मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, सम्पत्ति बीमाको हिस्सा २२ प्रतिशत « Arthapath.com
२६ जेष्ठ २०८०, शुक्रबार

मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, सम्पत्ति बीमाको हिस्सा २२ प्रतिशत



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा मोटर बीमाले सबैभन्दा धेरै हिस्सा ओगटेको छ । निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कको ३३.४६ प्रतिशत हिस्सा मोटर बीमाको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार बैशाख महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समिक्षा अवधिमा कम्पनीहरुले २३ लाख ५० हजार ६५२ वटा बीमालेख बिक्री गरेका हुन् ।

कुल संकलित बीमा शुल्क मोटर बीमाको धेरै छ । सो अवधिमा मोटर बीमा मार्फत १० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क उठेको छ । बैशाख मसान्तसम्ममा मोटर बीमा व्यवसाय गर्ने कम्पनीरुले १४ लाख ८७ हजार ३२२ वटा बीमालेख बिक्री गरेका छन् ।

मोटर बीमापछि सम्पत्ति बीमाको हिस्सा धेरै छ । निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको योगदान २२.११ प्रतिशत रहेको छ । चालु आवको बैशाख मसान्तसम्ममा कम्पनीहरुले सम्पत्ति बीमा मार्फत ७ अर्ब २२ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले ४ लाख २ हजार ५७२ वटा सम्पत्ति बीमालेख बिक्री गरेका छन् ।

तेस्रो स्थानमा इन्जिनियरिङ्ग बीमा रहेको छ । निर्जीवन बीमा व्यवसायमा इन्जिनिययिरङ्ग बीमाको योगदान १७.३७ प्रतिशत रहेको छ । समिक्षा अवधिमा यस्तो बीमा अन्तर्गत कम्पनीहरुले २५ हजार ७१३ वटा बीमालेख बिक्री गरि ५ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

सबैभन्दा कम योगदान भने लघुबीमाको छ । लघु निर्जीवन बीमाको योगदान शून्य दशमलवव १९ प्रतिशत मात्र छ । समिक्षा अवधिमा कम्पनीहरुले ३३ हजार ४८२ वटा बीमालेख बिक्री गर ६ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यस्तै, विविध बीमाको योगदान १०.७० प्रतिशत, कृषि तथा पशुपन्छी बीमोको ६.१४ प्रतिशत, सामुदान्द्रिक बीमाको ५.१२ प्रतिशत र हवाई बीमाको योगदान २.५३ प्रतिशत योगदान रहेको छ ।

चालु आवको बैशाखसम्ममा विविधि बीमा मार्फत कम्पनीहरुले ३ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ, कृषि तथा पशुपन्छी बीमाबाट २ अर्ब ५५ लाख, सामुन्द्रिक बीमाबाट १ अर्ब ६७ करोड ३३ लाख र हवाई बीमाबाट १ अर्ब ६० करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस्तो बीमा अन्तर्गत कम्पनीहरुले क्रमशः १ लाख ३६ हजार ५८९, १ लाख ५२ हजार २६६, १ लाख १२ हजार ५९४ र ११४ वटा बीमालेख बिक्री गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्