एनटिसी मोवाइल प्रयोगकर्तालाई खुशीको खवर, अब एक वर्षसम्म निःशुल्क फाइभजी चलाउन पाइने « Arthapath.com
१३ श्रावण २०७८, बुधबार

एनटिसी मोवाइल प्रयोगकर्तालाई खुशीको खवर, अब एक वर्षसम्म निःशुल्क फाइभजी चलाउन पाइने



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक वर्षसम्म ग्राहकलाई निःशुल्क ‘फाइभजी’ प्रयोग गर्न दिने सुविधासहितको कार्यविधी पास गरेको छ । उक्त कार्यविधीले परीक्षण अवधिभर सेवाप्रदायकले आफ्ना ग्राहकलाई निःशुल्क सेवा दिन पाउने छन् ।

प्राधिकरणको साउन ४ गते बसेको सञ्चालक समिति बैठकले ‘फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ पारित गरेको हो । यससागै दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुलाई फाइभजी परीक्षणको लागि बाटो खुलेको छ । अब प्राधिकरणले फाइभजी परीक्षणका लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण गर्ने छ ।

त्यसपछि सेवाप्रदायक कम्पनीहरुले फाइभजी परीक्षणका लागि प्रक्रिया अघि बढाउन सक्नेछन् । यसअघि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको अध्यक्षतामा रहेको फ्रिक्वेन्सी नीति निर्धारण समितिले नेपालमा फाइभजी सेवा परीक्षण गर्ने निर्णय गर्दै नेपाल टेलिकमलाई पहिलो चरणमा अनुमति दिएको थियो । एनसेलको विषयमा भने सरकारले हालसम्म कुनै निर्णय भएको छैन ।

सरकारको सोही निर्णयका आधारमा प्राधिकरणले सेवाप्रदायकलाई सहजीकरण गर्नभन्दै फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि तयार पारेको हो । कार्यविधिअनुसार सेवाप्रदायकले पहिलो चरणमा नयाँ प्रविधिको परीक्षण गरिने स्थान, परीक्षणका लागि आवश्यक फ्रिक्वेन्सी, नेटवर्क जडान र सञ्चालनको समय तालिका सहितको मोडालिटी प्राधिकरणमा पेस गर्नु पर्नेछ ।

नयाँ प्रविधिको परीक्षण गर्दा ग्रामीण र शहरी दुवै क्षेत्रलाई समेट्नुपर्ने प्रावधान कार्यविधीमा राखिएको छ । कार्यविधी अनुसार दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुले फाइभजी परीक्षणका लागि जम्मा एक वर्षको समय पाउने छन् ।

त्यस अवधिका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी सेवाप्रदायकलाई निःशुल्क उपलब्ध हुनेछ । सेवाप्रदायकले पनि उक्त अवधिमा प्रयोगकर्ताबाट कुनै शुल्क लिन पाउने छैनन् । परीक्षण अवधि समाप्त भएपछि सेवाप्रदायकले परीक्षणका लागि प्रयोग भएको उपकरणको व्यवस्थापन गर्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्