साना व्यवसायीको पक्षमा राष्ट्र बैंकः २ करोडसम्मको कर्जामा ‘सहुलियत’ « Arthapath.com
१३ फाल्गुन २०७९, शनिबार

साना व्यवसायीको पक्षमा राष्ट्र बैंकः २ करोडसम्मको कर्जामा ‘सहुलियत’



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट २ करोडसम्मको ऋण लिएका व्यवसायीको कर्जामा सहजीकरण गरिदिने नीति ल्याएको छ । जसअनुसार अब साना तथा मझौला व्यवसायीले सहुलियत पाएका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ल्याएको प्रावधान कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंककाअनुसार २ करोडसम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी एक पटकका लागि कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सकिने भएको छ । त्यसक्रममा ऋणीले बुझाउनु पर्ने ब्याजको १० प्रतिशत रकम भने असुल उपर गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो जानकारी गराएको हो । यस्तो पुनर्तालिकीकरण र पुनर्संरचना २०८० असार मसान्त भित्र गरिसक्नु पर्ने भएको छ । यसरी पुनर्तालिकीकरण र पुनर्संरचना गर्दा २०७९ पुस मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको हुनुपर्ने समेत राष्ट्र बैंकले शर्त तोकेको छ ।

पुनर्तालिकीकरण र पुनर्संरचना गरिएका कर्जालाई असल वर्गमा वर्गीकरण गरी १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न समेत राष्ट्र बैंकले शर्त राखेको छ । स्पष्ट आधारविना पुनर्तालिकीकरण र पुनर्संरचना गरिएको पाइएमा भने कर्जा नोक्सानीको व्यवस्था कायम गर्नुपर्ने समेत तोकिएको शर्तमा उल्लेख छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्