महासंघका पूर्व कोषाध्यक्ष लक्ष्मी दास मानन्धरको निधनप्रति दुःख व्यक्त « Arthapath.com
१७ माघ २०७८, सोमबार

महासंघका पूर्व कोषाध्यक्ष लक्ष्मी दास मानन्धरको निधनप्रति दुःख व्यक्त



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कोषाध्यक्ष लक्ष्मीदास मानन्धरको माघ ६ गते विहिबारका दिन भएको असामयीक निधनबाट निजी क्षेत्र चिन्तित भएको छ । उनको निधनबाट निजी क्षेत्रले अभिभावक गुमाएको महासंघले जनाएको छ ।

महासंघका सदस्य संस्था साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडका अध्यक्ष समेत रहेका उद्योगपति एवं समाजसेवी मानन्धर महासंघमा वि.सं. २०३५ सालदेखि करिव डेढ दशकसम्म निरन्तर रुपमा कार्यकारिणी समितिका सदस्य थिए ।

महासंघका पूर्व अध्यक्ष स्वर्गीय पशुपति गिरीको दोस्रो कार्यकाल वि.सं. २०४१ सालदेखि २०४३ सालमा उनी कोषाध्यक्ष पदमा निर्वाचित भई महासंघको संस्थागत तथा छवि विकासमा निभाउन उनको महत्वपूर्ण भूमिका तथा योगदानको महासंघले सधै स्मरण गरेको छ भने आगामी दिनहरुमा पनि स्मरण गरिरहने छ । पूर्व कोषाध्यक्ष स्वर्गीय मानन्धरले समस्त निजी क्षेत्र र मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान पुर्याएको सवैमा विदितै छ ।

महासंघको संस्थागत विकास र भौतिक पूर्वाधार निर्माणमा पनि उहांको अमुल्य योगदान रहेको थियो । समस्त उद्योगी व्यवसायीहरुको प्रिय पात्र तथा स्पष्ट वक्ताको रुपमा परिचित स्वर्गिय मानन्धर महासंघको प्रतिनिधित्व गरी विभिन्न देशहरुमा भएका व्यापारिक भ्रमणमा नेपालको आर्थिक औद्योगिक, व्यवसायिक, श्रम, व्यापारका विषयहरुमा सशक्त एवं बलियो आवाज राख्ने व्यक्तित्वको रुपमा परिचित थिए ।

देशको अर्थतन्त्र बलियो भए मात्र विकास सम्भव छ भन्ने मान्यता राख्ने पूर्व कोषाध्यक्ष स्वर्गीय मानन्धरले आफ्नो कार्यकालमा निर्वाह गरेको महत्वपूर्ण भूमिका, योगदानका साथै देशको उद्योग व्यवसाय तथा लगानीक्षेत्रको विस्तारमा निभाएको भूमिकालाई सम्पूर्ण निजी क्षेत्रले निरन्तर स्मरण गरिरहने छ ।

मानन्धरको निधनबाट समस्त निजी क्षेत्रलाई अपूरणीय क्षति पुग्न गएको छ । महासंघले आफ्ना अग्रज गुमाएको छ । दुःखको यस घडिमा महासंघ परिवार, सोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दछ ।

भर्चुअल माध्यमबाट सम्पन्न शोकसभामा महासंघका पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, कार्यकारिणी समितिका सदस्यहरु, स्वर्गीय मानन्धरका सुपुत्र नारायणदास मानन्धर, महासंघका महानिर्देशक सहित सचिवालयका कर्मचारीहरुको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्