‘चालु आवको नाफाबाट लाभांश दिने प्रयास गरिरहेका छौं’ « Arthapath.com
२२ फाल्गुन २०८०, मंगलवार

‘चालु आवको नाफाबाट लाभांश दिने प्रयास गरिरहेका छौं’



सुदीप खड्का,
प्रबन्ध निर्देशक, सिङ्गटी हाइड्रो इनर्जी लि.

विगत ५ वर्षदेखि सिङ्गटी हाइड्रोको प्रमुख कार्यकारी अधिकृत (सिईओ) रहेका सुदीप खड्का हाल कम्पनीको प्रबन्ध निर्देशक (एमडी) रहेका छन् । झापको गौरादहमा जन्मिएका खड्का युवा अवस्थामै कम्पनी हाँकिरहेका छन् ।

सिङ्गटी हाइड्रोले २०७८ साउन १७ गतेबाट विद्युत उत्पादन सुरु गरिसकेको छ । दोलखामा २५ मेगावाट क्षमताको विद्युत् गृह रहेको सो कम्पनीले वार्षिक ७० करोड रुपैयाँ विद्युत् विक्रीबाट आन्दानी गर्दै आएको छ । कम्पनीले २०७७ सालमा ४३ करोड ५० लाखको आईपिओ जारी गरेको थियो ।

कम्पनीले अन्य तीन ओटा आयोजना बनाउनको लागी हालै १ करोड ४५ लाख कित्ता अर्थात् १ः१ को हकप्रद निष्काशन गरेको छ । उक्त हकप्रद शेयरको विक्री मंगलबारसम्ममात्रै छ ।

यसै विषयमा प्रबन्ध निर्देशक खड्कासँग अर्थपथले गरेको कुराकानीको सारसंक्षेपः–

सिङ्गटी हाइड्रोपावरको अवस्था कस्तो छ ?

यो २५ मेगावाटको जलविद्यूत् आयोजना हो । सरकारले चरम लोडसेडिङको समयका प्रथामिकताका साथ बनाउन अघि सारेको ‘सुपर सेभेन’ आयोजना भित्रको हो । हामीले २०७८ साउनबाट विद्युत उत्पादन गर्न थालिएको हो । अहिले हामी सम्झौताको ९५ प्रतिशत हाराहारी विद्युत उत्पादन गरिरहेका छौं । यो वर्ष ९७ प्रतिशतजति उत्पादन हुने आँकलन गरिएको छ ।

सर्वसाधारणमा आइपिओ जारी भएको ३ वर्ष नबित्दै यती ठूलो हकप्रद किन जारी गर्नुपर्‍यो ?

यस कम्पनीले अन्य २ ओटा कम्पनीमा लगानी गरेर ३ ओटा आयोजना बनाउँदै छौं । हामीले ३७.७ मेगावाट क्षमताका तीन वटा आयोजनामा लगानी गर्दै छौं । यसमध्ये एउटा २१.५, अर्को ६.३ र अर्को ९.९ मेगावाट क्षमताका छन् ।

यी आयोजनाहरू बनाइरहेका कम्पनीमा ५१ प्रतिशत लगानी गर्न हामीले हकप्रद शेयर जारी गरेर पुँजी जुटाएका हौं ।

तपाइँहरू लगानीकर्तालाई लाभांस नदिने, पैसामात्र थप्न लगाउने रणनीतिमा देखिनु भयो । यो जायज हो हुन्छ ?

हाम्रो आयोजना २०७६ सालमै सम्पन्न गरेर नेपाल विद्युत प्राधिकरणलाई परीक्षणको लागि अनुरोध गरेका हौँ । समयमै राष्ट्रिय प्रशारण लाइनमा नजोडिदिँदा प्राधिकरणले हामीलाई ४५ प्रतिशत पेनाल्टी तिर्नुपर्ने थियो ।

कोरोनाको कारण प्राधिकरणले बत्ति जोड्नुको साटो ‘काबु बाहिरको परिस्थिति’ भनेर प्राधिकरणले बनाउनु पर्ने प्रशारण लाइन २ वर्षपछि मात्रै जोडियो । सिंगटी लामासाँघु प्रशारण लाइन समयमा नबनेका कारण हामीले बैंकको ब्याज खर्चमा मात्रै ७५ करोड रुपैयाँ थप लागत बढ्न गयो ।

अर्को कुरा बैंकसँग ७ प्रतिशतमा लिइएको कर्जाको ब्याजदर १२ देखि १३ प्रतिशतसम्म पुग्यो । यी कारणले शेयरधनीलाई तत्कालै लाभांस दिन नसकिएको हो ।

शेयर धनीलाई कहिले लाभांस दिन सकिन्छ ?

हामी हाम्रा शेयर धनीलाई आगामी आर्थिक वर्ष २०८०/०८१ मा ५ देखि १० प्रतिशत लाभांश दिने योजना बनाएका छौं । हाम्रो पुरा कोसिस त्यसमै छ । त्यसै अनुसारको खर्च कटौति गर्ने प्रयास भएको छ । हकप्रदको बोलकबोल गर्दा पनि केही प्रिमियम उठ्छ होला । त्यसैबाट हामी शेयरधनीको हात खाली नबनाउने प्रयासमा छौं ।

अहिले कम्पनीको शेयर मूल्य दोस्रो बजारमा २ सय रुपैयामा आइसकेको छ । बूक क्लोजअघि ३०० रुपैयाँसम्म तिरेर किनेकाहरूले अहिले हकप्रदमा पैसा हालेर ‘एभरेजिङ’ मात्रै गर्ने अवस्था छ । नाफा कमाउन त लामै प्रतीक्षा गर्नुपर्छ होला हैन ?

यही आर्थिक बर्षमा हकप्रद शेयर विक्री भएसकेपछि शेयरधनीलाई लाभांश दिने प्रयास गरिरहेका छौं । यो सला उर्जा उत्पादनमा पनि सुधार भएको, खर्च कटौति भएको र हकप्रदको बोलकबोलमा प्रिमियम संकलन हुने संभावना भएका कारण लाभांश पनि पाइएला । यसले दोस्रो बजारमा पनि सकारात्मक सन्देश पुग्ला भन्ने हाम्रो अपेक्षा छ ।

अहिले नै लाभांश दिन कठीन छ भने पूँजी दोब्बर बनाएपछि त झनै लाभांशको आशा गर्नु कठीन होला नि ?

अहिले हामीले वर्षको ६०–६५ करोड रुपैयाँ सावाँ पनि तिर्ने, ब्याजदर पनि घट्ने भएकाले यसपालि सायद लाभांश दिन सकिन्छ की भन्ने प्रयासमा छौं । विजुली उत्पादन पनि राम्रो छ ।

हेवा ‘ए’ ।

हकप्रदबाट प्राप्त पैसाको सदुपयोगिता सुनिश्चित गर्ने आधार के हुन् ?

यसको ९.९ मेगावाटको हेवा ‘ए’ जलविद्युत् आयोजना ह्याबीटाट पावर कम्पनीले बनाइरहेको छ । यसको लगभग आधा काम सकिएको छ । अर्बिट इनर्जी पावर कम्पनीले बनाइरहेको सवाखोला ‘बी’ (२१.५० मेगावाट) र सवाखोला ‘सी’ (६.३ मेगावाट) आयोजना छन् ।

यसमा पनि टनेलहरूको काम भइरहेको छ । लगभग ३० प्रतिशत काम सकिएको छ । यी परियोजनाहरू चाँडै बनिसक्छन् । त्यसपछि यी आयोजनाले पनि उत्पादन गर्न थालेपछि शेयरधनीहरूलाई पनि राम्रै होला ।

अहिले बैंकहरूमा देखिएको धितोको मुद्दाले जलविद्युत् कम्पनीहरूलाई कस्तो प्रभाव पार्ने देखिएको छ ?

जलविद्युत् आयोजनाको हकमा सुरुमै विद्युत् खरीद सम्झौता (पीपीए) भइसक्छ । उत्पादन अनुमति पाइसक्ने भएको भएर बैंकले त्यही बजार सुनिश्चितताका आधारमा ऋण दिने हो ।

यस्ता विबादहरूले बैंकले सबै उद्यमीलाई सजिलै विस्वास नगर्ने परिस्थिति बन्न पनि सक्छ । त्यसो भयो भने केही हदसम्म असर पर्नसक्छ । तर अहिलेको घटनाक्रम कसरी विकास हुन्छ भन्ने कुराले बढी महत्व राख्छ । यसमा अहिले नै केही टिप्पणी गरिहाल्न चाँडो होला ।

जलविद्युत् आयोजनाहरूको बीमा नहुने र भएको बीमा दाबीको पनि भुक्तानी नहुने समस्या बढेको भनिँदै छ । यसले जलविद्युत् कम्पनीहरूको वित्तीय जोखिम कति बढाएको छ ?

यसले त जोखिम एकदमै बढाएको छ । बीमांक शुल्क पनि पहिलेको भन्दा बढाएको छ । बीमा दाबी गर्न नपाइने सीमा बढाइँदै छ । यसले हामीलाई केही समस्या पारेको छ । तर यसको पनि समस्या समाधानका प्रयास भइरहेका छन् ।

बीमा र जलविद्युत् प्रबद्र्धकहरूको एक टोली पनि बनेको छ । त्यसले अध्ययन गरेर चाँडै केही निष्कर्श निकाल्ला भन्ने आशा गरेका छौं ।

यो कम्पनीको भावी योजना केके छ ?

अबको दिनमा सिँगटीले अलि ठूलो आयोजना शतप्रतिशत स्वामित्वमा बनाउनु पर्छ भन्ने कुरा भएको छ । यसै पालिको वार्षिक साधारण सभाबाट पनि यस्तो प्रस्ताव पारित भएको छ । संभाव्य परियोजनाको अध्ययन गर्न सञ्चालक समीतिलाई स्वीकृति मिलेको छ ।

अब कुनै राम्रो आयोजना छनोट गरेर १०० मेगावाटसम्मको आयोजना निर्माण गर्ने योजना अघि सारिएको छ । तर अहिले नै कुनै आयोजना छनोटको चराणमा पुगिसकेका छैनौं ।

अहिले निर्माणाधिन तीनवटा परियोजनामध्ये ९.९ मेगावाटको हेवा ‘ए’बाट २०८१ चैतसम्म बत्ति बल्छ । अरु दुई वटा आयोजनाबाट २०८२ को अन्तिमसम्म बत्ति बलिसक्छ । अहिले त्यही अनुसार काम भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्