सीमा मुद्दा ः प्रधानमन्त्रीको दोस्रो इनिंग्स « Arthapath.com
२७ कार्तिक २०७६, बुधबार

सीमा मुद्दा ः प्रधानमन्त्रीको दोस्रो इनिंग्स



पुरुषोत्तम लम्साल
आठ कक्षामा पढ्दै गरेको गाउँको भाइले गोपाल योञ्जनले गाएको ‘बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो’ गीतलाई आफ्नै स्वरमा गाएको र अभिनय गरेको दृश्य पठायो । भर्खर जुँगाको रेखी बस्दै गरेको उसभित्र उम्रँदै गएको राष्ट्रियताको आवेग र भावनाको मैले सम्मान गरेँ र मायाको ‘इमोजी’ पठाएँ । ऊ खुसी भयो ।
२० वर्षअघि विधान श्रेष्ठको स्वरमा आएको ‘माछी मार्न जाउँ न दाजै कालापानीमा’ फेरि ‘भाइरल’ भयो । जुन गीत चल्तीमा रहँदा आजको बीसवर्षे पुस्ता जन्मिएकै थिएन, उनीहरूका लागि विधान श्रेष्ठ फेरि ‘कालापानीका दूत’ बनेर सार्वजनिक भए । हिजोसम्म गुमनाम विजय श्रेष्ठलाई राष्ट्रियताको हावाले यति चाँडै पाखुरा समातेर रेडियो र टेलिभिजनका अगाडि उभ्यायो ।
‘खोइ हाम्रो दिलमा त घामै लागेन’ भन्दै बद्री पँगेनीले सुस्ताबारे पोखेको दुःखेसो फेरि एकपटक जताततै ‘ट्युन’ भयो । ‘हाम्रै नालापानीको पानी पिउने धोको छ’ गाउने ऋषि अधिकारीहरूको स्वर देशभित्र र बाहिर रहेका किशोरकिशोरीले गुनगुनाउनु कम सुखद पक्ष होइन ।
सकारात्मक र स्वछन्द जागरणको अलग्गै मिठास हुन्छ ।


सभाहरूमा बुद्धिनारायण श्रेष्ठहरू सुनिए ।
हिरण्यलाल श्रेष्ठहरूको माग भयो ।

सन्दुकहरूबाट धुवाँ लागेका कागजहरू निस्कन थाले ।
लोक्ता पकाएर तयार गरिएका नेपाली कागजमा कोरिएका नेपालको पुरानो नक्सा आ–आफ्नै नाममा आउन थाले ।
देशको उपप्रधानमन्त्रीलाई भैरव रिसालहरूको आवश्यकता भयो र दैलोमै गएर अनुभवका खातमा अडेस लगाउन पाए ।
राज्य जनताको हातमा भएपछि नेताले सजिलै आत्मसमर्पण गर्न सक्दैन । सक्दैनन् । नसक्ने रहेछन् । जनताको एक स्वर भएपछि नेताहरू खोपीखोपीबाट निस्किएर जनताको दैलोमा आफैँ पाउकष्ट गर्नु पनि आनन्दको विषय हो ।
माथिका कसैले पनि भारतको विरोध गरेका गरेका होइनन् र थिएनन् । मात्र नेपालको पक्षमा उभिएका थिए । बोलेका थिए ।
जागरणको यो शुभअध्याय सबैका लागि सम्झनायोग्य छ ।
तर, यही जागरण र एकतामा उभिएको वर्तमान सरकारचाहिँ इतिहास मेटाउने कि भेट्टाउने भन्ने चुनौतीको तरबार उभिन आइपुगेको छ ।
कमैले प्राप्त गर्ने दुर्लभ अवसर र चुनौती प्रधानमन्त्रीको रूपमा केपी ओलीले दोस्रोपटक प्राप्त गरेका छन् । अब पुनः ‘सेञ्चुरी’ हानेर कीर्तिमान लेखाउने वा सीमा मामिलामा ‘क्लिन बोल्ड’ भएर ‘पेवेलियन’ फर्कने ? जवाफ प्रधानमन्त्रीसँग मात्र छ ।

चारै वर्षअघिकै कुरा त हो । संविधानसभामार्फत नयाँ संविधान जारी भयो । संविधानमा देशभित्रकै केहीको असन्तुष्टि जायजै थियो । तर, देशबाहिरको नाजायज असन्तुष्टिको पारो झन् उच्च थियो । यही दोहोरो असन्तुष्टिको परिणाम नेपालले भारतको नाकाबन्दी भोग्यो । प्रधानमन्त्री थिए केपी ओली । संयोगले केपी ओली नै तात्कालीन र बहालवाला दुवै हुन् । त्यो नाकाबन्दीलाई भारत सरकारले अहिलेसम्म स्वीकार गरेको छैन । केही क्षेत्रीय दलहरू ‘हामीले सीमामा अवरोध गरेका हौँ भारतले नाकाबन्दी लगाएको होइन’ भन्दै स्तुति र भजनमै मस्त रहे । देशभित्रकै अर्को प्रमुख राजनीतिक शक्ति नेपाली काङ्ग्रेसले पनि नाकाबन्दीलाई नाकाबन्दी नै हो भन्न सकेन, जिब्रो चपाउनै व्यस्त रह्यो ।
कष्टसाध्य नाकाबन्दी सकियो । न भारतीय पक्षले पश्चात्ताप ग¥यो न नेपालका राजनीतिक दलहरूले सामूहिक र गहिरो आत्मसमीक्षा । न नेपाली काङ्ग्रेसलाई ग्लानि भयो न सीमामा ताण्डव नाच्ने समूहलाई पश्चात्ताप । तर, जसले नाकाबन्दीलाई नाकाबन्दीकै रूपमा भोग्यो, सह्यो र उभियो उनीहरूले आफैँलाई छामे, छातीलाई छामे र आफ्नै शिरको उचाइ नापे र मखलेल भए ।
नाकाबन्दीले केही जागरणको काम ग¥यो । पहिलो, देशलाई हामी के–केमा परनिर्भर छौँ भनेर स्पष्ट बनाउन मद्दत ग¥यो । दोस्रो, देशभित्रकै दलहरूको राजनीतिक परनिर्भरता कहाँ कतिसम्म रहेछ भनेर देखाउन मद्दत गर्यो । तेस्रो, राष्ट्रियताको सवालमा हाम्रो तत्कालको आवश्यकता के–के हो भनेर युवा पुस्तासमेतलाई शिक्षित गराउन मद्दत ग¥यो । चौथो, नेपाल भारतबीचको स्थायी मनोविज्ञानलाई अझ बढी स्थायी बनायो । पाँचौँ, चाहे केही दलहरू अलगाव नै किन नबसून्, राज्यले ढाडस दियो भने नेपाली समाजले अभावका बीच पनि सरकारलाई सहयोग गर्न सक्ने रहेछ भन्ने सन्देश दियो ।
नाकाबन्दीको त्यही चुनौती थेगेकै भनेर एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले पछिल्लो चुनावमा पर्याप्त जनमत प्रभावित ग¥यो । यो तथ्य र सत्य दुवै हो । नाकाबन्दीलगत्तै प्रधानमन्त्री ओलीको सरकार खर्लप्पै ढालेर शेरबहादुर देउवाको काँध चढेका प्रचण्ड उनै ओलीको सारथि बने । नाकाबन्दीको चुनौतीलाई राष्ट्रियताको अवसरमा रूपान्तरण गर्न प्रधानमन्त्री ओलीले देखाएको थोरै हिम्मत भारतले थालेको सीमाको किचलोसम्म आइपुग्दा अहिले पनि जनमत प्रभावित गरिरहेको देखिन्छ ।
अर्थात्, प्रधानमन्त्रीका रूपमा केपी ओलीले नाकाबन्दीबाट राष्ट्रियताको पहिलो इनिंग्स सफलतापूर्वक पूरा गरे । अहिले नेपाल–भारत सीमा समस्याको मुद्दामा राष्ट्रियताको दोस्रो इनिंग्स खेल्न मैदानमा छन् ।
अहिलेको मुद्दाको दृश्य र चरित्र दुवै रूपमा नाकाबन्दीको भन्दा फरक छ । हिजो राजनीतिक प्रतिशोधको परिणाम नाकाबन्दी बनेर आएको थियो । सीमापारि भोजन गरेर नाकामा भारतको जयजयकार गर्ने नेता र समूह पनि थिए । लैनचौरमा ‘तामसी डिनर’ गरेर अखबारमा नाकाबन्दी नभएको ‘हेडलाइन‘ बनाउने मिडिया पनि थिए । आज त्यस्तो छैन । त्यस्तो नहुनुको अर्थ राष्ट्रियताको यो दोस्रो इनिंग्स अलि बढी गम्भीर र पेचिलो छ भन्नु नै हो ।
नेपालमाथि भारतको भाइगिरीको परिणाम राजनीतिक नक्सामा नेपालको भूमी हडपिएकै हो । हुँदाहुँदा हिजोको र आजको दुवै पुस्ताले नेपालको पूरै भूभागै नसमेटिएको नक्सा अध्ययन गरेरै मरिरहेको, बाँचिरहेको र हुर्किरहेको पनि तथ्यले प्रमाणित गर्दै गइरहेको छ । यो विसङ्गतीलाई सङ्गति बनाउने अख्तियारी प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताको दोस्रो इनिंग्समा प्राप्त गरेका छन् ।
अहिले देश एक स्वरमा छ । जनताको एक स्वर छ । सरकार, प्रतिपक्ष, राजनीतिक दलहरू, प्रबुद्ध समाज र समाजको तल्लो तप्कासमेतले एक स्वरमा सरकारलाई साथ दिएका छन् । सरकारलाई उनीहरू भनिरहेछन्, उभिऊ !, पछि नहट !, खुट्टा नकमाऊ !, भारतीय भाइगिरीको डटेर सामना गर ! लिम्पियाधुरा, कालापानी मात्र होइन सुस्ताबारे पनि बोल ! जहाँजहाँ सीमा मिचिएको छ त्यहाँत्यहाँ बोल !
कोही भनिरहेका छन् ‘हिजो हामीले अध्ययन गरेर सङ्कलन गरेका प्रमाणहरू राज्यको गोप्य ढुकुटीमा छन्, चाहिए भन– देखाइदिन्छु ।’ विसङ्गति नै सही, कहिलेकाहीँ स्वाभाविक र लाभप्रद लाग्ने !
अलका लाम्बाले प्रतिनिधित्व गर्ने भारतीय शासक वर्गको विकारग्रस्त मनोविज्ञानको प्रतिकार गर्ने यो उपयुक्त समय पनि हो । नेपालका राजनीतिक दलहरूलाई आज्ञाकारी मात्र सम्झने भारतीय अहंकारको शिष्ट प्रत्युत्तर दिने उपयुक्त समय पनि हो यो । जनकपुरमा अँगालो हालेर कालापानीमा छुरा रोप्न खप्पिस भारतीय मनोग्रन्थीमा बदलाव ल्याउन प्रधानमन्त्रीको डिप्लोमेसी प्रतीक्षित छ । मुक्तिनाथमा ध्यानमा बसेर सुस्तामा आतङ्क मच्चाउने भारतीय रवैयाको सङ्कलित जवाफ पनि सरकार र प्रधानमन्त्रीले नै देलान् ।
हाम्रो राष्ट्रिय नीति नै हाम्रो विदेश नीति ठहर गर्ने प्रधानमन्त्री केपी ओलीले सीमा मुद्दामा राष्ट्रिय सहमति जुटाउन गरेको प्रयासको सबैले प्रशंसा गरेका छन् । देश एक भएर प्रधानमन्त्रीलाई विदेशीसँग संवाद गर्ने आत्मबल प्रदान गरेका दुर्लभ परिघटनाका साक्षी हौँ हामी । अब ‘काटिएको नक्सा नै हाम्रो हो’ भनेर प्रधानमन्त्रीले जनतालाई देखाउने कि लुटिएको भूमि फिर्ता ल्याएर नयाँ नेपाली नक्सा दिने ?
वर्तमान सरकार र नेतृत्वकर्ता प्रधानमन्त्रीसँग अहिले हातमा नेपालको दुईथरी नक्सा छ । लुटिएको नेपाल र नलुटिएको नेपालको । लुटिएको नक्सा नै सदर हुने हो भने प्रधानमन्त्रीले ‘मैले सकिनँ र नाकाबन्दीमा गाडेको राष्ट्रिताको मेरो कोसेढुङ्गाबाट म रित्तो हात फर्किएको छु’ भन्नुपर्ने हुन्छ । हामी त्यो दिनको अपेक्षा किमार्थ गर्दैनौँ ।


प्रतिक्रिया दिनुहोस्