विद्युतीय सवारीमय ‘नाडा अटो शो २०२३’: कुन-कुन हुन् प्रदर्शनी र प्रतिस्पर्धामा रहेका गाडीहरु ? « Arthapath.com
२६ भाद्र २०८०, मंगलवार

विद्युतीय सवारीमय ‘नाडा अटो शो २०२३’: कुन-कुन हुन् प्रदर्शनी र प्रतिस्पर्धामा रहेका गाडीहरु ?



काठमाडौं । करिब तीन वर्षपछि नाडा अटो शो २०२३ मङ्गलवारदेखि सुरु भएको छ । सन् २०१९ पछि पहिलो पटक नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नेपाल) नाडाले उक्त शो आयोजना गरेको हो । 

मङ्गलवार अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त शोको औपचारिक उद्घाटन गरे । भदौ ३१ गतेसम्म अर्थात् ६ दिनसम्म सञ्चालन हुनेछ । 

उक्त प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुजाका साथै राष्ट्रिय ब्रान्डका नदी सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूले सहभागिता जनाएका छन् । 

प्रदर्शनीमा १६ वटा ब्रान्डका चार पाङ्ग्रे, २२ वटा ब्रान्डका दुई पाङग्रे, ७ वटा ब्रान्डका नाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा विकेन्ट, टायर प्याटरी पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको छ ।

विशाल प्रदर्शनीमा अवलोकनकर्ताहरूको सुविधालाई विशेष ध्यानमा राखी २– पाङग्रे, ४– पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरूको छुट्टा–छुट्टै प्रदर्शन राखिएको छ । उद्घाटन सत्रमा नै अवलोकनकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ । शोमा १२० वटा स्टल तथा ब्लकहरू रहेका छन् । विशाल प्रदशनीमा विद्युतीय सवारीको आकर्षण देखिएको छ । विद्युतीय सवारीले नै उक्त शोको शोभा बढाएका छन् । अवलोकनकर्ता जता जता विद्युतीय सवारीहरूको स्टल छ त्यतै त्यतै भिड लागेको देखिन्छ । कम्बसन गाडीको तुलनामा विद्युतीय सवारको चहलपहल बढी देखिन्छ । उक्त शोमा बीवाईडी, एमजी, नेटा र वुलिङले ईभीलाई मात्र प्रदर्शनीमा रहेका छन् । 

विवाईडी डल्फिन, सिल र एट थ्रिमा आकर्षण 

उक्त शोमा बिवाईडीका तीन विद्युतीय सवारी डल्फिन, सिल र एट थ्रि प्रदर्शनीमा राखिएको छ । बीवाइडी डल्फिन नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सोमबार सार्वजनिक गरेको हो ।

उक्त गाडी नाडा अटो शाो प्रदर्शनीमा  राखिएको छ । कम्पनीले बिवाइडीको यो फ्युचरिस्टिक डल्फिनको सुरुआती मूल्य ३९ लाख ८० हजार तोकेको छ। बिवाइडी डल्फिन नेपाली बजारको बहुप्रतिक्षित ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी हो । बिवाइडी डल्फिनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ। यसले ७ किलोवाटको चार्जर समर्थन गर्छ। गाडीलाई एक पटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिन्छ।

यस्तै, नाडा अटो शोमा बिवाईडी सिल पनि प्रदर्शनीमा राखिएको छ । यो चीनमा उत्पादन हुने विद्युतीय गाडी हो । यसमा दुई ब्याट्री अप्सन दिइएको छ । 

सिल सेडानमा ६१.४ किलोवाट आवर र ८२.५ किलोवाट आवर रहेको छ । बीवाईडी सिलले एक पटकको चार्जमा ५७० किलोमिटर रेन्ज दिन्छ । विवाईडी सिलले ३.८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रति घण्टाको गतिमा गुड्छ । यसको मूल्य १ करोड ५ लाख रुपैयाँ निर्धारण गरिएको छ । 

यस्तै, विवाईडी एट थ्रि पनि प्रदर्शनीमा छ । यो गाडीमा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवर क्षमताको बीवाइडीको ब्लेड ब्याट्री उपलब्ध गराइएको छ । बिवाईडि एट थ्रिमा दिइएको ब्याट्रीले एक पटकको फुल चार्जमा ४५० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बिवाईडि एट थ्रिले गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पिड ७.३ सेकेन्डमा भेटाउने जनाएको छ । यो गाडीमा दिएको मोटरले २०४ पिएस् म्याक्स पावर र ३१० एनएम म्याक्स टर्क पावर जेनेरट गर्छ । अटोमेटिक ट्रान्समिसन उपलब्ध बिवाईडी एट थ्रिको टक स्पिड १६० किलोमिटर प्रतिघण्टा रहेको छ । बिवाईडी एट थ्रिको मूल्य ९० लाख रुपैयाँ तोकेको छ ।

पारामाउन्ट मोटर्सको एमजी फोर इभि र एमजि कमेट पनि अटो शो तताउँदै 

अटो शोमा  एमजि गाडीको विद्युतीय सवारीले पनि माहोल  तताएका छन् । एमजि गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्सले एमजि कमेट इभि र एमजि ४ इभि प्रदर्शनीमा राखेको छ । 

एमजि कंमेट इभि भारतमा बनेको आकर्षक मूल्यको विद्युतीय गाडी हो जसले सिङ्गल चार्जमा २३० किलो रेन्ज दिन्छ । यसमा १७.३ प्रतिघण्टाको ब्याट्री र ३१.२६ किलोवाटको मोटर रहेको छ । एमजि कमेट इभिको सुरुवाती मूल्य १७ लाख ९९ हजार रुपैयाँ रहेको छ भने एमजि कमेट इभि प्ले र पेस गरी २ वटा भेरिएन्टमा उपलब्ध छ । त्यस्तै एमजि कमेट इभिको हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टी दिएको छ भने हाइ भोल्टेज ब्याट्रीमा १ लाख २० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टी दिएको छ । 

कम्फर्ट र लक्जरी गरी २ भेरियन्टमा उपलब्ध एमजि कम्फर्ट इभिको ब्याट्री क्षमता ५१ प्रतिघण्टा र ९९ किलोवाटको मोटर रहेको छ । त्यस्तै एमजि लक्जरी इभिको ब्याट्री क्षमता ६४ प्रतिघण्टा र १५० किलोवाटको मोटर रहेको छ । एमजि ४ इभिको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर व्हिल ड्राइभ हो जुन यही मूल्यमा नेपाली बजारमा उपलब्ध विद्युतीय गाडीहरूको सेग्मेन्टमा पहिलो फिचर हो । यसले सिङल चार्जमा ४३५ किलोमिटर सम्मको रेन्ज दिन सक्छ । एमजि ४ इभिको लागि हाइ भोल्टेज ब्याट्रीमा १ लाख ५० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टी दिएको छ भने हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टी दिएको छ । त्यस्तै एमजि ४ कम्फर्ट इभिको सुरुवाती मूल्य ४१ लाख ४९ हजार रुपैयाँ रहेको छ भने एमजि लक्जरी  इभिको सुरुवाती मूल्य ५८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

चौधरी ग्रुपको नेटा ब्रान्डका तीन विद्युतीय सवारी 

अटो शोमा चौधरी ग्रुपले बिक्री वितरण गर्दै आएको नेटा ब्रान्डका तीन विद्युतीय सवारी प्रदर्शनमा राखिएको छ । सिजी मोटर्सले शोमा नेटा जीटी, नेटा यू र नेटा एस प्रदर्शनीमा राखिएको हो । 

नेटा जीटी प्रिमियम कुप्पे कार हो । विभिन्न ब्याट्री क्षमता र मोटर पावरमा उपलब्ध नेटा जीटी मोडलको टप भेरियन्टले ६६० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । होजोन मोटर्सले यसमा १७० देखि ३४० किलोवाट क्षमताको मोटर र ६२ देखि ७८ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ ।

यस्तै, नेटा यू राम्रो र लङ रेन्ज एसयूभी हो । यसमा ८१.७ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ । १७२ किलोवाट क्षमताको मोटर जडान भएको नेटा यूले सिङ्गल चार्जमा ६११ किलोमिटर रेन्ज दिने बताइएको छ । 

यता, नेटा एस प्रिमियम सेडान हो । होजोन मोटर्सले अल ह्वील ड्राइभ सिस्टममा यसलाई ल्याएको छ । यसको संयुक्त पीक पावर ३४४ किलोवाट रहेको छ । नेटा एसमा ९५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिङ्गल चार्जमा ६५० किलोमिटर रेन्ज दिने एनइडीसीले प्रमाणित गरेको छ ।

टाटाको नेक्सन ईभी म्याक्स, टियागो र पञ्च

नाडा अटो शो–२०२३ मा पञ्च र टाटा टियागे ईभी सार्वजनिक गरिएको छ । टियागो ४५ किलोवाट र ५५ किलोवाटमा उपलब्ध छ । टाटा टियागो ईभीको  सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ रहेको छ । 

त्यस्तै टाटा पञ्चको सुरुवाती मूल्य ३३ लाख ९९ हजार र टप भेरियन्टको ४३ लाख ४९ हजार रहेको छ । टाटा पञ्च पेट्रोल इन्जिनमा उपलब्ध छ ।  टाटाले ईभी म्याक्सको नयाँ मूल्य ४५ लाख ९९ हजार रहेको जनाएको छ। अटो शोमा टाटाको नेक्सन ईभी म्याक्स, टियागो र पञ्च प्रदर्शनीमा राखिएको छ ।

ग्रेट वाल मोटर्सका ओरा, मूल्य ४७ लाख ४९ हजार 

नाडा अटो शोमा ओरा–०३ पनि प्रदर्शनीमा राखिएको छ ।ग्रेट वाल मोटर्सको आधिकारिक बिक्रेता भिजी इम्पेक्सले ओरा–०३ प्रदर्शनीमा राखेको हो । यसको मूल्य ४७ लाख ४९ हजार रुपैयाँ मूल्य तोकेको छ ।

यसमा ४७.७८ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक दिइएको । यसले एक पटकको फुल चार्जमा ४०० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । यसको क्षमता ९९ किलोवाट रहेको छ । यसले अधिकतम १३३ हर्सपावर र २१० न्यूटन मिटर टर्क प्रदान कम्पनीले जनाएको छ । 

सर्वाधिक रेञ्च दिने जि मोटर्सको स्काईवेल इटी ५ 

उक्त अटो शोमा नेपालमा उपलब्ध मध्ये सबैभन्दा धेरै रेन्ज प्रदान गर्ने स्काईवेल पनि प्रदर्शनीमा छ । जि मोटर्सले नेपालमा ल्याएको इकाईवेल इटी ५ पनि नाडा अटो शोको आकर्षणकै रूपमा हेरिएको छ ।

यो गाडीले एक पटकको फुल चार्जमा ६२० किलोमिटर रेन्ज दिने जि मोटर्सलेको दाबी छ । गाडी नेपालमै ८५.९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । यसमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । यो गाडीको टप स्पिड १ सय ६० प्रतिघण्टा रहेको छ । स्काइवेल इटी–५ को मूल्य १ करोड ९ लाख रुपैयाँ निर्धारण गरेको छ ।

एमएडब्लू वृद्धि अटोकर्पका सेरेस–३ र सेरेस मिनि 

नाडा अटो शोमा सेरेस–३ र सेरेस मिनि इभी पनि प्रदर्शनीमा राखिएको छ । एमएडब्लू वृद्धि अटोकर्प प्रालिले सेरेस–३, सेरेस मिनी इभि प्रदर्शनीमा  राखेका हुन् । 

दुई भेरियन्टमा नेपाल आएको सेरेस–३ कम्र्फट भेरियन्टको मूल्य ४७ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सेरेसले यसमा ९९ किलोवाटको मोटर दिएको छ । साथै, ब्याट्री भने दुवै भेरियन्टमा समान ५२.७ किलोवाट आवर क्षमताको छ । सिङ्गल चार्जमा औसत ३५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

यस्तै, मिनी ईभी सेरेस ई वानलाई प्रदर्शनीमा राखिएको छ। यसमा १३ किलोवाट आवरको ब्याट्री दिइएको छ । यो गाडीमा दिइएको ब्याट्रीले सिङ्गल चार्जमा १८० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । सर्ट रेन्ज भेरियन्ट गाडीको सुरुवाती मूल्य १३ लाख ९९ हजार निर्धारण गरिएको छ । 

यता, ब्याट्री साइजमा फुल अप्सन ईवानको मूल्य १६ लाख ४९ हजार कायम गरिएको छ । त्यस्तै लङ रेन्ज तर्फ १६ किलोवाट आवरको ब्याट्री, २२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य १७ लाख ९९ हजार तोकिएको छ ।

हुन्डाईको एक्सटर 

नाडा अटो शोमा हुन्डाईको एक्सटर प्रदर्शनीमा राखिएको छ । हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी समूहले उक्त गाडी प्रदर्शनीमा राखेको हो । 

यो गाडी ११९७ सिसी इन्जिन क्षमता हो । यसमा ४ सिलिन्डर र ४ भल्भ छ । ३७ लिटर फुल ट्याङ्क इन्धन भण्डारण क्षमता रहेको यो गाडीले १९.४ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।


प्रतिक्रिया दिनुहोस्