७६ प्रतिशत बढ्यो आइएमई लाइफको नाफा, ३ अर्ब बढीको व्यापार « Arthapath.com
१७ बैशाख २०८१, सोमबार

७६ प्रतिशत बढ्यो आइएमई लाइफको नाफा, ३ अर्ब बढीको व्यापार



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफामा उल्लेख्य सुधार भएको छ । ९ महिनामा कम्पनीले ३३ करोड बढी खुद नाफा आर्जन गरेको छ ।

सोमबार कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले ३३ करोड १५ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा ७५.७८ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १८ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ७.७९ प्रतिशत बढेर ३ अर्ब ११ करोड ५६ लाख ३८ हजार रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासमा पनि कम्पनीले २ अर्ब ८९ करोड ४ लाख ४४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले कुल २ अर्ब ९३ करोड ६३ लाख ५४ हजार रुपैयाँ दावी भुक्तानी दिएको छ । गत आवको तेस्रो त्रैमाससम्ममा पनि कम्पनीले २ अर्ब ५७ करोड ३५ लाख ६८ हजार रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ कायम भएको छ । यता, सेयर प्रिमियम १ अर्ब ५२ करोड ५८ लाख ३६ हजार रुपैयाँ र महाविपत्ति कोषमा भने १५ करोड ९१ लाख ७ हजार रुपैयाँ राखेको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ११ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २५ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्