लाइसेन्समा नयाँ नियमः असोजदेखि ट्रायलमा ७० अंक ल्याए पास « Arthapath.com
२६ भाद्र २०७९, आईतवार

लाइसेन्समा नयाँ नियमः असोजदेखि ट्रायलमा ७० अंक ल्याए पास



काठमाडौं । बागमती प्रदेशले असोजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) परिक्षमा नयाँ नियम लागू गर्ने भएको छ । १ गते असोजदेखि नयाँ नियम लागू हुने गरि निर्देशिका तयार पारिहेको श्रम तथा यातायत मन्त्रालय बागमती प्रदेशका प्रवक्ता हरिहर पोख्रेलले बताए ।

प्रवक्ता पोखरेलका अनुसार ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ बमोजिम लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्ने तयारी रहेको छ । यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था२०७८ जेठदेखि ल्याएको थियो ।तर यस्तो व्यवस्था सबै प्रदेश सरकारले लागू गर्न सकेका छैनन् । यहि निर्देशिकामा भएको व्यवस्थालाई बागमति प्रदेशले कार्यान्वयन गर्न लागेको हो । कानुन स्पष्ट नहुँदा लामो समयसम्म अलमल भएको प्रदेश मन्त्रालयहरूले बताएका थिए ।

नयाँ प्रणाली अनुसार निर्देशिकामा वर्ग ’क’ (ए) मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ’ख’ (बी) कार, जिप, डेलिभरी भ्यानको लाइसेन्स लिने सहज व्यवस्था गरिएको छ । निर्देशिकाको दफा ५ (२) बमोजिम वर्ग (क/ट), (ए/के) र वर्ग ’ख’ (बी)का लागि लिइने लिखित परीक्षाका लागि ५००/५०० वटा प्रश्नको दुइटा प्रश्न संग्रहसमेत विभागले सार्वजनिक गरेको छ । यो व्यवस्थाअनुसार लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यावहारिक ज्ञानका विषय समेटी १०० पूर्णांकको प्रश्न सोधिनेछ । यसमा चार/चार अंकका २५ वटा वस्तुगत उत्तर दिने प्रश्न हुन्छन।

लिखित परीक्षाको अवधि ३० मिनेटको हुनेछ । सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाट समेत लिखित परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था छ । निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन् ।ट्रायलका लागि प्रयोग हुने मोटरसाइकल–स्कुटर पेट्रोलबाट चल्ने र कार, जिप, भ्यानहरू पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्नेछ। त्यस्तै सबै सवारी दर्ता प्रमाणपत्र अद्यावधिक भएको वा बहाल अवधि बाँकी रहेको तथा तेस्रो पक्ष बीमा भएको हुनुपर्नेछ।

प्रयोगात्मक परीक्षा १०० पूर्णांकको हुनेछ । घुमाउरो आठ–२० अंक । साँघुरो फलेक–१० अंक, युटर्न–१० अंक,ट्राफिक संकेत–१५ अंक, बम्प्स (उबडखाबड)–१५ अंक, उकालो–२० अंक ,परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकन–१० अंक ।

Tags :

प्रतिक्रिया दिनुहोस्