जीवन बीमा व्यवसायमा दोहोरो अंकको गिरावट, २८.५५ प्रतिशतले घट्यो नयाँ विजनेश « Arthapath.com
१८ फाल्गुन २०७९, बिहीबार

जीवन बीमा व्यवसायमा दोहोरो अंकको गिरावट, २८.५५ प्रतिशतले घट्यो नयाँ विजनेश



काठमाडौं । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण जीवन बीमा व्यवसाय पनि प्रभावित भएको देखिएको छ ।

गत आर्थिक वर्षहरुमा दोहोरो अंकमा बढ्दै गएको जीवन बीमा व्यवसायको वृद्धिदर चालु आर्थिक बर्ष २०७९/८० भने एकल अंकमा झरेको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आवको माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

हाल नेपालमा १८ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । गत आवको माघ मसान्तसम्म उक्त कम्पनीहरुले ८१ अर्ब ३० करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । तर, चालु आवको समिक्षा अवधीमा भने त्यो भन्दा २ अर्ब ८ करोड ८९ लाख रुपैयाँ बढी अर्थात् ८३ अर्ब ३९ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।

गत आवहरुमा दोहोरो अंकमा बढ्दै आएको जीवन बीमा कम्पनीहरुको कुल व्यवसाय (नयाँ र नविकरण) मा सामान्य वृद्धि देखिएको छ । तर, चालु आवमा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) भने २८.५५ प्रतिशतले नै घटेको छ । तथ्यांकअनुसार समिक्षा अवधिमा सबै बीमा कम्पनीको प्रथम बीमाशुल्कमा दोहोरो अंकको गिरावट देखिएको छ ।

गत आवको माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरुले २३ अर्ब ३ करोड २६ लाख बरारबरको नयाँ व्यवसाय गरेका थिए । तर, चालु आवको समिक्षा अवधीमा त्यो भन्दा ६ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ कम अर्थात् १६ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ मात्रै प्रथम बीमाशुल्क संकलन भएको छ ।

जीवन बीमा १ बर्षका लागि मात्रै नभएर बहुबर्षिय अवधिका लागि गरिन्छ । तर, त्यसको शुल्क भने वार्षिक रुपमा भुक्तानी गरिन्छ । त्यसअनुसार बीमा गर्ने व्यक्तिले पहिलो बर्ष तिर्नेलाई शुल्कलाई प्रथम बीमाशुल्कको रुपमा गणना गरिन्छ ।

त्यसपछिका वर्षहरुमा तिरिने शुल्कलाई भने नविकरणीय शुल्कमा गणना गरिन्छ । तथ्यांकअनुसार चालु आवमा नवीकरणीय शुल्कमा गिरावट आएको छैन । तर, प्रथम बीमाशुल्कमा भने उच्च गिरावट देखिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । विशेषरि अर्थतन्त्रमा देखिएको विभिन्न समस्याका कारण बीमा व्यवसाय प्रभावित भएको उनले बताए ।

पछिल्लो समय देखिएको बैंकिङ तरलता अभाव, महंगी लगायतका कारण बीमा व्यवसाय प्रभावित भएको उनको भनाइ छ । ‘बैंकबाट कर्जा लिएपछि सम्बन्धीत ऋणीले आफ्नो जीवन बीमा गर्नुपर्ने प्रावधान पनि छ । तर, तरलता अभावका कारण कर्जा प्रवाह प्रभावित हुदाँ बीमा व्यवसाय पनि प्रभावित भएको छ । साथै, बढ्दो महंगीका कारण आम सर्वसाधारणको बीमा गर्ने क्षमता घटेको छ,’ उनले भने, ‘पुराना बीमितहरुले त जनतन बीमाशुल्कको किस्ता तिरेका छन्, नसक्नेको ल्याप्स भएको छ । साथै, कपितयले सरेन्डर पनि गरेका छन् । तर, नयाँ बीमितहरु बढ्न सकेका छैनन् ।’

वृद्धिदरको आधारमा समिक्षा अवधीमा गुराँस लाइफको प्रथम बीमाशुल्कमा सबैभन्दा धेरै गिरावट देखिएको छ । उक्त कम्पनीको प्रथम बीमाशुल्क ५४.२१ प्रतिशतले घटेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । प्रथम बीमाशुल्क घट्नेमा दोस्रो स्थानमा भने युनियन लाइफ रहेको छ, उक्त कम्पनीको प्रथम बीमाशुल्क ४७.९७ प्रतिशत घटेको छ । यसैगरि प्रथम बीमाशुल्क घट्नेमा रिलायन्स लाइफ तेस्रो स्थानमा छ, उक्त कम्पनीको प्रथम बीमाशुल्क ४४.३२ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ ।

यस्तै, समिक्षा अवधिमा सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गर्नेमा भने नेपाल लाइफ अग्र स्थानमा देखिएको छ । कम्पनीले माघ मसान्तसम्म ३ अर्ब ३ करोड २८ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेको छ । दोस्रो स्थानमा भने नेशनल लाइफ रहेको छ । कम्पनीले समिक्षा अवधिमा १ अर्ब ९८ करोड ५४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

तथ्यांकअनुसार तेस्रो स्थानमा रहेको सुर्यज्योति लाइफ इन्स्योरेन्सले १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेको छ । यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले १ अर्ब ३१ करोड ३६ लाख, सन नेपाल लाइफले १ अर्ब ९ करोड ८१ लाख, सिटिजन लाइफले १ अर्ब २ करोड ५९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

तथ्यांकमा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क (रकम रु. लाखमा)

स्रोतः नेपाल बीमा प्राधिकरण


प्रतिक्रिया दिनुहोस्