तीन दशकमा ठडिएको चन्द्र ढकालको साम्राज्य नयाँ पुस्ताका लागि किन छ बढी प्रेरणादायी ? « Arthapath.com
३० चैत्र २०७९, बिहीबार

तीन दशकमा ठडिएको चन्द्र ढकालको साम्राज्य नयाँ पुस्ताका लागि किन छ बढी प्रेरणादायी ?



काठमाडौं । गएको २५ पुुसमा ग्लोबल आईएमई र बैंक अफ काडमाण्डूको एकीकृत कारोबार शुभारम्भ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले चन्द्र ढकाललाई लक्षित गर्दै भनेका थिए, ‘बाग्लुङको ग्रामीण ठाउँबाट आएर व्यवसायमा मारेको फड्को मेरो राजनीतिक जीवनसँग तुलना गर्छु । गाउँको सामान्य कृषकबाट तपाइँको अहिलेको व्यावसायिक उचाई र मेरो राजनीतिक यात्रा उस्तैउस्तै हो ।’ उनै ढकाल आजबाट देशभरका निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष बनेका छन् ।

उनी भलै आजको दिनमा नेपालको निजी क्षेत्रमा छुटाउनै नहुने पात्र बनेका छन् । तर उनको व्यावसायिक इतिहास धेरै लामो छैन । आजभन्दा १० वर्षअघिमात्रै फर्केर हेर्ने हो भने पनि ढकाल एक सामान्य रेमिटेन्स व्यवसायी थिए । तर त्यसबखत उनीसँग रेमिटेन्सको कारोबारमा हुने अल्पकालिन तरलताले सिंगो निजी क्षेत्रमा उनको शाख उँचो बन्दै थियो । उनी ‘सेल्फ मेड’ व्यवसायी हुन् ।

हुन पनि २०५० सालतिर एउटा किराना पसलबाट सुरु गरेको व्यवसाय अहिले विशाल साम्राज्यमा बदलिएको छ । २०४५ देखि २०५० सम्म राष्ट्रिय बाणिज्य बैंकमा जागिर खाए पनि कर्मचारीलाई ऋण नदिएको झोंकमा जागिर छाडेर ब्यापारमा होमिएका थिए ढकाल । सहरमा चन्द्रजस्ता किराना पसले अनगिन्ति थिए । उनीहरुमध्ये हजारौं मानिसहरु अहिले पनि त्यही पसल उसैगरी चलाइरहेका छन् ।

तर चन्द्रको भाग्य र कर्म दुबैले उनलाई त्यहाँ टिक्न दिएन । २०५६ सालपछि माओवादी द्वन्द्वका कारण नेपालीहरु वैदेशिक रोजगारीमा जाने क्रम बढ्यो । उनीहरुलाई विदेशमा कमाएको पैसा नेपाल पठाउन असजिलो भएको गुनासो सुनिन थाल्यो । उँचो ब्यापारिक चेत भएका चन्द्रले त्यही समस्याका ब्यापारको सपना देखे । उनले विदेशबाट नेपालमा पैसा भित्र्याउने काममा सघाउन थाले ।

रेमिटेन्सको कारोबारमा लाग्नु अघि उनी व्यवसायमा त थिए, तर त्यसको खासै प्रभाव थिएन । उनले व्यवसायलाई जिविकोपार्जनमा मात्रै केन्द्रित गरेका थिए । तर नयाँ अवसरहरुको खोजि गर्ने चेत भएका उनले थुप्रै क्षेत्रमा हात हाले । रेमिटेन्सले भने उनको जीवन यात्रा नै मोडिदियो । २२ वर्षअघि मलेसियालाई आधार बनाएर रेमिटेन्सको कारोबार थालेपछि उनको व्यावसायिक यात्रा नयाँ चरणमा पुग्यो ।

२०२२ साल असार ९ गते बाग्लुङको अमलाचौरमा जन्मिएका ढकाल १६ वर्षमै टुहुरो भएका थिए । तर उनी त्यही कहालिलाग्दो विगतबाट उठेर अहिले मुलुकको वित्तीय क्षेत्रमा बादशाह बनेका छन् । पुँजी लगायत कयौं सूचकमा देशको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईका अध्यक्ष एवम् सबैभन्दा ठूलो सेयरधनि उनै छन् । बैंकमा त उनलाई ‘मर्जर म्यान’ भनेर पनि चिनिन्छ । राष्ट्र बैंकले मर्जर तथा एक्वीजिशन सम्बन्धि कानून ल्याएपछि सबैभन्दा धेरै संस्थालाई गाभेर आफ्नो बैंकको आकार बढाउनेमा उनी अब्बल बनेका छन् ।

अधिकतर समस्यामा रहेका वित्तीय संस्थाहरु किनेर तिनको सुधार गर्न ढकाल बढी उत्प्रेरित हुन्छन् । सस्तो भाउमा किनेर संस्थालाई राम्रो बनाउने उनको रणनीतिले स्वयंको सम्पत्तीमात्रै बढाएको छैन, खराब कम्पनीमा लगानी डुबाएर बसेका हजारौं अन्य लगानीकर्ताले पनि उनीबाट लाभ पाएका छन् ।

अहिले ढकालसँग दर्जनभन्दा बढी कम्पनीको स्वामित्व छ । बैंकपछि ठूलो सम्पत्ती आईएमई जनरल इन्स्योरेन्समा छ । नेपाल पुनर्बीमा कम्पनीमा पनि उनको उल्लेख्य लगानी छ । सरकारी संस्थानको रुपमा स्थापना भएर आंशिक निजीकरण भएको नेपाल इन्स्योरेन्स, ग्लोबल आईएमई लघुवित्त, आईएमई लाइफ इन्स्योरेन्स, नेपाल पुर्वाधार विकास बैंकदेखि आईएमई र आईएमई कोअपरेटिभजस्ता वित्तीय क्षेत्रका अनेक कम्पनी तथा फर्ममा उनको ठूलो स्वामित्व छ ।

चन्द्रागिरी हिल्स, डिसहोम, हाथ्वे इन्भेष्टमेण्ट, हिमालयन पावर पार्टनर, माउण्टेन इनर्जीजस्ता गैरवित्तीय क्षेत्रमा पनि उनको स्वामित्व छ । अहिले काठमाडौं र पोखरामा तीव्र रुपमा आउटलेट विस्तार गरिरहेको माईमार्टमा पनि उनको लगानी छ । देशभित्रका कयौं नवउद्यमीदेखि मिडियासम्ममा ढकालले लगानी गरेका छन् ।

उनको ब्यावसायिक साम्रज्य नेपालभित्रमात्रै छैन । उनले संसारभर आफ्नो सञ्जाल फैलाएका छन् । अस्ट्रेलियामा पुगेर बैंकको प्रतिनिधी कार्यालय राखेका छन् । मलेसियादेखि बेलायतसम्मै उनका स्वामित्वका कम्पनी रहेको बताइन्छ । भलै, विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने कानूनी व्यवस्थाका कारण विनोद चौधरीले जसरी ढकालले आफ्नो वैदेशिक स्वामित्वबारे खुलेर बताएका छैनन् ।

तीन वर्षपछि महासंघको नेतृत्वबाट बाहिरिँदा विनोद चौधरीजस्तै अमेरिकी पत्रिका फोब्र्सको डलर अर्बपतिहरुको सूचीमा आफ्नो पनि नाम चढोस् भन्नेमा ढकाल आशाबादी छन् ।

ढकालमा निकटवर्तीहरु अबको तीन वर्षपछि महासंघको नेतृत्वबाट बाहिरिँदा विनोद चौधरीजस्तै अमेरिकी पत्रिका फोब्र्सको डलर अर्बपतिहरुको सूचीमा आफ्नो पनि नाम चढोस् भन्नेमा ढकाल आशाबादी छन् । यसका लागि उनलाई देश बाहिर पनि सम्पत्ती देखाउनु पर्ने हुनसक्छ । यसरी विदेशमा सम्पत्ती देखाउन ढकालका दाजुभाइ नभएर उनीहरुको दोस्रो पुस्ताले काम गरिरहेको छ । गैर आवासीय नेपालीले विदेशमा लगानी गर्न पाउने भएकाले त्यसतर्फ पनि विस्तारै काम गरिरहेका ढकालले अहिले नेपालमा पनि लगानी विस्तार गरिरहेका छन् ।

वित्तीय बजारमा छिरेको दुई दशकमा देशकै प्रमुख ब्यवसायिक घरानामध्ये एकको रुपमा आफ्नो परिवारलाई स्थापित गर्न सफल भएका ढकालले महासंघको नेतृत्व लिन पुगेका छन् । विनोद चौधरीपछि पहिलो पटक बैंकसँग बढी स्वार्थ जोडिएको भनेर चिनिएका ब्यवसायी महासंघको नेतृत्वमा पुगेका छन् । यसअघि नेतृत्वमा पुग्न बैंकको विरोध गर्दै आएका महासंघका कयौं पदाधिकारीलाई उनले साथ लिएर हिँड्नु पर्ने छ ।

विवाद रहित रहेनन्

नेपालमा कुनै पनि ठूला ब्यापारी छैनन्, जो कहिल्यै विबादमा नतानिएका हुन् । ढकालमाथि पनि यस्ता अनेक आरोप छन् । उनका कार्यशैलीलाई लिएर, उनका साझेदारीलाई लिएर, उनका लगानीलाई लिएर, अनेक विबाद र प्रश्नहरु छन् । भलै ती प्रश्नका सान्दर्भिकता र आधारहरु कत्तिको बलियो छ भनेर हेक्का नगरिएको होस् ।

उनले राज्य संयन्त्रमा रहेका उच्च निजामति कर्मचारी र सेनाजस्ता बलिया संगठनको प्रयोग गरेर नाजायज फाइदा लिएको आरोप लगाउनेहरु पनि छन् । उनको पुस्ताका बाग्लुङका धेरै मानिस जापान पुगेकाले उनीहरुको साथ र सहयोग लिएर व्यवसायमा उठेको देख्नेहरु पनि छन् । आफ्ना सहयोगी कर्मचारी र साझेदारलाई अनुचित प्रयोग अर्थात् ‘युज एण्ड थ्रो’ गर्ने गरेको भनेर उनीप्रति गुनासो गर्ने धेरै भेटिन्छन् । कतिले त उनलाई पहाडी राष्ट्रबादको फाइदा लिएका र मिडियालाई गलत प्रयोग गरेको भन्नेहरु पनि छन् ।

अझ गम्भीर कुरा त, कतिपयले चन्द्र ढकालको रेमिटेन्स यात्रालाई माओवादी सशस्त्र द्वन्द्व र यसको उच्च नेतृत्व अर्थात् स्वयम् प्रचण्डसँगको सम्बन्धसँग पनि जोडेर हेर्ने गरेका छन् । उनीहरुलाई लाग्छ, माओबादीले नेपालमा बैंक लुट्ने र चन्दा उठाउने गरेर कमाएको पैसाको एक हिस्सा चन्द्रले रेमिटेन्स भुक्तानीमा प्रयोग गरे र विदेशमा विदेशी मुद्रा लिएर उतै राखिदिए । अहिलेको भाषामा हुण्डीको कारोबारमा चन्द्र संलग्न भए भन्ने आरोप लागे पनि यसको न त कुनै ठोस प्रमाण कसैले पुष्टि गर्न सकेको छ, न यो छबि उनले देखाएका छन् ।

बरु चन्द्र ढकालले कि त नेवार, कि मारबाडीको दुई साम्प्रदायिक ब्यापार चक्रमा छिरेर पहाडियाहरु पनि ब्यापार व्यवसायमा स्थापित हुनसक्छन् भन्ने उदाहरण पेश गरेका छन् । कयौं नेवार र मारबाडी समुदायले पारिवारिक ब्यापारमा रमाइरहेका बेला ढकालले आफ्ना कम्पनीहरुलाई सकेसम्म धेरै पब्लिक लिमिटेडका रुपमा ठड्याएका छन् ।

यसले देशका अन्य व्यवसायीभन्दा ढकाल बढी पारदर्शि छन् भन्ने दृष्टान्त स्थापित गरेको छ । यी उदाहरणले अपारदर्शी र गैरकानूनी कारोबार गरेको भनेर उनीमाथि आरोप थोपर्ने धेरै मान्छेलाई ‘कामले जवाफ फर्काएको’ मात्रै छैन, उनलाई फोब्र्सको (डलर) अर्बपति सूचीमा छिर्ने यथेष्ट आधारहरु पनि तयार गर्दै लगेको छ । जस्तोसुकै अवस्थामा पनि समन्वय गर्न र नेतादेखि प्रशासनसम्म, साथीदेखि कर्मचारीसम्म सबैलाई मिलाएर अघि बढ्न सिपालु देखिएका ढकालले महासंघलाई कुन स्तरमा पुर्याउँछन् भनेर हेर्न चाहीँ बाँकी नै छ ।


प्रतिक्रिया दिनुहोस्