एमसीसीको सञ्चालक समितिद्वारा नेपाल कम्प्याक्टका लागि थप सहयोग स्वीकृत
काठमाडौँ । अमेरिकी सहायता संस्थ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ । नेपाल स्थित अमेरिकी दूताबासले उक्त जानकारी सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको छ ।
‘सञ्चालक समितिको यस निर्णयले नेपालका विकास प्राथमिकताहरूलाई रूपान्तरणकारी तथा गुणस्तरीय पूर्वाधार परियोजनाहरूको माध्यमबाट अगाडि बढाउने एमसीसी र नेपाल सरकारबिचको साझा प्रतिबद्धतामाथि जोड दिन्छ’, समाचारमा भनिएको छ ।
एमसीसी कम्प्याक्ट अपरेशनका उपाध्यक्ष क्यामरन अल्फोर्डले भने, ‘यस अतिरिक्त आर्थिक सहयोगले नेपालको विद्युत् ग्रिडलाई बलियो बनाउने र दीर्घकालीन आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने दिशामा कम्प्याक्टको सफलता सुनिश्चित गर्ने हाम्रो साझा प्रतिबद्धतालाई पुष्टि गर्दछ ।’
आर्थिक वृद्धिमार्फत् विश्वव्यापी गरिबी निवारण गर्नका निम्ति कार्यरत मिलेनियम च्यालेन्ज कर्पोरेसन अमेरिकी सरकारको एक स्वतन्त्र विकास निकाय हो ।
सन् २००४ मा स्थापित एमसीसीले सुशासन, भ्रष्टाचार विरुद्धको लडाइँ र लोकतान्त्रिक अधिकारको सम्मानसम्बन्धी कडा मापदण्डहरू पुरा गर्ने देशहरूलाई पूर्वाधार निर्माण तथा सुधारका साथै नीतिगत तथा संस्थागत सुधारमा लगानी गर्दै आएको छ । यस्तो खाले अमेरिकी अनुदानहरु निश्चित समयसीमामा बाँधिएका हुन्छन् ।













