खुद नाफा र इपिएस बढेको नेपाल लाइफको दावी भुक्तानी १८.५१ प्रतिशत घट्यो, कस्तो वित्तीय अवस्था ? « Arthapath.com
२४ माघ २०८०, बुधबार

खुद नाफा र इपिएस बढेको नेपाल लाइफको दावी भुक्तानी १८.५१ प्रतिशत घट्यो, कस्तो वित्तीय अवस्था ?



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले ४२ करोड ७७ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने १२.९० प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ३७ करोड ८८ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने एकल अंकमा बढेको छ । गत आवको पुस मसान्तमा कम्पनीले १८ अर्ब ४० करोड ४५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तर, यो वर्ष भने ७.१३ प्रतिशत बढेर १८९ अर्ब ७१ करोड २३ लाख ७८ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, दोस्रो त्रैमासमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा पनि दोहोरो अंकको बढोत्तरी देखिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी ६ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ थियो । तर, यो वर्षको पुस मसान्तसम्ममा भने १४.३३ प्रतिशत बढेर ७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी १०.७१ प्रतिशत बढेर २९ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको कुल दावी भुक्तानी भने दोहोरो अंकले घटेको छ । गत वर्षको दोस्रो त्रैमासमा ८ अर्ब ४८ करोड १ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो । तर, यो वर्षको समिक्षा अवधिमा १८.५१ प्रतिशत घटेर ६ अर्ब ९१ करोड ५ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) भने सामान्य बढेर १० रुपैयाँ ४२ पैसा कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ भने १२८ रुपैयाँ १ पैसा छ ।

हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ छ । कम्पनीको जीवन बीमा कोषमा भने १ खर्ब ८३ अर्ब ६५ करोड ४३ लाख रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्