गढीमाई देख्ने, मासुको बजार नदेख्ने ? « Arthapath.com
१८ मंसिर २०७६, बुधबार

गढीमाई देख्ने, मासुको बजार नदेख्ने ?



पुरुषोत्तम लम्साल

बारा जिल्लाको बरियापुरमा गढीमाईको मेला लाग्छ । मेला त अरूबेला पनि लाग्छ। तर विशेष मेला हरेक पाँच वर्षमा लाग्छ । त्यो विशेष मेलामा ठूलो सङ्ख्यामा विभिन्न जनावरको बलि दिइन्छ । त्यसैले गढीमाई बलिमेलाको नामले बढी चिनिन्छ । नेपाल र भारतका हिन्दू समुदायले शक्तिपीठको रूपमा विश्वास गर्ने, आस्था प्रकट गर्ने र पुज्ने भएकाले गढीमाईमा लाखौँ मान्छे ओइरिन्छन् । र, त्यसमध्ये धेरैले बलिपूजामार्फत देवीको आराधना गर्दछन् । किनकि, देवीको आराधना गर्नु हिन्दूको संस्कार र परम्परा दुवै हो । भारतको उत्तरप्रदेश, बंगाल, झारखण्ड, राजस्थानलगतयका इलाकाका हिन्दू धर्मावलम्बीले त गढीमाईलाई अझ बढी श्रद्धा व्यक्त गर्दछन् । गढीमाईलाई धार्मिक क्षेत्रमा सबैभन्दा ठूलो बलि दिइने पर्व वा मेलाको रूपमा समर्थन र आलोचना गरिन्छ ।
लोक देवीदेवतामाथि अनुसन्धान गरेका सहायक प्राध्यापक प्रदीपकान्त चौधरीकै लेखनीलाई आधार मान्ने हो भने गढीमाईको सम्बन्ध नेपालका प्राचीनवासी थारू र भारतको राजपूत समुदायसँग जोडिएकाले यसको महत्व र लोकप्रियता दुवै बढेको हो । मिति यकिन नभए पनि थारू समुदायको पुजारी हुने गढीमाई मेला ३ देखि ४ सय वर्ष पुरानो भएको विभिन्न दाबी छन् । हिन्दू समुदायमा देवीदेवताको पूजा–आराधनाको प्राचीन परम्परा छ । त्यसमा पनि भारतीय हिन्दूले माँ काली वा नेपाली हिन्दूले महाकाली भने पनि दुर्गा रूप मानेरै पूजा गर्ने हो । गढीमाईलाई तिनै दुर्गा रूपमध्येको एउटा मानेर आशीर्वाद लिने चलन छ । जसरी दशैँमा दुर्गापूजा गर्दा बलि दिने चलन छ, त्यही चलन सामूहिक रूपमा गढीमाईमा अलि विस्तारित छ । दश किलोमिटर क्षेत्रफलमा फैलिएको गढीमाई मेलाको विवरण छोटकरीमा यही हो ।
गढीमाईको चर्चा किन बढी हुन्छ भने जब मेला सुरु हुन्छ तब केही पशुअधिकारवादी, केही जनावरप्रेमी, केही शाकाहारीका बलिविरोधी भनाइहरू सार्वजनिक हुन थाल्छन् । प्राणी मात्रको अधिकार रक्षाका लागि भन्दै हिँड्ने विभिन्न समूह जो छन् उनीहरू गढीमाईमा पशुबलि रोक्नपर्छ भनिरहेका हुन्छन् । यो दबाब समूह घरि प्रशासन पुग्छ, घरि अदालत पुग्छ घरि गढीमाई मेला व्यवस्थापन समिति पुग्छ, घरि पुजारीकहाँ पुग्छ । पुगिरहन्छ । ‘मासु नखाऊ’ भनेर बुझाउन पाइयो, ‘मासुले फाइदा गर्दैन’ भनेर सिकाउन पनि पाइयो, ‘मासु रोगको घर हो, नखानुस्’ भने त झन् उत्तम तर ‘तेरो धर्म, तेरो देवी यस्तो, तेरो देउता उस्तो’ भन्नेसँग तपाईंको कन्पारो तात्दैन ? तात्नुपर्ने हो ।
अर्को एउटा तप्का पनि छ जो गढीमाईलाई जोडेर हिन्दू समुदायको मानमर्दन गर्न ज्यान फालेर लागिरहेको हुन्छ । कोखामा बाइबल च्यापेर हिँड्ने यो समूहको विशेष कहानी अर्कै छ । अमेरिका केन्द्रीय कार्यालय भएको र भारतमा शाखा कार्यालय रहेको एउटा संस्थाले गढीमाईको विषयमा प्रकाशन गरेको अतिरञ्जित रिपोर्ट हेरेपछि केही थाहा लाग्छ ।
तपार्इंले अमेरिकाको कुनै टेलिभिजनले धन्यवाद दिने दिनको रूपमा मनाइने नोभेम्बर २८ मा टर्की नखा भनेको समाचार सुन्नुभएको छ । वा, अलजजिरा टेलिभिजनले इस्लाम समुदायले गर्ने हलालको विरुद्ध समाचार प्रसारण गरेको सुन्नुभएको छ । लाग्दैन सुन्नुभएको छ । किनकि सबैको आ–आफ्नो रीत हुन्छ । प्रथा हुन्छ । परम्परा हुन्छ । यसको अर्थ त्यहाँ शाकाहारी मान्छे नै छैनन् भन्ने होइन । त्यहाँ पशुलाई प्रेम गर्ने मान्छे नै छैनन् भनिएको होइन । बहुसङ्ख्यकले मनाउने चलनमा एकाध ‘अल्टर’ हुन्छन् ।
गढीमाई कुनै चर्च होइन न कुनै मस्जिद हो । हामीलाई भजन सुन्नका लागि पशुपति छन्, राममन्दिर पनि छन्, कृष्णथान छन् । गढीमाई घोप्टो परेर प्रार्थना गर्ने थलो पनि होइन । गढीमाई अहिले सार्वजनिक भइरहेका दुनियाँभरका हजारौँ चर्चजस्ता दुराचारका अखडा होइन । गढीमाई हिन्दूहरूको विशुद्ध शक्तिपीठ हो जहाँ शक्तिको आराधना गरिन्छ रीतले । त्यो रीतमा बलि पर्दछ । हिन्दूले गणेशलाई लड्डु चढाउँछन् र दुर्गालाई बलि दिन्छन् । हिन्दूले महादेवलाई बेल चढाउँछन् र ब्रह्मालाई पत्रम्पुष्पम् । यत्ति हो । तर, मन्दिरमा बलि दिएकै विषयमा तेरो धर्म, तेरो जाति, तेरो समुदाय, तेरो देउता, तेरो देवी भन्दै आउनेको भने घाँटी समाउने कि नसमाउने ? प्रश्न तपाईंलाई जति उत्तेजक लाग्छ त्यति गम्भीर पनि छ । हामीले, हाम्रो समुदायले हजारौँ वर्षदेखि जोगाएको आस्था र सयौँ वर्षदेखि विकसित रीतलाई सर्लक्कै पखालेर गढीमाईमा घन्ट बजाउने ? शाकाहारीलाई रिस उठ्यो भनेर भैरवीको मन्दिर उखेल्न जाने ? वा जान दिने ? इसाईलाई मन परेन भनेर मनकामनामा पास्टर भर्ना गरिदिने ? पशु अधिकारको वकालत गर्नेलाई गढीमाईको विरोध गर्ने अधिकार कसले दियो ? निहत्था निर्बल प्राणीको हत्या नगरौँ भन्नेलाई तेरो देउता दानव, राक्षस भन्ने अधिकार कसले दियो ?
पशुप्रति असाध्यै प्रेम देखाउने कोमल मन भएका एकाध जहाँ पनि हुन्छन् । र, गढीमाई मेलाअवधिमा त उनीहरू आफूलाई विशेष बुद्धझैँ गर्दछन् । गढीमाईका विपक्षीबाहेक संसारमा ज्ञानी र विवेकी अरू छैनन् जस्तो लाग्दैन ? दया, धर्म र करुणाको ब्रह्माण्ड गढीमाईकै विरोधीहरूको थाप्लामा अडेको छ जस्तो लाग्दैन ?
धेरैले प्रश्न गर्छन् मासुको बजार र बलि एकै हो र ? उनीहरूलाई मासुको बजार र बलि जोडेर गरिएको व्याख्या जँच्दैन । किनकि, उनीहरूलाई तेरो धर्म बेठीक भन्नुछ । तेरो संस्कृति गलत मात्र भन्नुछ । उनीहरूलाई तेरो देवीदेउता राक्षस भन्नुछ । त्यत्ति हो । यो वर्ष अमेरिकामा एकै दिन काटिएका चार करोड पचास लाख टर्कीप्रति श्रद्धाञ्जली लेखेँ । उनीहरूले त्यो त अमेरिका हो भने । अमेरिकामा एउटै कम्पनीले एक दिनमा पन्ध्र लाख किलो गाईको मासुको कारोबार गर्दो रहेछ भनेँ । उनीहरूले त्यो त अमेरिका हो भने । अर्थात् तिनीहरूलाई गढीमाई मात्र दुख्छ, अमेरिकाको टर्की पनि दुख्दैन, चीनको सुँगुर पनि दुख्दैन, ब्राजिलको गाई पनि दुख्दैन । एसियामा मात्र एक वर्षमा चौध करोड मेट्रिक टन गाई मात्र खपत गर्दोरहेछ । चीनले प्रतिवर्ष पाँच करोड ४० लाख मेट्रिक टन सुँगुरको मासु विश्व बजार (युरोपी देशहरू मूलतः) मा निर्यात गर्दोरहेछ । अस्टे«लियाले मात्र ६ अर्ब ५० करोड डलरको गाईको मासु बुत्याउने रहेछ । तिनीहरूलाई चाहिँ पाँचपाँच वर्षमा गढीमाई दुखेर छाती भतभती पोल्छ । वार्षिक एक दशमलव एक्काइस ट्रिलियन डलरको मासुको बजार दुख्ने गरी न उनीहरू बोल्न सक्छन्, न उनीहरूको आवाज नै त्यहाँसम्म पुग्छ । त्यसैले उनीहरू गढीमाई मेला आएपछि आफूलाई बुद्धत्व प्राप्ति भएझैँ गरिहाल्छन् । किनकि, उनीहरू बजारविरुद्ध बोल्न सक्दैनन्, धर्मविरुद्ध बोल्न, जातिविरुद्ध बोल्न उनीहरूलाई सहज लाग्छ ।
मांशाहारीको दोहोलो काढेँ भनेर उफ्रनेले जितको खुसियालीमा ‘टोस्ट’ गर्ने ‘वाइन’ पनि शाकाहारी होइन भनेर बिर्सन्छन् । तिनका कस्मेटिक शृङ्गार (लिपिस्टिकदेखि लोसनसम्म) जनावरका अङ्ग–प्रत्यङ्गकै बन्दोबस्तीबाट बनेका छन् भनेर बिर्सन्छन् । सागसब्जी र फलफूल खाएपछि दाँत टल्काउने सेतो मञ्जन पनि जनावरकै चीजबीज मिसाइएर बनेको बिर्सन्छन् । तिनले छर्कने अत्तरमा पनि जनावरमै अङ्गको अंश हुन्छ भन्ने बिर्सन्छन् । यताबाट नि दुख्नु नि जनावरको प्रेम । मासुको बजारमा नदुख्ने जनावरको प्रेम अरूको धर्म र संस्कृतिमा सजिलैसँग दुख्ने रहेछ । अतः तपाईं आफैँले जानी–बुझी सम्झेर बली रोक्नुभयो, नरिवलले काम चलाउनुभयो, लौका गिँड्नुभयो भने साधुवाद। तर कोही बाहिरिया आएर तेरो बलि यस्तो, तेरो धर्म उस्तो, तेरो देवीदेवता उस्तो भन्न थाले भनेचाहिँ सबैले आफ्नो रीत पूरा गर्नुपर्छ । गढीमाईमा पनि, वनदेवी, भैरवी र जालपादेवीमा पनि ।


प्रतिक्रिया दिनुहोस्