यस्तो छ अर्थ मन्त्रीले देखेको अर्थतन्त्र « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

यस्तो छ अर्थ मन्त्रीले देखेको अर्थतन्त्र



कोरोना महामारीका कारण अहिले एकातिर पर्यटन, यातायात क्षेत्रभित्रका व्यवसायहरु एकदमै अप्ठेरोमा छन् । क्याटेरिङदेखि पुष्प व्यवसायसम्म एकदमै अप्ठेरोमा परेका छन् । यस्ता थुप्रै व्यवसायको समस्या एकअर्कासँग जोडिएका छन् । परस्पर आश्रित व्यवसायबीचको सम्बन्ध अहिले टुटेको छ । जसले गर्दा सबैलाई अप्ठेरोमा पारेको छ ।

अर्कातिर आर्थिक तथा वित्तीय अनुशासनको दृष्टिकोणले हेर्यो भने पनि धेरै ठूलो संकट देखिन्छ । भर्खरै मैले सचिवज्यूहरुलाई बोलाएँ । बजेट खर्च किन भएन भनेर छलफल गरेँ । तर उहाँहरुले प्रश्नै प्रश्न गर्नुभयो । नीतिनिर्माणमा प्रश्न गर्नुभयो । सचिवज्यूहरुको प्रश्न नीतिनिर्माताप्रति छ । त्यसको जवाफ दिनु छ ।

बजेट छ, योजना छैन । योजना छ, बजेट छैन । यस्ता अनेकौं असामञ्जस्य छन् । राज्यको क्षमता, दरबन्दी, प्राविधिक कर्मचारीको संख्या हेर्ने हो भने त्यतितिर पनि समस्या नै समस्या छन् । एकै व्यक्तिले निकै धेरै योजना हेर्नुपर्ने बाध्यता छ । अर्कातिर हाम्रो ठेक्कापट्टा प्रणाली पनि त्यस्तै समस्या छ ।

निर्माण व्यवसायायिहरुले आफ्नो क्षमताभन्दा बढी आयोजनामा पनि बोलपत्र हाल्छन् । ज्यादै कम लागत प्रस्ताव गरेर पनि बोलपत्र हालिन्छ । कसको क्षमता कति हो, कसले कति काम पाउनु पर्ने हो भन्ने कुनै नीति छैन । यस्ता समस्याहरुको बीचमा हामी छौं । यही समस्यालाई समाधान नगरी अर्थतन्त्र अघि बढ्दैन ।

आर्थिक बृद्धिका आँकडाहरु सन्तोषप्रद छँदै छैनन् । हामी कहाँ जाने हो भन्ने स्पस्ट लक्ष्य निर्धारण हुन सकेको छैन । भएको आर्थिक बृद्धिमा पनि सरकारले गर्ने पूँजिगत खर्चको भूमिका त्यति ठूलो देखिँदैन । गत वर्ष पनि ६५ प्रतिशत हाराहारी पूँजीगत खर्च भएको छ । कर्जाको कुरा हेर्ने हो भने पनि ५ वर्षअघि १३ खर्ब भएको कर्जा अहिले ३७ खर्ब पुगिसकेको छ । यसको परिणामले पनि केही आर्थिक बृद्धि त भएको छ । तर यसको अपेक्षित विस्तारभन्दा कम छ । ठूलो बजेटमा सानो आकारको पूँजीगत बजेट भएकाले पनि त्यस्तो भएको हुनसक्छ ।

राज्य भनेको सहजिकरण गरिदिने अभिभावक हुनुपर्छ । तर अहिले हाम्रा आफ्नै संरचनागत जटिलताले झन अल्झाइदिने अवस्था छ । यसले लगानीका कुरादेखि धेरै विषयलाई समस्यामा पारेको छ । हुन त यो धेरै ठूलो मुद्दा छ । समग्र आर्थिक पुनर्संरचनासँग यो मुद्दा सम्बद्ध छ । तर पनि अहिले सम्भव भएका ठाउँबाट त्यसलाई सहज गराउने बाटो खोज्नुपर्छ ।

सिंहदरबार बाहिर जनताको ठूलो अपेक्षा छ, त्यो एउटा चूनौति छ । यहाँको भित्री समस्या अर्को छ, त्यो पनि अर्को चूनौति छ । यही चूनौतिको बीचमा मैले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको छु । यस्ता चूनौतिको बीचमा पनि सबैको साथ, सल्लाह र सहयोगबाट अघि बढ्नसक्छु भन्ने विस्वास लिएको छु ।

अहिलेको मुख्य समस्या भनेको समाजको तल्लो वर्गलाई कसरी सम्बोधन गर्ने भन्ने नै छ । चाहे ऋणको होस्, चाहे राहतको होस्, चाहे रोजगारीको होस् । उनीहरुलाई कसरी सहयोग गर्ने भन्ने नै हाम्रो मुख्य मार्गचित्र हो । यससँगै समग्र अर्थतन्त्रलाई अघि बढाउन अरु पाटालाई पनि सँगसँगै अघि बढाउनुपर्ने बाध्यता छ ।

हामीले अर्थतन्त्रको वास्तविक अवस्था कस्तो छ भनेर ‘यथार्थपत्र’ तयार पार्ने कुरा गरेका छौं । यसबाहेक बजेट अध्यादेश संसदमा दर्ता भइसकेको छ । संसदले यसलाई एक ढंगले टुंगो लगाउला । अध्यादेश टुंगिएपछि अर्थ मन्त्रालय अझ प्रभावकारी रुपमा काम अघि बढाउनसक्ने अवस्था आउने छ ।

हामी आर्थिक क्षेत्रको सहकार्य गर्ने एउटा परियोजना तयार पार्दै छौं । सरकारको संयन्त्रमात्रै मुलुकको विकासका लागि एउटै विकल्प हुन सक्दैन । अरु विकल्प पनि चाहिन्छ । त्यस्तै अरु विकल्प खोजि गर्ने एउटा परियोजना हामी बनाउँदै छौं । त्यसमा आर्थिक क्षेत्रका सबै पक्षको सहभागिता र सहकार्य हुने छ । यसले नीतिनिर्माणमा पनि सघाउ पुर्याउने छ भन्ने आशा छ ।

आज नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँगको भेटमा अर्थमन्त्रीले प्रस्तुत गरेको विचारको सम्पादित अंश ।


प्रतिक्रिया दिनुहोस्