को बन्ला धितोपत्र बोर्डका अध्यक्ष ? यी हुन १२ प्रत्यसी « Arthapath.com
३ मंसिर २०७८, शुक्रबार

को बन्ला धितोपत्र बोर्डका अध्यक्ष ? यी हुन १२ प्रत्यसी



काठमाडौँ । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष खाली भएको ३ महिनाभन्दा बढी भैसकेको छ । सरकारले अवैधानिक सेयर किनेको आरोपमा बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई गत आश्विन १९ गते बर्खास्त गरेको थियो । डेढ महिनादेखि अध्यक्ष ढुङ्गाना मुद्दा लडिरहेका छन् भने नयाँ अध्यक्षको लागी सरकारले विज्ञापन खोलाएर पनि १२ जनाको आवेदन परिसकेको छ । अर्थ मन्त्रालयका अनुसार बोर्ड अध्यक्ष बन्न निवेदन दिनेको एक दर्जन पुगेको छ । 

‘निवेदन दिनेहरूमा बोर्डकै वरिष्ठ कर्मचारी नीरज गिरी, डा. नवराज अधिकारी तथा अन्य अनिल पौडेल, सीताराम थपलिया, चिरञ्जीवी चापागाईँ, कृष्णप्रसाद आचार्य, गोपाल भट्ट, डा. केशवप्रसाद श्रेष्ठ, जीवन अमगाइँ, रमेश हमाल, अम्बिका शर्मा लामिछाने र हेमन्त बस्याल रहेका छन् । 
धितोपत्र बोर्डको रिक्त पदको लागि अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गरी आवेदन माग गरेको थियो । निवेदन दिने गिरी नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् । उनी लामो समयदेखि बोर्डमा कार्यरत छन् । पुँजी बजारमा लामो समयको अनुभव बोकेका गिरी यस पटक पनि प्रतिस्पर्धामा उत्रिएका छन् । यसअघि उनी अन्तिम तीनबाट फालिएका थिए । उनले चार पटक बोर्ड अध्यक्षमा दाबी पेस गरिसकेका छन् भने ३ पटक कार्यवाहक अध्यक्ष पदसमेत सम्हालिकसेका छन् । 

अर्का डा. अधिकारी बोर्डका उप–कार्यकारी निर्देशक हुन् । उनले पनि बोर्डमा निकै लामो अनुभव बोकेका छन् । उनी एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) अध्यक्ष पुष्पकमल दाहालको पारिवारिक नातेदारसमेत हुन् । यसअघि भीष्मराज ढुङ्गानाको हरेक काममा निकट रहेर काम गरेका अधिकारीले ढुङ्गानालाई राजीनामा दिन नहुने सुझाव दिने व्यक्तिसमेत हुन् । उनले त्रिविबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । यस्तै, अनिल पौडेल युरोपमा पढेर आएका हुन् ।

उनी चार्टर्ड एकाउन्टेन्ट हुन् र विदेशी स्टक मार्केटबारे जानकार हुन् । थपलिया नेपाल स्टक एक्सचेन्जका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् । उनले भाइको कम्पनीसँग मिलेर नेप्सेको कारोबार सिस्टम बनाउँदा आर्थिक घोटाला गरेका आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ । 
चिरञ्जीवी चापागाईँ बीमा समितिका निवर्तमान अध्यक्ष हुन् । उनले नयाँ बीमा कम्पनी खोल्ने लाइसेन्स दिएका थिए । उनैको पालामा बीमाको बजार सात प्रतिशतबाट बढेर २५ प्रतिशत पुगेको थियो । माओवादी पार्टीसँग नजिक उनी आइएमई समूहका मालिक चन्द्र ढकाल तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनसँग नजिक छन् ।

चापागाईँलाई अध्यक्ष बनाउन आईएमई र प्रभु समूहको सहयोग हुनेछ । आचार्य कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक हुन् । उनले सञ्चय कोषमा रहँदा निजामती हाइड्रोलगायतका कन्सेप्ट भित्र्याएका थिए । यसअघि एनआईडीसी र युनाइटेड इन्स्योरेन्सका समेत सीईओ भैसकेका उनी नविल बैंकको समेत सञ्चालक थिए । केही समय अघिमात्र आई क्यानको अध्यक्षबाट अवकाश लिएका उनी पूर्व प्रधानमन्त्री माधव नेपालसँग नजिक मान्छिन् ।

सेयर बजारका विश्लेषक केशवप्रसाद श्रेष्ठ पनि यस पटकको प्रतिस्पर्धा उत्रिएका छन् भने स्टक मार्केटसँग सम्बन्धित विषयमा विद्यावारिधि गरेका नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्टसमेत यस पटकको बलियो दाबेदारको रूपमा देखिएका छन् । जीवन अमगाइँ बोर्डकै पूर्व कर्मचारी हुन् । जागिर छाडेर उनी जापान पढ्न गएका थिए । उनलाई सेयर बजारबारे राम्रो जानकार राख्ने व्यक्तिका रूपमा लिइन्छ । 

प्रभु बैंकका पूर्व सञ्चालक अम्बिका शर्मा लामिछाने पनि अध्यक्षको प्रतिस्पर्धामा छिन् । लामिछाने आवेदन गर्ने १२ जनामध्ये एक मात्र महिला हुन् । प्रधानमन्त्री देउवापत्नी आरजु राणासँग नजिक सम्बन्ध राख्ने लामिछानेले बोर्ड अध्यक्ष हुनका लागि बैंक सञ्चालकबाट राजीनामा दिएको समेत चर्चा छ । 

यसअघि उनी सेयर लगानीकर्ता तथा म्यानपावर व्यवसायीको रूपमा चिनिन्थिन । राजनीतिक शक्तिकेन्द्र र कर्पोरेट हाउसहरूसँग राम्रो सम्बन्ध भएकी लामिछानेलाई पनि प्रबल दाबेदारको रूपमा हेरिएको छ । यस्तै, गैर आवासीय नेपाली रमेश हमालले पनि आवेदन दिएका छन् । र, अन्तिममा आवेदन गर्ने हेमन्त बस्याल सेयर लगानीकर्ता माझ चिनिएका व्यक्ति हुन् । उनी फण्डामेनेन्टल विश्लेषकका रूपमा बजारमा परिचित छन् । क्लब हाउसमा नियमित रुपमा लगानीकर्तालाई सेयर बजारबारे जानकारी दिँदै आएका बस्याल लामो समयदेखि सेयर बजारमै सक्रिय छन् । 

बोर्ड अध्यक्ष राजनीतिक नियुक्ति भएकोले पार्टीको लबिङ र लाइन मिल्नुपर्ने हुन्छ । प्रतिस्पर्धा उत्रिएका सबैले कुनै न कुनै लाइन समाएर आवेदन दिएको बुझिएको छ । बोर्ड अध्यक्ष राजनीतिक नियुक्ति भएकोले कसलाई नियुक्त गर्ने भन्ने विषयमा भने लगभग टुङ्गो लागिसकेको चर्चा बजारमा छ । बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले १५ दिनको समय दिएर कात्तिक ११ मा सिलबन्दी आवेदन आह्वान गरेको थियो । समितिका सदस्यमा अर्थ सचिव मधुकुमार मरासिनी र प्रा.डा. नारायण पौडेल छन् । आवेदनमध्ये समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । तीनै नाममध्येबाट मन्त्रीपरिषद्ले १ जनालाई अध्यक्ष छान्नेछ ।
नयाँ बन्ने अध्यक्षको कार्यकाल करिब दुई वर्ष मात्र हुने छ ।

सेवनको पूर्व अध्यक्ष भीष्मराज ढुङ्गानाको बर्खास्तीपछि उक्त पद खाली छ । सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएको भेटिएपछि ढुङ्गानालाई सरकारले बर्खास्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्