‘बीमा कम्पनीहरूमा मर्जरको सिनर्जी देखिन १–२ वर्षको समय लाग्छ’ « Arthapath.com
२६ भाद्र २०८०, मंगलवार

अन्तर्वार्ता:

‘बीमा कम्पनीहरूमा मर्जरको सिनर्जी देखिन १–२ वर्षको समय लाग्छ’



  •  बीमा क्षेत्रमा शत प्रतिशत नै डिजिटल हुने भन्ने कुरा भने सम्भव हुँदैन । 
  •  सगरमाथाको मुख्य उद्देश्य भनेको पहिला सेवा अनि नाफा भन्ने छ । 
  • दर्ता सवारी साधन मध्ये ५० प्रतिशत समेत बीमा भएको छैन । 
  •  कम्पनीहरू मर्जर हुँदा कुनै पनि कर्मचारीले पीडा वा दुर्भाग्यको महसुस गर्नु पर्दैन ।

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थामा मर्जरको लामो शृङ्खलापछि अब बीमा कम्पनीहरूमा मर्जरको माहोल तातेको छ । पछिल्ला वर्षमा नयाँ कम्पनीलाई लाइसेन्स दिने र पुराना कम्पनीलाई पनि पुँजी बढाउन दबाब दिने नीति नियामक बीमा प्राधिकरणले लिएपछि कम्पनीहरू आपसमा गाभिने बाटो रोजिरहेका छन् । तर आर्थिक गतिविधिमा आएको सुस्तताको परिणाम बीमा कम्पनीहरूमा पनि देखिएको छ । पछिल्लो एक आर्थिक वर्षमा बीमाको दायरा खासै विस्तार हुन सकेको छैन । यसै परिवेशमा मूलतः निर्जीवन बीमा कम्पनीहरूको कारोबार, आर्थिक हालत र मर्जरका लाभ–हानी बारे अर्थपथले हालै मात्र मर्जरबाट एकीकृत बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चङ्की क्षेत्रीसँग कुराकानी गरेको छ । उक्त वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत छ । 

बीमाको बजार गत वर्ष भन्दा घटेको छ । निर्जीवन बीमाको आकार ३ प्रतिशत मात्र विस्तार भएको छ । बीमा बजारको समष्टिगत आकार घट्नुको कारण के हो ? 

अहिले अर्थतन्त्र चलायमान छैन । आर्थिक प्रणालीमा नै ब्रेक लागेको छ । निर्जीवन बीमामा सबैभन्दा ठुलो हिस्सा मोटरहरूको हुन्छ । अहिले मोटरको खरिद बिक्री छैन । बैङ्कले कर्जा नदिँदा पनि बीमा बजार विस्तार हुन सकिरहेको छैन । सरकारको खर्च  अनुपातसमेत निकै कम भएको छ । 

त्यसै कारण विकास निर्माणमा समेत प्रभाव परेको छ । यीनै कारणले बीमाको आकार जुन तरिकाबाट बढ्नु पर्ने थियो, त्यसरी बढ्न सकेन । यति हुँदाहुँदै पनि, अर्थतन्त्र चलायमान नभएको अहिलेको समयमा जे जति व्यवसाय बीमा कम्पनीहरूले गरेका छन्, त्यसलाई पनि सकारात्मक नै लिनुपर्छ ।

बीमा बजारको करिब आधा व्यापार बैङ्क तथा वित्तीय संस्थामा निर्भर देखिन्छ । बीमा कम्पनी आफै चल्न सक्ने अवस्था कहिले बन्ला ? 

संसारमा चलिरहेको एक प्रक्रिया नै के छ भने जीवन बीमा कम्पनी भन्ने बित्तिकै बचत योजना भनेर बुझिन्छ । त्यसबाट प्रतिफल आउँछ भन्ने हुन्छ । तर निर्जीवन बीमाको हकमा बुझाइ भिन्न छ । यदि कसैले बीमा दाबी गरे र क्षति बापत बीमाबाट पैसा प्राप्त गरे भने उनीहरूले त्यो पैसाले पुनः बीमा नै गर्नुपर्छ भन्ने बुझ्छन् । तर बीमा गर्नेमध्ये निकै कमले मात्र दाबी गर्छन् र भुक्तानी पाउँछन् । 

बाँकी मानिसहरूले बीमा त गरेका हुन्छन्, तर दाबी परेन भने त्यो पैसा त्यत्तिकै खर्च भयो भनेर सोचिदिन्छन् । उनीहरूले यसरी आफ्नो पैसा बेकारमै खर्च भएको सोच्नु हुन्न । बरु धेरै बीमितबाट उठाएको प्रिमियमको पैसाले समाजको कुनै पनि ठाउँमा सामाजिक उत्तरदायित्व निर्वाह भएको छ भन्ने सोचले अगाडि बढ्नुपर्छ ।  यदि सबै बीमितले दाबी गर्ने हो भने त बीमा कम्पनीहरू तुरुन्तै टाट पल्टिइ हाल्छन् । यदि १०० जनाले बीमा गरेको छ भने १० जनाले दाबी गर्ने हो । त्यही प्रिमियमले नै बीमा कम्पनीहरुले दुर्घटनाको क्षतिपूर्ति तिर्नुपर्छ ।  

अर्को कुरा, जनचेतनाको अभावले पनि बीमाबारे धेरै मानिसहरु सचेत बन्न नसकेको देखिन्छ । सबैभन्दा पहिला सरकारले नै बीमाबारे आम नागरिकलाई बुझाउनु जरुरी छ । बीमाको महत्त्व के हो ? यो किन गरिन्छ ? भनेर सरकारले बुझेपछि आम जनसमुदायमा पुग्न सजिलो हुन्छ । नेपालको पहिलेको आँकडामा दर्ता सवारी साधनमध्ये ५० प्रतिशत पनि बीमा भएको छैन । त्यो सबै सवारी साधन बीमाको पहुँचमा आयो भने निर्जीवन बीमाको दायरा स्वतः बढ्छ । 

यसबाट सरकारले राजस्वसमेत प्राप्त गर्छ । केही वर्ष अघिसम्म सडकमा गाडी दुर्घटना हुँदा लामो समय सडक अवरुद्ध हुने र भिडभाड तथा जाम पर्ने समस्या थियो । तर, अहिले त्यो कुरा रोकिएको छ । बीमा कम्पनीले क्षतिपूर्ति दिन थालेका कारण पहिलेजस्तो सडकमा हुल हुज्जत हुन छाडेको हो । दुर्घटना नहुने हैन, यदि भएको खण्डमा हामी सुरक्षित छौ भन्ने मेसेज जानुपर्छ । कृषिको कुरा गर्दा सरकारले ८० प्रतिशत अनुदान दिएको छ । त्यसलाई परिचालन गर्नको लागि स्थानीय तहका जनप्रतिनिधिको भूमिका हुन्छ । यो एकदम उत्कृष्ट कुरा हो, सरकारले दिएको कुरामा आफ्नो जनतामाझ पुर्‍याउन सक्यो भने पछिको लागि सरकारको ‘भोट बैङ्क’ बढ्छ । 

बीमा गर्छन् तर कम्पनीले दाबी तिर्दैनन् भन्ने सन्देश बजारमा निकै बलियो देखिन्छ । यसलाई चिर्न के गर्नुपर्छ ?

यसमा चाहिँ पत्रकारहरूले पनि भूमिका खेलिदिनु पर्छ । हामीले गत आर्थिक वर्षमा ४० अर्बको व्यवसाय गर्‍यौँ, २५ अर्बको दाबी तिरिसकेका छौँ । १५–१६ अर्ब त सबै कम्पनीको जोड्दा बाँकी हुनसक्छ । 

कोभिड बीमा र कृषि बीमाको भुक्तानी समयमा नहुँदा बीमाप्रति सर्वसाधारणको बुझाइ नकारात्मक बनेको हो ? 

यसको प्रमुख जिम्मेवार सरकार हो । कृषि बीमामा पनि सरकारले आफ्नै कानुन मिचिरहेको छ । उधारो बीमा बन्द गर्नु भनिरहेको छ । हामी कम्पनीहरूले चाहिँ  उधारोमा बीमा गरिरहेका छौँ । बीमितले प्रिमियम नै तिरेका छैनन्, तर हामी कम्पनीहरूले दाबी भुक्तानी गरिरहेका छौँ । सरकारले कृषि बीमा बापत अनुदान दिने भनेको ३ अर्ब रुपैयाँ अझै पनि बीमा कम्पनीहरूलाई भुक्तानी गरेको छैन । 

कोरोना बीमामा पनि सरकारले नै पैसा दिएको छैन । त्यसैले बीमा कम्पनीले दाबी भुक्तानी गर्न सकेको छैनन् । सरकारले आफ्नो दायित्व सम्झेर दिनुपर्ने भुक्तानी दिएमा जनमानसमा बीमा गर्नुपर्छ भन्ने सकारात्मक सन्देश जाने थियो । यस किसिमको सकारात्मक धारणा सहितको जनचेतना फैलियो भने जनतालाई मात्र फाइदा पुग्ने होइन की, राजस्वमार्फत राज्यले पनि लाभ पाउँछ । 

अहिले मोटर बीमामा झुटा दाबी आउने क्रम बढेको छ भनिन्छ । यसलाई नियन्त्रण गर्न किन नसकिएको हो ?

झुटो दाबी अहिले विश्वभरि नै आउने गरेको पाइन्छ । नेपालमा पनि यस्तो झुटा दाबीको अनुपात कुल दाबीमा २०–२५ प्रतिशतसम्म रहेको पाइन्छ । बीमा कम्पनीहरूको अन्डराइटिङ शाखा छ, उसले सरकारी कागजातको आधारमा दाबीको परीक्षण गर्ने प्रचलन छ । विदेशमा प्रविधिमैत्री ट्र्याकिङ सिस्टम छ, जसले झुटा दाबी आउने सम्भावना न्यून रहन्छ । हाम्रो देशमा स्थानीय तहले नै प्रभावमा परेर झुटा विवरणको सिफारिस गरिदिने गरेको पाइन्छ । ।

कम्पनी मर्जरपछि सामान्यतया १ मा १ जोड्दा ११ हुन्छ भनिन्छ । तर, हाम्रा बीमा कम्पनीको मर्जरपछिको तथ्याङ्कले त २ पनि भएन कि जस्तो देखिन्छ नि ? 

वान प्लस वान, इलेभेन (१+१=११)भन्ने कुरा ब्रान्डिङ गर्ने हिसाबमा हो । १ मा १ जोड्दा ३ वा ४ भए मात्रै पनि राम्रो हो । मर्जर गर्ने नै सिनर्जी ल्याउनको लागि हो । हामी पनि भर्खरै मर्जरमा गएका छौँ । त्यसैले यसको सकारात्मक परिणाम देख्न केही समय लाग्छ । दुई फरक संस्कारबाट हुर्केका संस्था एकै परिवारमा आएका छौँ । त्यसलाई एक ठाउँमा मिलाएर नयाँ सोच र नयाँ टिम बनाएर अगाडि बढ्न अलि समय लाग्छ । यसको वास्तविक नतिजा १–२ वर्ष पछि देखिन थाल्छ । 

कम्पनीहरू गाभिँदा त्यहाँ काम गर्ने कर्मचारीका लागि भने कठिनाइ उत्पन्न हुने रहेछ । कर्मचारीका लागि त यो मर्जर नै एक दुर्भाग्य रहेछ है ?

त्यस्तो हुँदैन । यसलाई कर्मचारीको दृष्टिमा पनि पीडादायी मान्नुपर्ने आवश्यकता छैन । एउटै कलेजबाट पढेकामध्ये राम्रो ज्ञान भएका मान्छेले पीडाको अनुभूति गर्नु जरुरी नै छैन । उदाहरणका लागि घरपरिवारमा पनि आफ्नै आमा बुबाले पैसा कमाउने छोरालाई हेर्ने दृष्टि र नकमाउने छोरालाई हेर्ने दृष्टिमा फरक पर्छ । माया त दुबैलाई गर्छन् । त्यस कारण कसैले पनि पीडा महसुस गर्नु जरुरत छैन । राम्रो गरेपछि राम्रो नतिजा पाउने हो । जति राम्रो गर्छ त्यही अनुसारको नजिता पाउने हो । दौडमा सबै प्रथम हुँदैनन् । 

संस्थागत निक्षेपलाई दिने ब्याज १ प्रतिशत घटाइयो यसले इन्स्योरेन्स कम्पनीको वित्तीय रिपोर्टमा इफेक्ट गरेको होला, यो विषय निर्कषमा पु¥याउन सक्नुभएन हैन ?
बीमा कम्पनैले जुन फण्ड संकलन गर्छ गाउँको दुरदराजबाट संकलन गरेर बैंकमा निक्षेपको रुपमा राख्ने हो । त्यो संस्थागत लगानीको डिपोजिट नै हाम्रो आम्दानी स्रोत पनि हो । त्यो घटाउदा धेरै वित्तिय विवरणमा र कम्पनीको नाफामासमेत ठुलो अषर पार्छ । यो लगानी लामो समयसम्म भैरहने हो । लविङ गरेको हो तर यहि गर्नुपर्छ भन्ने निर्कष आएको छैन ।

अहिले पनि बीमा गर्न र दाबी गर्न कम्पनी मै धाउनु पर्ने अवस्था छ ? यस्तो परम्परागत अवस्थाको अन्त्य कहिले हुन्छ ?
अहिले पनि धेरै कम्पनीहरुमा पहिले जस्तै कम्पनीमै धाउनुपर्ने अवस्था छैन । दाबी पर्दा हामीले सर्वेयर पठाउछौँ, डकुमेन्ट माग्छौं । सेटलमेन्टको अवस्थामा चेक भन्दा अनलाइन पेमेन्ट गर्न थालि सकेका छौं । पहिला जस्तो कम्पनीमा धाउनुपर्ने बाध्यतामा कमि आएको छ । पहिलाको अवस्था भन्दा अहिले चेकबाट भुक्तनी दिने क्रम ५०÷६० प्रतिशतले कमी आएको छ ।
इन्स्योरेन्स कम्पनी अलि प्रविधि मैत्री भएनन् भन्ने कुरा आउछ कम्पनीले आइटिसँग सम्बन्धी प्रोडक्टमा तेति जोड नदिएको हो ?
सबै कम्पनीहरुले आफ्नो–आफ्नो तरिकाले अगाडि बढी रहेको अवस्था छ । सगरमाथाले पहिलेदेखि नै अनलाइन मार्फत दाबी सेटलमेन्ट गर्ने कार्यको सुरुवात गरेको हो । बिस्तारै डिजिटलमैत्री भइरहेको छ । बीमा क्षेत्रमा शत प्रतिशत नै डिजिटल हुने भन्ने कुरा भने सम्भव हुदैन ।

सगरमाथाले यस वर्ष सेयरधनीहरुलाई कति प्रतिफल दिनसक्छ ?
भर्खरै चौथो त्रैमाससम्मको रिपोर्ट सार्वजनिक भएको छ । यति भन्न नसके पनि बजारमा चलिरहेको अनुरुप नै दिन सक्छौं । मर्जर पछि कम्पनीले गर्ने काम कारवाहिलाई कसरी छिटो छरितो गर्न सकिन्छ भन्ने कुरामा सगरमाथाले राम्रो सँग नै ब्यवस्थापन गरीरहेको छ । दाबी भुक्तानीमासमेत हामी अगाडि नै छौँ । सगरमाथाको मुख्य उद्देश्य भनेको पहिला सेवा अनि नाफा भन्ने छ । सेयरधनीहरुलाई बजारमा चलेको बैंकको व्याजदर भन्दा राम्रो प्रतिफल सकिन्छ कि भन्ने लागेको छ ।


प्रतिक्रिया दिनुहोस्