बक्यौता असुलमा समस्या आइरहने हो भने हाइड्रोपावरमा आउने लगानी समाप्त हुन्छ : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीले ट्रंक तथा डेडिकेटेड फिडरको बक्यौता असुल नहुँदा बिजुलीको महसुल संकलन घट्दै गएको बताएका छन् । ठुला उद्योगीसँग पैसा नलिने, सर्वसाधारणसँग उठाउने गरेको भन्दै सर्वसाधारणले पनि बिल तिर्न छोडेको उनले बताए ।
‘यसले प्राधिकरणको आर्थिक अवस्थालाई ठूलो धक्का देखिएको छ । यो ८ अर्ब २२ अर्बको भन्दा पनि प्राधिकरणमा ठूला उद्योगीहरूको बक्यौता नउठाउने र उठाउन नसक्ने ठूला औद्योगिक घरानाको लाइन जोड्दै जाने र हाम्रो चाहिँ एक हजार तिर्न नसक्दा पनि लाइन काटिने ? भन्ने अवस्था सिर्जना भएको छ । (वर्षमा कारोबा २ लाख लाइन काट्छौं ।) यसले सबै ठाउँको संकलन घट्दै गइरहेको छ । यसले प्राधिकरणको वित्तीय अवस्था नाजुक बन्न सक्ने सम्भावना देखिन्छ’ उनले भने ।
यसले भविष्यमा नगदप्रवाहमा समस्या आउने समेत उनको जिकिर छ । सरकारले प्राधिकरणलाई दिँदै आएको बजेटमा पनि संकुचन हुँदै आएको उनले सुनाए । ३० अर्बको हाराहारीमा आउने बजेट अहिले ३/४ अर्बमा खुम्चिएको उनले बताए । प्राधिकरणले आफ्नो वित्तीय अवस्था राम्रो बनाउन सकेन भने समस्या आउने उनको भनाइ छ ।
‘प्राप्त गर्नुपर्ने रकम बढ्दै जाँदा यसले ठूलो समस्या पार्छ’ उनले भने । विद्युत प्राधिकरणले आईपीपीहरूलाई पावर पर्चेजको तिर्न सकेनौ, त्यसको डिफल्ट भयो भने अर्थतन्त्रमा ठूलो असर पार्छ ।
यस्तो खालका समस्याले हाइड्रोपावरमा लगानी समाप्त हुने उनको भनाइ छ । ‘यस्ता किसिमका समस्याले प्राइभेट बैंकहरूलाई तिर्नुपर्ने सबै ऋण डिफल्टर हुनेछन् । सबै प्रोजेक्टहरू अईपीपीहरू, जति पनि हाइड्रोपावर प्रोजेक्ट छन् आम सर्वसाधारणको लगानी छ । आम सर्वसाधारणको लगानी डुब्ने अवस्थामा जानेछ । त्यतिमात्र होइन यसले लगानीको वातावारण खत्तम हुनेछ’ उनले भने । प्राधिकरणको वित्तीय अवस्था बिग्रिएमा यसको प्रभाव सबै क्षेत्रमा पर्ने उनले बताए ।












