६७ अर्बले बढ्यो जीवन बीमा कोषको आकार: नेपाल लाइफ र एलआइसीको खर्बमाथि, अन्य कुनको कति ? « Arthapath.com
६ फाल्गुन २०८०, आईतवार

६७ अर्बले बढ्यो जीवन बीमा कोषको आकार: नेपाल लाइफ र एलआइसीको खर्बमाथि, अन्य कुनको कति ?



काठमाडौं । जीवन बीमा कोषको आकार ६७ अर्बले बढेको छ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार दोहोरो अंकले बढेर ६ खर्ब माथि पुगेको छ ।

कम्पनीहरुद्वारा प्रकाशित चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीहरुको यस्तो कोष ६७ अर्ब १७ करोड ३ लाख रुपैयाँ अर्थात् ११.८९ प्रतिशत बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुको जीवन बीमा कोषमा ५ खर्ब ६५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ रहेको थियो । तर, चालु आवको सोही अवधिमा भने बढेर ६ खर्ब ३२ अर्ब ३० करोड ५१ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा सबै कम्पनीहरुले कोषको आकार बढाएका छन् ।

जीवन बीमा कोषमा नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) को १ खर्ब माथि छ । सबैभन्दा धेरै रहेको नेपाल लाइफको यस्तो कोषमा १ खर्ब ८३ अर्ब ६५ करोड ४३ लाख रुपैयाँ छ । यता, एलआइसीको पनि १ खर्ब १३ अर्ब ८० करोड ८ लाख रुपैयाँ पुगेको छ ।

तीन वटा कम्पनीले भने यस्तो कोषमा ५० अर्ब माथि राखेका छन् । समिक्ष अवधिमा नेशनल लाइफको जीवन बीमा कोषमा ७१ अर्ब ४४ करोड २५ लाख, हिमालयन लाइफको ५८ अर्ब ४८ करोड ८९ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीको ५२ अर्ब ६३ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

कोषका आकार वृद्धिदरको आधारमा भने रिलायवल नेपाल पहिलो सूचीमा छ । कम्पनीले यस्तो कोषको आकार ३१.४७ प्रतिशत बढाएर ८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ पुर्याएको छ । यस्तो दोस्रो सूचीमा रहेको प्रभु महालक्ष्मीले १६.३३ प्रतिशत बढाएर ६ अर्ब ५१ करोड ७४ लाख र तेस्रो स्थानमा रहेको सानिमा रिलायन्सले १३.३० प्रतिशत बढेर १२ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ पुर्याएका छन् ।

समिक्षा अवधिमा एशियन लाइफको यस्तो कोषमा ४० अर्ब ९ करोड ६८ लाख, सूर्यज्योतिले ३० अर्ब ५१ करोड ६९ लाख, मेट लाइफले २५ अर्ब ३२ करोड ९५ लाख, सिटिजन लाइफको १२ अर्ब ६९ करोड ६७ लाख, आइएमईको ७ अर्ब ९९ करोड ८९ लाख र सन नेपाल लाइफको ६ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ कायम भएको छ ।

कुन कम्पनीको कति छ जीवन बीमा कोषको आकार ?


प्रतिक्रिया दिनुहोस्