प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर « Arthapath.com
३ माघ २०७८, सोमबार

प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर



काठमाडौं । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरेका छन् ।

प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव ल्याएको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो ।

जसमध्ये जनकपुरमा दुई तिहाइ बहुमत मत प्रकट भएको हो । प्रस्ताव अनुसार अब प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम हुनेछ ।

स्थायी राजधानीको टुंगो लगाएसंगै प्रदेश सभाको बैठक एक घण्टाको लागि स्थगित भएको छ । प्रदेश सभा सचिवालयका अनुसार आजै प्रदेशको नाम सम्बन्धी प्रस्ताव अगाडि बढाउने तयारी छ ।

वीरगञ्ज पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्मको सीमाना र वीरगञ्ज महानगरपालिका भरीलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव पनि आएको थियो ।

दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो ।यसअघि ३ चैत २०७६ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन ।


प्रतिक्रिया दिनुहोस्