लघुवित्तको झन् बिग्रदोँ अवस्थाः लगानी विस्तारमा संकुचन, चुलियो निष्क्रिय कर्जा « Arthapath.com
६ बैशाख २०८१, बिहीबार

लघुवित्तको झन् बिग्रदोँ अवस्थाः लगानी विस्तारमा संकुचन, चुलियो निष्क्रिय कर्जा



काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको अवस्था झन् बिग्रदोँ देखिएको छ । खराब कर्जाको चेपुवामा परेका लघुवित्तको लगानी विस्तारमा संकुचन आएको छ ।

राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले तयार पारेको लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

लघुवित्तको लगानी विस्तार झन्डै आधा घटेको देखिन्छ । प्रतिवेदनअनुसार २०८० असार मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुको लगानी विस्तारमा ४६.१३ प्रतिशत गिरावट आएको छ ।

अघिल्लो वर्षको असार मसान्तमा लघुवित्तहरुको लगानी २ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो । तर, गत असार मसान्तसम्म आइपुग्दा भने घटेर १ अर्ब ३७ अर्ब रुपैयाँमा सीमित भएको छ ।

२०७८ असार मसान्तसम्म लघुवित्तको लगानी १४ अर्ब ४२ करोड थियो । राष्ट्र बैंकले सेयर तथा डिबेन्चरमा गरेको लगानी विनिवेष गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाका कारण २०७९ असारमा ८२ प्रतिशत र २०८० असारमा ४६ प्रतिशत लघुवित्त वित्तीय संस्थाको लगानीमा गिरावट आएको प्रतिवेदनमा उल्लेख छ ।

गत असार मसान्तसम्म सरकारी सुरक्षणमा ८२ करोड, सेयर तथा डिवेन्चरमा ८ करोड, मुद्दती निक्षेपमा ४० करोड तथा सूचीकृत नभएको सेयरमा ४ करोड रुपैयाँ लगानीमा रहेको छ ।

प्रतिवेदन अनुसार २०८० असार मसान्तमा सेयर तथा डिवेञ्चरमा लगानी भएको रकमको प्राथमिक पुँजीसँगको अनुपात ०.१५ रहेको छ भने अघिल्लो आर्थिक वर्षमा उक्त अनुपात ०.५६ रहेको थियो ।

लघुवित्त संस्थाहरुले केन्द्रिय बैंकको निर्देशन बमोजिम संगठित संस्थाको सेयर तथा डिबेन्चरमा गरेको लगानी विनिवेष गर्नुपर्ने व्यवस्थाका कारण २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा यस्तो लगानी ७२.१८ प्रतिशत घटेको देखिन्छ ।

समिक्षा अवधिमा लघुवित्त कम्पनीहरु निष्क्रिय कर्जाको चेपुवामा परेको देखिन्छ। प्रतिवेदन अनुसार लघुवित्त कम्पनीहरुको निष्क्रिय कर्जा समेत ७८.०९ प्रतिशत बढेको छ । बढ्दो खराब कर्जाले थलिएका लघुवित्त कम्पनीहरु गाह्रो अवस्थामा गुज्रिरहेका छन् । कम्पनीहरुको समयमै कर्जाको साँवा, किस्ता र ब्याज नउठ्दा खराब कर्जाको बढोत्तरी रोकिएको छैन । निष्क्रिय कर्जा अघिल्लो वर्षको तुलनामा बढेर २४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्म निष्क्रिय कर्जाको अनुपात ५.६० प्रतिशत रहेको छ । २०७८ असार मसान्तसम्मको लघुवित्तको निष्क्रय कर्जा अनुपात २.७२ प्रतिशत रहेका थियो । लघुवित्तवको यस्तो कर्जा अघिल्लो वर्ष २०७९ असार मसान्तमा ३.०२ प्रतिशत र २०८० असार मसान्तसम्म आइपुग्दा भने बढेर ५.६० प्रतिशत पुगेको छ ।

लघुवित्त कम्पनीको कुल कर्जा सापटीमा समेत व्यापक गिरावट आएको छ । २०८० सालको असार मसान्तसम्म कुल कर्जा ३.८८ प्रतिशत घटेको प्रतिवेदनले देखाएको छ । गत असारसम्ममा लघुवित्तको कर्जा सापटी ४ खर्ब ३२ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

२०७९ सालको असार मसान्तसम्म भने कर्जाको वृद्धि २३ दशमलब ०३ प्रतिशतले बढेर ४ खर्ब ४९ अर्ब ७२ करोडमा सीमित भएको थियो । २०७८ असार मसान्तमा अघिल्लो आव भन्दा अघिल्लो वर्ष कुल कर्जा सापट २३.०३ प्रतिशत वृद्धि भई ४ खर्ब ४९ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो ।

लघुवित्तहरुको लगानी विस्तारसँगै खुद नाफामा संकुलन देखिएको छ। समिक्षा अवधिमा लघुवित्तहरुको नाफामा ठुलो गिरावट आएको छ । राष्ट्र बैंकका अनुसार लघुवित्तको खुद मुनाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५९.८२ प्रतिशत घटेको छ । योसँगै कम्पनीहरुको खुद नाफा ३ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ । २०८० असार मसान्तमा ब्याज आम्दानी ६१ अर्ब १२ करोड रुपैयाँ, ब्याज खर्च ३५ अर्ब ८७ करोड रुपैयाँ र संचालन आम्दानी २१ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा कुल ६५ वटा संस्थाहरु मध्ये २ वटा संस्था मात्र खुद नोक्सानीमा थिए । तर, गत आर्थिक वर्षमा कुल ५७ वटा संस्थाहरुमध्ये ४१ वटा खुद नाफामा र १६ वटा खुद नोक्सानीमा रहेको छन् ।


प्रतिक्रिया दिनुहोस्