मन्त्रिपरिषद् विस्तारमा गठबन्धनमा विवाद शुरु, उपेन्द्र यादवभन्दा माधव नेपाल हावी बन्न खोजे « Arthapath.com
१५ भाद्र २०७८, मंगलवार

मन्त्रिपरिषद् विस्तारमा गठबन्धनमा विवाद शुरु, उपेन्द्र यादवभन्दा माधव नेपाल हावी बन्न खोजे



काठमाडौं । नयाँ सरकार गठन भएको २ महिना पग्न थालेको छ । तर सरकारले पूर्णता पाउन सकेको छैन् । असार २९ गते प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बनेको थियो । तर विभिन्न कारण देखाउँदै मन्त्रीपरिषद् विस्तार गर्न ढिलाई भईरहेको छ ।

सरकार विस्तार गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । मन्त्रीपरिषद विस्तार गर्न नसक्दा आलोचना खेपिरहेका प्रधानमन्त्री शेर बहादुर देउवा अब भने सक्रिय बनेका छन् । नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषद विस्तारको तयारी थालिएको हो । नेपाली कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादीको तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल रहेका छन् भने उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।

सरकारलाई पूर्णता दिन मंगलबार गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रालयको भागवन्डा मिलाउन र सरकार संचालनका विषयमा छलफल भएको थियो । मंगलबार विहान बसेको बैठकमा मन्त्रालयको भागबन्डाको बिषयमा कुरा मिल्न नसकेको वालुवाटार स्रोतले जनाएको छ । विशेषगरी कुन मन्त्रालय कसले लिने भन्ने विषयमा समझदारी बन्न नसकेको बताईएको छ ।

एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई दिने सहमति भएको छ । तर कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा कुरा मिल्न सकेको छैन् । काँग्रेसले प्रधानमन्त्रीसहित ५ मन्त्रालय मात्रै पाउने छ । माओवादी, एकीकृत समाजवादी र जसपाले ५ मन्त्री र एक–एक राज्यमन्त्री पाउनेछन् ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतको सहभागी रहेको थियो । नेता नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने माग गरेको छ । तर यस कुरामा जसपाका अध्यक्ष यादवले शक्ति सन्तुलनको हिसाबले दुवै मन्त्रालय माग गर्न नमिल्ने बताए । नेपालले भौतिक र उद्योगमध्ये एक मात्रै मन्त्रालय र बाँकी अन्य मन्त्रालय दिनुपर्ने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्