निर्जीवन बीमा व्यवसायमा सर्वाधिक हिस्सा ओगट्ने मोटर बीमाकै व्यापार खुम्चियो, सम्पत्ति बीमा भने बढ्यो « Arthapath.com
१७ बैशाख २०८१, सोमबार

निर्जीवन बीमा व्यवसायमा सर्वाधिक हिस्सा ओगट्ने मोटर बीमाकै व्यापार खुम्चियो, सम्पत्ति बीमा भने बढ्यो



काठमाडौं । निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा धेरै छ । तर, सबैभन्दा धेरै हिस्सा भएकै मोटर बीमा व्यापारमा गिरावट देखिएको छ ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरणले यस्तो देखाएको हो । चैत मसान्तसम्ममा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको मोटर बीमा मार्फत संकलन हुने बीमा शुल्क ६.०५ प्रतिशत घटेको छ । गत आवको चैत मसान्तसम्ममा कम्पनीहरुले मोटर बीमा मार्फत ९ अर्ब ८८ करोड ७६ लाख ४९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । तर, यो वर्षको सोही अवधिमा भने घटेर ९ अर्ब २८ करोड ९२ लाख कायम भएको छ ।

हाल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३०.८० प्रतिशत छ । तर, सर्वाधिक हिस्सा ओगट्ने मोटर बीमा व्यापारमा संकुचन देखिएको हो । समिक्षा अवधिमा मोटर बीमालेख बिक्री पनि घटेको छ । मोटर बीमालेख बिक्री गत वर्षको तुलनामा ७४ हजार ३२० वटा कमी आएको हो । चालु आवको ९ महिनामा कम्पनीहरुले कुल १३ लाख ८ हजार ७५१ वटा मोटर बीमालेख बिक्री गरेका छन् । तर, गत आवको चैत मसान्तसम्ममा भने कम्पनीहरुले १३ लाख ८३ हजार ७१ वटा मात्रै बीमालेख बिक्री गरेका थिए ।

पछिल्लो समय सवारी साधान खरिद बिक्रीमा आएको कमीले मोटर बीमा व्यवसाय प्रभावित भएको हो । नेपालमा सवारी साधान खरिद गरेपछि अनिवार्य रुपमा बीमा गर्नुपर्छ । तर, पछिल्लो समय देखिएको आर्थिक शिथिलताले गर्दा सवारी साधानहरुको खरिदबिक्री घटेको छ । त्यसको असरले मोटर बीमा व्यवसाय पनि घटेको हो ।

मोटर बीमासँगै इन्जिनियर तथा ठेक्का जोखिम बीमा, कृषि तथा बाली र सामून्द्रिक बीमा व्यावसायमा पनि गिरावट देखिएको छ। समिक्षा अवधिमा यी बीमा व्यवसाय क्रमशः ९.७१ प्रतिशत, ७.६४ प्रतिशत र ४.५४ प्रतिशत घटेको छ ।

चालु आवको ९ महिनामा इन्जिनियर बीमा मार्फत कम्पनीहरुले ४ अर्ब ७५ करोड ११ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् । कुल निर्जीवन बीमा व्यवसायमा यसको हिस्सा १५.७५ प्रतिशत छ । जलविद्युत आयोजना, पुल, सडक लगायतका ठुला पूर्वाधार निर्माणले गति लिन नसक्दा नै इन्जिनियरिङ् बीमाको व्यापारमा संकुचन देखिएको हो । समिक्षा अवधिमा यो बीमा अन्तर्गत कम्पनीहरुले २० हजार ८४४ वटा बीमालेख बिक्री गरेका छन् ।

समिक्षा अवधिमा कृषि तथा बाली बीमामा मार्फत संकलन हुने बीमा शुल्क पनि घटेर १ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ कायम भएको छ । यता, सामून्द्रिक बीमा मार्फत संकलन हुने बीमा शुल्क पनि ४.५४ प्रतिशत घटेर १ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ कायम भएको छ । हाल इन्जिनियर, कृषि तथा बाली र सामून्द्रिक बीमाको व्यापार हिस्सा क्रमशः १५.७५ प्रतिशत, ५.५५ प्रतिशत र ४.८८ प्रतिशत रहेको छ ।

चालु आवको नौं महिनामा समग्र निर्जीवन बीमा नै शून्य दशमलव ४६ प्रतिशत मात्रै बढेको छ। गत आवको चैत मसान्तसम्ममा १४ वटा कम्पनीहरुले ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोहि अवधिमा भने कम्पनीहरुले ३० अर्ब १५ करोड ३० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

सम्पत्ति र हवाई बीमा व्यवसायमा भने बढोत्तरी

मोटर र सम्पत्ति बीमाकै भरमा निर्जीवन कम्पनीहरुले चल्दै आएका छन् । समिक्षा अवधिमा मोटर बीमामा गिरावट देखिएता पनि सम्पत्ति बीमा भने बढेको छ ।

निर्जीवन बीमा व्यवसायमा दोस्रो धेरै हिस्सा (२४.६३ प्रतिशत) सम्पत्ति बीमाको छ । समिक्षा अवधिमा यो बीमा ११.१५ प्रतिशत बढेर ७ अर्ब ४२ करोड ७१ लाख रुपैयाँ कायम भएको छ । गत आवको चैत मसान्तसम्म सम्पत्ति बीमा मार्फत कम्पनीहरुले ६ अर्ब ६८ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

यता, हवाई बीमा मार्फत संकलन हुने बीमा शुल्क पनि ३१.३१ प्रतिशत बढेर १ अर्ब ९७ करोड ८२ लाख रुपैयाँ कायम भएको छ । निर्जीवन बीमामा हवाई बीमाको हिस्सा ६.५६ प्रतिशत छ । यता, निर्जीवन लघुबीमा पनि उल्लेख्य रुपमा बढेको छ । समिक्षा अवधिमा यस्तो बीमा झन्डै २०० प्रतिशत बढेर १७ करोड रुपैयाँ कायम भएको छ ।

यस्तै, निर्जीवन बीमा ११.२३ प्रतिशत हिस्सा विविध बीमाको छ । विविध बीमा मार्फत ९ महिनामा कम्पनीहरुले कुल ३ अर्ब ३८ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् ।


प्रतिक्रिया दिनुहोस्