सरकारकै अंगहरुबीच समन्वय भन्ने चीजको अभाव देखियो : मन्त्री झाँक्री « Arthapath.com
३ माघ २०७८, सोमबार

सरकारकै अंगहरुबीच समन्वय भन्ने चीजको अभाव देखियो : मन्त्री झाँक्री



काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारकै आन्तरिक संयन्त्र र आफ्नै मन्त्रालयमा पनि एक अर्को शाखा र महाशाखाबीच समन्वयको अभाव रहेको बताइन् । सोमबार सय दिने कार्यकालका उपलब्धि सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका नेत्री समेत रहेकी मन्त्री झाँक्रीले अहिले देशमा तीन तहको सरकार रहेको भन्दै तीन तहको सरकारको बीचमा समन्वय नभएकाले काम गर्न ठुलो समस्या हुने गरेकाले त्यसलाई हटाउन जरुरी रहेको बताएकी छिन् ।

सरकारकै अंगहरुबीचको समन्वय अभावले सरकारी काम गर्न समस्या हुने गरेको अनुभव सँगालेको छिन् । मन्त्री झाँक्रीले आफुले मन्त्रालय सम्हालेपछि पनि यस्ता धेरै समस्या झेल्नुपर्दा सोचेजति काम गर्न नसकेको बताइन् ।

‘नेपालको सन्दर्भमा हाम्रो सन्दर्भमा पनि समन्वय भन्ने चीजको अभाव देखियो । यो विषय गर्दा सजिलो काम हो’, मन्त्री झाँक्रीले भनिन्, ‘स्थानीय सरकार र सहरी विकास मन्त्रालय बीचको समन्वय, प्रदेश सरकार र सहरी विकास मन्त्रालयबीचको समन्वय र राज्यका अन्य विभिन्न अंग कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका बीचको समन्वय अभाव रहेको मैले पाएँ ।’

उनले आफूले सय दिनमा भौतिक काम भन्दा पनि पेपर वर्क बढी गरेको भन्दै सबै प्रदेश र स्थानीय तहसँग आगामी दिनमा समन्वय गरेर काम गर्ने बताइन् । साथै उनले नेपालको संघीयताको मोडल एकअर्कामा कोअपरेट गर्ने खालको रहेको पनि बताइन् ।

‘हाम्रो संघीयताको मोडल कोअपरेटिभ मोडल हो । एकले अर्काको बीचमा समन्वयको डिमान्ड गर्छ । यस्तो खालको संघीयताको अभ्यास गर्ने सन्दर्भमा केही कानुनी, केही परम्परागत र केही प्रविधिगत समस्याहरु पनि हुन्’, मन्त्री झाँक्रीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्