प्रधानमन्त्री देउवाले निजी सचिवालयलाई पूर्णता दिँदै, को-को छन् ? « Arthapath.com
१९ माघ २०७८, बुधबार

प्रधानमन्त्री देउवाले निजी सचिवालयलाई पूर्णता दिँदै, को-को छन् ?



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी सचिवालयलाई पूर्णता दिने गरी गृहकार्य सुरु गरेका छन् । झण्डै ७ महिनापछि प्रधानमन्त्री देउवाले सचिवालय विस्तार गर्न लागेका हुन् । हालसम्म औपचारिक रूपमा प्रधानमन्त्रीको निजी सचिवालयले पूर्णता पाईसकेको छैन् ।

प्रधानमन्त्री देउवाले हालसम्म स्वकीय सचिवमा भानु देउवा, कानुनतर्फ केशवराज जोशी, जनसम्पर्कतर्फ जनार्दन नेपाल र स्वास्थ्य सल्लाहकारमा प्राध्यापक डाक्टर आरपी विच्छालाई मात्रै नियुक्ति दिएका छन् ।

प्रधानमन्त्री देउवाको सूचना, प्रविधि एवं सञ्चार विज्ञमा इन्जिनियर दिपेश विष्ट र प्रधानमन्त्री देउवाको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा किरण गजुरेल नियुक्त भएका छन् ।

अझै प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार नियुक्त हुन बाँकी छ । प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव तोकपछि निर्वाचन आचारसंहिता लाग्ने भएकाले त्यसअघि नै निजी सचिवालयलाई पूर्णता दिन लागेको बुझिएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्ने भएको छ ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा डा.प्रकाशशरण महत र रमेश लेखकको चर्चा छ । तर, कांग्रेस उच्च स्रोतले लेखकलाई पार्टी प्रवक्ता बनाउने तयारी भएकाले डा.महत नै प्रमुख राजनीतिक सल्लाहकार नियुक्त हुने स्रोत बताउँछ ।

परराष्ट्र सल्लाहकारमा डा.दिनेश भट्टराई नै पुनः दोहोर्याउने तयारीमा प्रधानमन्त्री देउवा रहेका छन् । उनी यसअघि सुशील कोइराला र देउवाको परराष्ट्र सल्लाहकार भइसकेका थिए । पत्रकार गेजा शर्मा वाग्लेले पनि परराष्ट्र सल्लाहकार बन्ने इच्छा व्यक्त गरेको बताइएको छ ।

हाल प्रधानमन्त्रीको प्रेसको काम पत्रकार गोविन्द परियारले गर्दै आएका छन् । अघिल्लोपटक परियार देउवाको सञ्चार विज्ञ नियुक्त भएका थिए । यसपटक उनले प्रेस सल्लाहकार बन्ने इच्छा राखेका छन् । प्रेस सल्लाहकारमा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको पनि चर्चा छ । यसपटक देउवा सिग्देललाई कुनै न कुनै भूमिका दिने मनस्थितिमा छन् । आर्थिक मामिला सल्लाहकारमा भने डा.पोषराज पाण्डेको नाम चर्चामा छ ।


प्रतिक्रिया दिनुहोस्