सेयर बजारलाई बजेटको रातो कार्पेट, किन घट्यो बजार ? « Arthapath.com
१६ जेष्ठ २०८०, मंगलवार

सेयर बजारलाई बजेटको रातो कार्पेट, किन घट्यो बजार ?



काठमाडौं । बजेट सार्वजनिक पछिको पहिलो कारोबारको दिन सेयर बजारमा पहिरो गएको छ । बजेट अगाडि सुधार तिर लम्कि रहेको बजार लगानीकर्ताका माग सम्बोधन नभएपछि सेयर बजार आज राताम्य हुन पुगेको हो ।

आगामी आर्थिक वर्ष २०८०÷८१ को संघीय बजेटले सेयर बजारलाई प्रभावित पार्ने केही नीति अघि सारेपछि बजारमा यसको नकारात्मक धक्का परेको छ । बजेटले यसअघि प्रिमियम मूल्यमा हकप्रद सेयर जारी गरेका र मर्जरमा जाँदा कमजोर संस्थालाई सस्तो भाउ दिएर नाफा बढाएका कम्पनीले पुरानो हिसाबमा कर दाखिला गर्नुपर्ने व्यवस्था भएको छ । यसले थुप्र्रै संस्थाको वित्तीय विवरण प्रभावित हुने छ । थोरै नाफा कमाउने र कम लाभांश बाँड्ने कतिपय कम्पनीको लाभांश क्षमता नै शुन्यमा झर्नसक्ने अवस्था देखिएको छ ।

बार्गेन पर्चेज गेनमा पनि कर, सेयर र घरजग्गा कारोबारी पनि फन्दामा लगायतले सेयर बजानरमा असर गरेको हो । लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारले लगानीकर्ताको घाउमा नुन थप्ने काम गरेको बताउदै आएका छिन । लगानीकर्ता सबै रुष्ट भएका कारण सेयर बजारमा पहिरो गएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.१६ अकंले घटेर १८८८.६१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँको कारोबार भएको छ ।

सेयर बजार ओरालो लाग्दा १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको २.४२ प्रतिशत, विकास बैंक समूहको २.२८ प्रतिशत, फाइनान्स समूहको २.७९ प्रतिशत र होटल तथा पर्यटन समूहको २.५१ प्रतिशतले सेयर मूल्य अ‍ोरालो लागेको छ ।

आज शिवम सिमेन्टको २१ करोड २४ लाख रुपैयाँ, ग्लोबल आइएमईको प्रोमोटर सेयरको १० करोड ११ लाख रुपैयाँ र नेपाल लाइफको ८ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्