नेपाल लगानीका लागि उपयुक्त गन्तव्य : प्रधानमन्त्री « Arthapath.com
१६ बैशाख २०८१, आईतवार

नेपाल लगानीका लागि उपयुक्त गन्तव्य : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन आह्वान गरेका छन् ।  ‘नेपाल लगानी सम्मेलन-२०२४’को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताएका हुन् ।

नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको उनले बताए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानून परिमार्जन गरेको जानकारी गराए ।

नेपालमा शान्ति र स्थायित्व कायम भइ आर्थिक विकास र समृद्धिको लागि अनुकूल वातावरण सिर्जना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको स्पष्ट पारे ।

उनले मित्र राष्ट्रहरूलाई द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गर्न आह्वान गरे । नेपालले अबलम्बन गरेका उदार नीतिहरूले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको विश्वास छ । उनले नेपालमा भएका दक्ष जनशक्ति र कम श्रम लागत पनि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि आकर्षण हुने बताए ।

नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म ३ हजार २०० मेगावाट मात्रै उत्पादन भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले करिब ५ हजार ५६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत निर्माण वा कार्यान्वयनको चरणमा रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले विद्युत् व्यापार सहज तुल्याउन भारतसँग भएको विद्युत् व्यापार सम्झौता, चीनसँग भएको सहकार्यका र समझदारी एवं बङ्गलादेशसँग भएको विद्युत् निर्यातको समझदारीले लगानीका लागि पर्याप्त पूर्वाधार तयार भएको बताए ।

उनले भने, “यसले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरू स्पष्ट रूपमा देखाउँछ । भारत र चीन जोड्ने निर्माणाधिन अन्तरदेशीय प्रसारण लाइनले यस क्षेत्रभित्र ऊर्जा आदानप्रदानलाई सहज बनाउँछ ।”  

प्रधानमन्त्री प्रचण्डले तयारी पोशाक र नेपाली गलैंचा पनि विश्व बजारमा निकासी हुने र गुणस्तरका लागि प्रख्यात भएको उल्लेख गर्दै यस क्षेत्रमा पनि लगानीको प्रचुर सम्भावना रहेको बताए ।

नेपालमा दुई विशेष आर्थिक क्षेत्र सञ्चालनमा आएका र देशका अन्य स्थानमा त्यस्ता आर्थिक क्षेत्र विकास हुने चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता क्षेत्रले आर्थिक वृद्धि र औद्योगिक विकासमा बल पुर्‍याउने विश्वास व्यक्त गरे । उनले भने, “नेपालमा हाल दश औद्योगिक जिल्लाहरू रहेका छन्, थप छ वटा विकास गर्ने योजना छ, यसले लगानीका लागि आवश्यक पूर्वाधार र सेवाको पहुँच सुनिश्चित गर्दछ ।”

वैदेशिक लगानीमा सञ्चालन भएका विभिन्न कम्पनीको हकमा नेपालमा लगानी नाफामुखी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “ती कम्पनीहरूको लाभांश फिर्ताको अवस्था अकर्षक छ, जसले नेपालमा लगानीको उपयुक्त वातावरण छ भन्ने देखाउँछ ।” 

सम्मेलनमा प्रस्तुत परियोजनाहरूले नेपाल र सम्भावित लगानीकर्ताहरू दुवैलाई फाइदा पुग्ने ठोस नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्दै प्रधानमनत्री प्रचण्डले आगामी दशकमा दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य पूरा हुने बताए । उनले सबैको सहकार्यबाट नेपाल आर्थिक रुपान्तरण र समृद्धिको दिशामा अघि बढ्ने आशा व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्