेपाली सिमेन्टको माग एकदमै बढ्दो नै रहेको थापाले बताए । हाल विहारको २५ वटा शहरहरु निर्यात गर्दै आएको उनले बताए । उनले भने,‘पहिलो वर्षको तुलनामा हाम्रो बिक्री दोब्बर नै छ, अझै व्यापार विस्तारमा हरेक तवरले लागि रहेका छौं । गत मंसिर पुसमा भने माग कमी जस्तो देखिएता पनि पछिल्लो तीन महिनाको आँकडा अनुसार आन्तरिक माग पनि बढेको छ ।’

नेपाली अर्थतन्त्र अझै सुस्त छ । आर्थिक गतिविधि अझै पनि चलायमान हुन सकेको छैन । स्वदेशी बजारमा निर्माण सामग्रीको माग घटेको छ । तर, भारत लगायतका तेस्रो मुलुकबाट भने यसको माग बढी रहेको छ । भारत लगायतको तेस्रो मुलुकहरूमा पनि सहज बजारीकरण हुन सकेमा भने नेपाली सिमेन्टको निकासी चमत्कारिक रूपमा बढ्ने उद्योगीहरू बताउँछन् । सिमेन्ट निर्यातले देशको भुक्तानी सन्तुलन र व्यापार घाटालाई कम गर्न पनि ठुलै योगदान दिने उनीहरुको तर्क छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपालले साढे १० खर्ब वैदेशिक व्यापार घाटा व्यहोरेको छ। वार्षिक रुपमा पनि खरबौं रुपैयाँ व्यापार घाटा खेप्दै आएको नेपाललाई सिमेन्ट निर्यातले भने राहत दिने उद्योगहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्