सवारी चालक अनुमतिपत्र लिँदै हुनुहुन्छ भने सहज ब्यवस्था बनायो सरकारले, ट्रायलमा ६० नम्बर ल्याए लाइसेन्स « Arthapath.com
१ माघ २०७७, बिहीबार

सवारी चालक अनुमतिपत्र लिँदै हुनुहुन्छ भने सहज ब्यवस्था बनायो सरकारले, ट्रायलमा ६० नम्बर ल्याए लाइसेन्स



काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र लिन मापदण्ड परिवर्तन गर्ने तयारी गरेको छ । यसको तयारी अन्तिम चरणमा रहेको यातायात व्यवस्था विभागले जनाएको छ । लाइसेन्सको प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

हालको मापदण्डअनुसार २५ प्रतिशत मात्र पास हुने र फेल हुनेको संख्या धेरै रहेकाले विभिन्न किसिमका विकृति देखापरेको भन्दै फागुनदेखि लागू गर्ने गरी काम भइरहेको उनले बताएका छन् । लाइसेन्स पाउने व्यवस्था गर्न लिखित र ट्रायललाई सहज बनाउन खोजेको उनको भनाइ छ ।

उनका अनुसार लिखितमा एक हजार वटा प्रश्नोत्तर समेटिएको पुस्तक तयार गरिनेछ । जुन अनलाइन माध्यम र पुस्तक पसलमा पाइनेछ । ‘लिखित परीक्षामा सोही पुस्तकबाट मात्र प्रश्न सोधिनेछ,’ उनले भने, ‘यसो गर्दा सबै जना पास हुने भए, सबै प्रश्न र उत्तर पढिसकेपछि परीक्षार्थीले ट्राफिक नियमबारे पनि राम्रोसँग थाहा पाउँछ ।’

ट्रायलमा पनि विभिन्न प्यारामिटर छन् । सबै पास गरिसकेपछि मात्र लाइसेन्स पाउने सिस्टम छ, कुनै एउटामा छुस्स छुनेबित्तिकै फेल हुने व्यवस्था छ । ती विभिन्न प्यारामिटरलाई नम्बरिङ गर्ने र कुनै एउटामा फेल हुँदा अर्कोमा पास हुन समस्या हुने छैन । ‘नयाँ व्यवस्थाअनुसार सबैको नम्बर जोड्दै जाँदा ६० नम्बर आयो भने ऊ पास हुनेछ,’ उनले भने ।

अहिलेलाई ६० नम्बर ल्याउने पास हुने भनेर मापदण्डमा राखिएको छ । मापदण्डले लाइसेन्समा मौलाएको बिचौलिया प्रवृत्ति कम गर्ने विभागको दाबी छ । ‘मापदण्डअनुसार जोकोही एकपटक पास नभए पनि अर्को परीक्षा दिँदा पास हुन्छ,’ उनले भने, ‘नागरिकले सहज रूपमा सेवा पाउँछन्, त्यसैले हामीले मापदण्ड बनाएका हौं ।’ मापदण्डबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि छलफल भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्