राष्ट्रपतिमा रस्साकस्सीः राष्ट्रिय राजनीतिमा फेरबदलको खतरासँगै कसको सम्भावना कति ? « Arthapath.com
१२ फाल्गुन २०७९, शुक्रबार

राष्ट्रपतिमा रस्साकस्सीः राष्ट्रिय राजनीतिमा फेरबदलको खतरासँगै कसको सम्भावना कति ?



काठमाण्डौं । केहिदिन यता राष्ट्रपति कुन दलले पाउने र को हुने ? भन्ने बहसले यतिबेला मुलुकको राजनीति बेस्सरी तातेको छ । शनिबार राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ । मनोनयनको समय नजिकिएसँगै गठबन्धन सरकारमा रहेका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र प्रतिपक्षी नेपाली काँग्रेस र नेकपा (एकिकृत समाजवादी) लगायतका मुख्य राजनीतिक दलहरुबीच राष्ट्रपति पद आ–आफ्नो पक्षमा कसरी पार्ने भन्नेमा रस्साकस्सी चलिरहेको छ । उता उपराष्ट्रपतिमा भने शुक्रवार बालुवाटारमा बसेको काँग्रेससहितको चार दलको बैठकको छलफलबाट जसपाले पाउने पक्कापक्की जस्तै छ ।

राष्ट्रपतिको टुङ्गो लगाउन दलहरुबीचको धेरैदिन अघिदेखि नै छुट्टाछुट्टै बैठक र दौडधुप बाक्लिएको छ तर, कुनै निष्कर्ष भने निस्किएको छैन । हिजो साँझ बसेको दलहरुको बैठकले ठोस निष्कर्ष दिन नसकेपछि बालुवाटारमा आज बिहान कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरूबीच तीन घन्टासम्म चलेको बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल भएको थियो । यसपछि आजै साँझ ५ बजे पछिको बैठकले चारदलबीचमा राष्ट्रपति उम्मेदवार टुंग्याउने र त्यसपछि अरू दलसँग छलफल गर्ने निर्णय गरेको छ । छलफलमा सहभागी कांग्रेसका महामन्त्री गगन थापाले आज अपराह्न ५ बजे राष्ट्रपति उम्मेदवार तय गरिने बताए ।

बालुवाटारको बैठकमा कांग्रेस र समाजवादीको दाबी

आज बिहानसम्मको छलफलमा राष्ट्रपतिमा कांग्रेस र एकीकृत समाजवादीले दाबी गरिरहेका छन् । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने सहमतिसहित कांग्रेसलाई राष्ट्रपति दिनेबारे दलहरूले छलफल चलाएको बुझिएको छ भने सहमतिनजिक रहेको स्रोतको भनाइ छ । संसदमा सबैभन्दा ठूलो दल आफूहरू भएकोले राष्ट्रपति पाउनुपर्ने अडानमा नेपाली कांग्रेसका नेताहरू छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतबीच छलफल चलेको थियो । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बालुवाटारको छलफलमा सहभागी थिए ।

उपराष्ट्रपतिमा भने जसपाले दाबी गरेको छ । दलहरू जसपालाई उपराष्ट्रपति दिन सकारात्मक देखिएका छन् । जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, राष्ट्रिय जनमोर्चालगायत दलका शीर्ष नेताहरूसँग चार दलका शीर्ष नेताहरूले संयुक्त छलफल गर्ने तयारी रहेको कांग्रेसका एक नेताले जानकारी दिए ।

समाजवादीको पनि अडान कायमै, माधव नेपालको पनि राष्ट्रपतिमा सम्भावना

स्रोतका अनुसार एकीकृत समाजवादीले राष्ट्रपतिको अडान छोडेको छैन । आफ्ना अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनु पर्ने एकीकृत समाजवादीको अडान जिवितै छ । एकीकृत समाजवादीको अडानमा जसपाले साथ दिएको छ भने माओवादीले चारै दलको सहमतिमा निर्णय गर्नुपर्ने बताएको छ ।

आजको बैठकमा कांग्रेस नेताहरूले राष्ट्रपति आफूले पाउनु पर्ने र एक कार्यकाल प्रधानमन्त्री माधव नेपाललाई बनाउन सकिने प्रस्ताव गरेका थिए । यसमा समाजवादी सहमत हुनसक्ने सम्भावना धेरै छ । यसमा यसअघि नै एमालेले पनि नेपाललाई बनाउन सकिनेगगरी विकल्प दिइसकेको छ । तर, नेपालले भने हिजोको नेकपा ब्युँताउने सर्तमा मात्रै आफू राष्ट्रपति हुने सन्देश एमाले उपाध्यक्ष इशवर पोखरेलमार्फत् अध्यक्ष ओलीलाई पठाएका थिए भने यता प्रधानमन्त्री प्रचण्डलाई आफू पदलोलुप जस्तो देखिनेगरी राष्ट्रपति नबन्ने भेटमा सुनाएका थिए ।

राष्ट्रपति एजेण्डासँगै समाजवादी केन्द्रको तयारी

राष्ट्रपतिय चुनावको मेसोमै माओवादी, जसपा र एकीकृत समाजवादीले समाजवादी केन्द्र बनाउने तयारी समेत थालेका छन् । जसअनुसार एमालेलाई ठगबन्धनमा निरन्तरता दिने या नदिने र राष्ट्रपति उसलाई दिने वा नदिने विषय समाजवादीसँगको सहमतिभन्दा बाहिर गएर नगर्नेमा स्वयं प्रधानमन्त्री प्रचण्डसमेत प्रष्ट छन् । समाजवादीलाई सँगै नलिँदा यसबाट समाजवादी केन्द्र निर्माण गर्ने योजना भत्किनसक्छ ।

त्यसैले एमालेसहितको गठबन्धनमा नभएको एकिकृत समाजवादीका लागि माओवादीलाई त्यसबाट अलग गराएर चुनावअघिकै गठबन्धनतिर फर्काउने प्रमुख मुद्दा बनेको छ । जसले गर्दा राष्ट्रपति र समाजवादी केन्द्रको सपना यी दुवै विषयले प्रधानमन्त्री प्रचण्डलाई एमालेबाट अलग हुनपनि दबाब परेको छ । यसकारण सरकारमा सहभागि नभएको तर, समाजवादी केन्द्रमा रहने एउटा प्रमुख राजनीतिक शक्ति जसपालाई पनि सँगै मिलाएर जानुपर्ने बाध्यताबीच उसलाई उपराष्ट्रपति दिन एकिकृत समाजवादीसहित स्वयं प्रधानमन्त्री पनि सहमत छन् ।

राष्ट्रपतिको मुद्दासँगै समाजवादी केन्द्रबारे बिहीबार यी तिनै दलले छलफल गरेका थिए । सबैले आफूहरूका एजेन्डा एउटै भएकाले स्वार्थ पनि एउटै हुनु पर्ने निष्कर्ष निकालेका थिए । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकीकरणका सम्बन्धमा पनि छलफल चलिरहेको छ । माओवादी केन्द्रले वाम शक्तिको एकताका लागि पहल गर्दै गर्दा एकीकृत समाजवादी र जसपाले निरन्तर रूपमा आन्तरिक छलफललाई अगाडि बढाएका छन् ।

चुनावअघिको गठबन्धन ब्युँतिदै
यहिबीचमा कांग्रेससहित दलहरूले चुनावको बेलाको गठबन्धन ब्युँताउन खोजेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) मंसिर ४ को चुनावअघिको गठबन्धन ब्युँताउन सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको चार दलका बैठकमा शीर्ष नेताहरू गठबन्धन ब्युँताउन सहमत भएका हुन् ।

सरकारको नेतृत्व गर्ने मुखैमा आएको अवसर गुमाएर बसेको काँग्रेसका लागि माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री दिन आनाकानी गर्दा केन्द्रसहित सातै प्रदेशमा नेतृत्व र प्रतिनिधित्व गर्नबाट बञ्चित भएको थियो । उसलाई सत्ताबिमुख हुनुपर्दा एमालेसँगको गठबन्धन कसरी भत्काउने भन्ने टाउको दुखाईको विषय बन्दै आएको थियो । काँग्रेस नेता रामचन्द्र पौडेलको शब्दमा ‘हाइज्याक भएको सरकारलाई फिर्ता ल्याउने रणनीतिका रुपमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर आफूबाट अलग्गिगएका उनलाई फकाउने बाटो अख्तियार गरेको थियो । त्यसबेला संसदमा प्रधानमन्त्रीका लागि विश्वासको मत माग्दै एमाले अध्यक्ष ओलीले काँग्रेसले सुनुयोजित रुपमा ‘ढोक्सा थापेका हो भने त्यसमा माछा नपर्ने र रित्तोहात हुने टिप्पणी गरेका थिए । यदी अहिलेको गठबन्धन भत्किएमा ओलीले त्यतिबेला गरेको भविष्यवाणी सही सावित हुनेछ ।

आजको बैठकमा चुनाव अघिको गठबन्धन ब्युँताउने निष्कर्षमा आफूहरू पुगेको एकीकृत समाजवादीका नेता घनश्याम भुसालले बताए । गठबन्धनमा रहेका दलहरूले आन्तरिक, दुई पक्षीय र त्रिपक्षीय छलफल गरेर निर्णय लिने निष्कर्ष निकालेका छन् ।

एमालेले डाक्यो सचिवालय बैठक
राष्ट्रपति निर्वाचनको मनोनयन नजिकिएसँगै यही बीचमा नेकपा एमालेले पनि सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए । उनकाअनुसार शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्नेछ ।

राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोज्ने बताइरहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार कांग्रेससहित दलहरूसँग र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरी कुराकानी गर्ने तयारी गरेका छन् । यसअघि माओवादी केन्द्रका प्रचण्डलाई प्रधानमन्त्रीमा साथ दिएको एमालेले राष्ट्रपतिमा आफूले पाउनेगरी सत्तागठबन्धनमा समझदारी गरेको थियो ।
यता एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सत्ता गठबन्धनमा आफ्नो दलबाट राष्ट्रपतिका लागि सहमति हुन नसेकेमा अन्य दलबाट विभिन्न नेताहरुको नाम विकल्पको रुपमा अघि सारेका छन् ।

जसमध्ये एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका नेता तथा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनलाई बनाउन सकिनेगरी प्रस्ताव अघि सारेका छन् । सहमतिविपरित अहिले आएर माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिसहितको व्यक्तिलाई अघि सार्नुपर्ने भन्दै हिजो सरकार गठन गर्दाबखतको प्रतिवद्धताबाट पन्छिन खोजेकोमा एमाले रुष्ट बनेको छ । यद्यपी, राष्ट्रपति पद आफ्नो पक्षमा पार्न माओवादीसहितका दलहरुसँग निरन्तर वार्ता र छलफल भने जारी राखेको छ ।

कांग्रेसले शनिबार नै राष्ट्रपति उम्मेदवार तय गर्ने, पौडेल र सिटौलामध्ये एकको सम्भावना
नेपाली कांग्रेसले दलहरूसँग छलफल गरेपछि मात्रै राष्ट्रपति उम्मेदवार तय गर्ने भएको छ । कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन शनिबार मात्रै राष्ट्रपति उम्मेदवार तय गर्ने गरी तयारी गरिरहेको हो । कांग्रेसले नेकपा माओवादीसहित पुरानो गठबन्धनलाई ब्युँताएर राष्ट्रपति लिन खोजिरहेको छ । दलहरूसँग सहमति गरेपछि मात्रै राष्ट्रपति उम्मेदवार तय गर्ने तयारीमा कांग्रेस छ ।

राष्ट्रपति उम्मेदवार कसलाई बनाउने भन्नेबारे केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल गरी निर्णय लिइने नेताहरूले बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रपति उम्मेदवार हुन खोजेका छन् । यी दुईमध्ये एक जनालाई उम्मेदवार बनाउने कांग्रेसको तयारी छ ।

एक पदाधिकारीले दिएको जानकारीअनुसार शुक्रबार साँझसम्मा चुनावका बेलाका गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेपछि मात्रै पार्टीले राष्ट्रपति उम्मेदवार तय गर्नेछ । ‘हामीले चुनावका बेलाका गठबन्धनमा रहेका दलहरूसँग छलफल गर्छौं। त्यसपछि मात्रै पार्टीको बैठक बसेर राष्ट्रपति उम्मेदवार तय गरिन्छ,’ ती पदाधिकारीले भने, ‘केन्द्रीय कार्यसम्पादन समिति बैठक शनिबार बिहान ८ः३० बजे सानेपामा बस्छ ।’

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय यसअघि नै गरिसकेको थियो । सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न पार्टीका शीर्ष नेताहरूसँग पनि बारम्बार भेटवार्ता गर्दै संसदको सबैभन्दा ठूलो दल कांग्रेस भएकोले राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरिरहेका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्