नयाँ गभर्नरले खोल्लान् त आन्तरिक रेमिट्यान्स ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नरको रूपमा डा. विश्वनाथ पौडेल आइसकेपछि धेरैको अपेक्षा सुस्त रहेको अर्थतन्त्र चलायमान हुने अपेक्षा गरेका छन् ।
गत जेठ ७ गते राष्ट्र बैंकको नेतृत्व सम्हालेका गभर्नर पौडेलसामु थुप्रै चुनौतीहरू रहेका छन् । उनले अर्थतन्त्रमा आएको शिथिलतालाई उठाउन धेरै क्षेत्रमा काम गर्नुपर्ने हुन्छ ।
त्यस अन्तर्गत हाल बन्द रहेको आन्तरिक रेमिट्यान्स सेवालाई पुर्नजाग्रित गराएर केही हदसम्म अर्थतन्त्र चलायमान हुने अपेक्षा गर्न सकिन्छ ।
नेपाल राष्ट्र बैंकले गत २०७९ मा रेमिट्यान्स कम्पनीहरूलाई नेपालभित्रै एक ठाउँबाट अर्को ठाउँमा आन्तरिक विप्रेषण (रेमिट्यान्स) कारोबार गर्न रोक लगायो ।
भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७९ जारी गरेर राष्ट्र बैंकले डोमेस्टिक रेमिट्यान्स कारोबारमा रोक लगाएको हो। राष्ट्र बैंकले रोक लगाएपछि रेमिट्यान्स कम्पनीहरूले देशभित्र एक स्थानबाट अर्को स्थानमा पैसा पठाउन पूर्ण रूपमा बन्देज भएको छ।
यसले नेपाली समाजको आर्थिक जनजीवनमा प्रभाव पारेको रेमिट्यान्स व्यवसायीहरुले बताएका छन् । अचेल लामो समयदेखि अर्थतन्त्र शिथिल हुनुमा यो पनि प्रमुख कारणको रुपमा रहेको उनीहरुको दाबी छ ।
त्यसै कारण राष्ट्रबैकले यसलाई पुनः व्यवस्थित गर्दै खुला गर्नु पर्ने तर्क उनीहरुको छ । केन्द्रिय बैंकको नेतृत्व परिवर्तन भएका कारण नयाँ गभर्नर तुलनात्मक रुपमा उदार र आर्थिक गतिविधीलाई बढावा दिने प्रयासमा केन्द्रित देखिएको भन्दै व्यवसायीहरु अब आन्तरिक रेमिटेन्स खुला हुनसक्नेमा आशावादी देखिएका छन् ।
‘लामो समयदेखि आर्थिक गतिविधी सुस्ताएको छ । यसमा थोरबहुत सुधार देखिएका बेला अब राष्ट्र बैंकले नगद प्रवाहलाई थप बढावा दिने नीति लिनु जरुरी छ’, एक रेमिटेन्स कम्पनीका सीईओ भन्छन्, ‘नयाँ गभर्नर साबले यो विषय र मर्म राम्रोसँग बुझ्नुहुन्छ भन्ने आशा छ ।’
आन्तरिक रेमिटेन्सको सहायता
नेपालमा जतिबेला आन्तरिक रेमिट्यान्स खुला थियो, त्यतिबेलाको कुरा गर्ने हो भने विदेशबाट आएको ९० प्रतिशत रकम रेमिट्यान्स एजेन्टमार्फत् भुक्तानी हुने गरेको थियो।
जब आन्तरिक रेमिट्यान्स बन्द भयो, अनि अन्तर्राष्ट्रिय रेमिट्यान्सले मात्र खर्च धान्न नसक्ने भएपछि करिब ६० प्रतिशत स्थानीय रेमिट एजेन्टहरू बन्द भए। यसबाट एजेन्टका सटरहरू मात्रै बन्द छैनन्, सयौँको संख्यामा युवाहरू बेरोजगार बनेका छन्।
नेपालमा सन् २००० देखि औपचारिक माध्यम हुँदै ठूलो मात्रामा विदेशबाट रेमिट्यान्स् भित्रिन थालेको हो। त्यस यता निरन्तर रूपमा विदेशबाट औपचारिक माध्यमबाटै रेमिट्यान्स् भित्रिइरहेको छ।
देशभित्र आन्तरिक रूपमा पनि त्यति बेलादेखि नै रेमिट्यान्स शुरु भएको हो। नेपालमा रोजगारीको अवसर नहुँदा दैनिक हजारौँको संख््यामा युवाहरू विश्व श्रम बजारमा श्रमकै लागि जाने गरेका छन्।
विदेशबाट पठाएको रेमिट्यान्सकै भरमा आज नेपालीहरूको चुल्हो बल्ने अवस्था छ। गाउँघरका कुनै पनि एउटा घर छैन, जुन घरबाट मानिस विदेश नगएको होस्। उनीहरूले आफ्नो कमाइबाट घरमा बुबाआमा अथवा परिवारलाई मासिक रूपमा पैसा पठाउने गरेको अवस्था छ।
आज गाउँघरमा बिस्तारै युवा युवती घट्दै गइरहेका छन्। उच्च शिक्षाको सिलसिलामा युवायुवतीहरू सहरमा आएर पढ्न थालेका छन्। गाउँमा बुढाबुढी बा आमा मात्रै रहेको अवस्था छ। यसो हुँदा विदेशमा भएका परिवारका सदस्यले ठूलो परिमाणमा सिधैँ बाआमालाई पैसा पठाउनभन्दा पनि भाइबहिनीमार्फत् पैसा पठाउने गरेका छन्।
यस्तो अवस्थामा आन्तरिक रेमिट्यान्सको प्रयोग पनि हुने गरेको थियो। तर डोमेस्टिक रेमिट बन्द हुँदा आज गाउँघरका बुढाबुढी बा आमालाई समस्या परेको छ।
अर्थतन्त्रको उत्प्रेरक
आन्तरिक रेमिट्यान्सले समाजमा आर्थिक चलायमान पनि बनाएको थियो। त्यसो त रोजगारीको सिलसिलामा युवाहरू विदेश मात्रै गएका छैनन्। आफ्नो जिल्ला छोडेर अर्को जिल्लामा पनि रोजगारीको सिलसिलामा पुगेका छन्।
शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, प्रहरीजस्ता सरकारी निकायमा जागिर गर्नेहरू देशभित्रैको टाढाको भूभागमा पुगेका छन्। गैरसरकारी क्षेत्रमा पनि रोजगारीको सिलसिलामा विभिन्न स्थानमा मानिसहरू पुगेका छन्।
उनीहरूले परिवारमा पैसा पठाउने माध्यम पनि आन्तरिक रेमिट्यान्स नै सहज बनेको थियो। रेमिट्यान्सकै प्रयोग गरेर परिवारलाई पैसा पठाउन विगतका दिनमा सहज भएको थियो।
तर, अहिले बन्द हुँदा परिवारमा पैसा पठाउन पनि सहज भएको छैन। यसले सहज आर्थिक लेनदेनलाई सुस्त बनाएको व्यवसायीको जिकिर छ ।
‘हो, अहिले मोबाइल बैंकिङको जमाना आएको छ। मोबाइल बैंकिङ पनि सबैको पहुँचमा छैन। दुर्गमसम्म इन्टरनेटको सुविधा पुगेको पनि छैन। सधैँभरी पैसाको कारोबार नभएको अवस्थामा नविकरण समेत भएको हुँदैन’, एक रेमिट कम्पनीका सीईओ भन्छन्, ‘त्यसमा आम सर्वसाधारणले कारोबार सहजै गर्न नसकेको अवस्थामा छ।’
बूढा–बूढीको सहारा
अर्कातिर परिवारमा वृद्ध बा–आमाको पहुँचमा पनि मोबाइल बैंकिङ छैन। मोबाइल बैंकको पासवर्ड स्वामित्व अरूलाई दिँदा पनि दुरुपयोग हुन सक्ने खतरा हुन्छ। यसका लागि उपयुक्त विकल्प भनेको आन्तरिक रेमिट्यान्स कम्पनीहरू नै रहेको सम्बन्धित व्यवसायी बताउँछन् ।
जसले कारोबारका लागि वृद्ध बा–आमाको साहाराका काम गरेका थिए। आज त्यो साहारामा पनि रोकिएको उनीहरु बताउँछन् । यसले स्वाभाविक रूपमा जनजीवनमा प्रभाव पारेकै छ। विद्यार्थीहरूलाई पनि आन्तरिक रेमिट्यान्सले निकै सहयोग पुर्याएको थियो। आज विद्यार्थीहरू पनि मारमा परेका छन्।
रोजगारीमा असर
रेमिट्यान्स कम्पनीहरुका कामदारमात्रै होइन, तिनका एजेन्टको रूपमा पनि हजारौँले रोजगारी पाएका थिए। आज सो रोजगारी पनि गुमेका कारण उनीहरू स्वयं विदेश पलायन हुनुपरेको छ।
राज्यले रोजगारीको सिर्जना पनि गर्न नसक्ने, स्वरोजगार सिर्जना गरेर बसेका युवाहरूलाई पनि राज्यको नीतिका कारण बेरोजगार हुनुपर्ने अवस्था आउनु दुःखद रहेको व्यवसायी बताउँछन् । उनीहरुका अनुसार आम जनजीवनलाई सहज बनाउनका लागि राज्यले यो नीतिमा पुनर्विचार गर्नुपर्छ।
खातामा पैसा हुनु र हातमा पैसा हुनुमा धेरै फरक छ। हातमा पैसा हुँदा आइपरेका समस्याहरू सहजै समाधान हुन्छन्। खर्च गर्न सहज हुन्छ। निकाल्नका लागि कतै गइरहनु पर्दैन। रेमिट्यान्सले हात हातमा पैसा दिएको थियो।
तर नियामकीय नीतिकै कारण आज आम सर्वसाधारणको हातमा सहजै पैसा नआउने स्थिति बनेको व्यवसायीको दाबी छ। त्यसो त नेपालमा ग्रामीण भूभाग धेरै छ। अनुपातमा कम भए पनि ग्रामीण भेगमा मानिसहरुको आवादी ठूलो छ । त्यस्ता ठाउँमा बैंकहरू पनि सहजै पुगेका पनि छैनन्।
इन्टरनेटको त धेरै टाढाको कुरा, दुर्गममा मोबाइलको नेटवर्क समेत न्यूनतम गुणस्तरको हुँदैन । विज्ञान र प्रविधिको युगमा प्रविधिमा धेरै क्रान्ति त भएको छ, स्वीकार्नुपर्छ र प्रयोग पनि गर्दै जानुपर्छ।
तर समाजको वस्तुस्थितिलाई पनि ध्यान दिनुपर्ने व्यवसायी बताउँछन् । अर्को एक रेमिटेन्स कम्पनीका सञ्चालकले भने, ‘सहज कारोबारका लागि उपयुक्त विकल्प आन्तरिक रेमिट्यान्स नै हो। यो हाम्रो वस्तुस्थिति र भूगोल सुहाउँदो पनि छ।’
उदाहरणका लागि सामाजिक सुरक्षा भत्तालाई लिन सकिन्छ, सामाजिक सुरक्षा भत्ता बैंकमार्फत् दिइने गरिएको छ। तर हामीले दैनिक रूपमा सुनिरहेको नै छौँ, वृद्धवृद्धालाई बैंकमार्फत् नै पनि भत्ता लिन कति झन्झटिलो भइरहेको छ।
अनेकौँ प्रक्रियागत झमेलामा परेका छन्। तर रेमिट्यान्सबाट पैसा पठाउन र झिक्न एउटा कोड नम्बरको भरमा गर्न सकिन्थ्यो।
यी सबै कुराहरूलाई मध्यनजर गर्दा आन्तरिक रेमिट्यान्स खोल्नुको विकल्प छैन। यसले विगतमा रोजगारीमा रहेकाहरूलाई पुनर्बहाली गर्न सकिन्छ। हातबाट हातसम्म पैसा सहजै पुर्याउन सकिन्छ। अर्थ चलायमान हुन्छ र जनजीवन अझै सहज हुन्छ।
अतः विश्व श्रमबजारमा छरिएर रहेका युवाहरूले बगाएको पसिनाको महत्त्व बुझ्ने हो भने, उनीहरूले दुःख गरेर कमाएको रकम उनीहरूको घरसम्मै पुर्याउन जरुरी रहेको सम्बद्ध व्यवसायी बताउँछन् । विदेशमा कमाएको पैसा सुरक्षित र भरपर्दो तवरले आफन्तसम्मै पुर्याउन पनि आन्तरिक रेमिट्यान्स खुल्न जरुरी भएको उनीहरुले बताए ।