‘क्यासलेस’ अर्थतन्त्रतर्फ नेपाल, यसरी बढ्दैछ डिजीटल भुक्तानी र कारोबार « Arthapath.com
२८ असार २०८०, बिहीबार

‘क्यासलेस’ अर्थतन्त्रतर्फ नेपाल, यसरी बढ्दैछ डिजीटल भुक्तानी र कारोबार



काठमाडौं । नेपालमा डिजीटल भुक्तानी र कारोबार बढ्दो छ । पछिल्लो समय डिजीटल भुक्तानी र कारोबारमा सर्वसाधारणको आकर्षण एकदमै बढी रहेको छ ।

पछिल्लो समय क्यूआर कोड र मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबार ह्वात्तै बढेको हो । एक वर्षकै अवधिमा क्यूआर कोड मार्फत हुने भुक्तानी साढे दुई गुणा बढेको छ । यस्तै, मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबार झण्डै दोब्बरले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको छ । चालु आवको ११ महिनामा क्यूआर कोड मार्फत हुने कारोबार १५४.८८ प्रतिशतले बढेको छ । जेठमसान्तसम्ममा कूआर कोड मार्फत २८ अर्ब ७ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ । तर, गत आवको सोही अवधिमा भने यस्तो कारोबार ११ अर्ब १ करोड ५० लाख रुपैयाँको मात्रै भएको थियो ।

पछिल्लो महिनामा थप २ अर्ब २ करोड ५० लाख रुपैयाँ बढी क्यूआर कोड मार्फत भएको छ । गत बैशाख महिनासम्ममा भने क्यूआर कोड मार्फत २६ अर्ब ५ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । राष्ट्र बैंकका अनुसार जेठ ९५ लाख ९ हजार २४९ पटक क्यूआर कोड मार्फत कारोबार भएको छ । पछिल्लो समय क्यूआर कोड मार्फत हुने कारोबारमा उल्लेख्य प्रगति भएको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय सानातिना किनमेललाई क्यूआर कोडमार्फत भुक्तानी बढेको हो ।

राष्ट्र बैंकका एक अधिकारीले भने,–‘पछिल्लो समय सानातिना किनमेललाई क्यूआर कोडमार्फत डिजिटल भुक्तानीको दायरामा ल्याउने विषयमा उल्लेख्य प्रगति भएको छ । नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा बढ्दो आकर्षण छ ।’ राष्ट्र बैंकले समेत क्युआर पेमेन्टलाई प्राथमिकतामा राखी बैंक तथा वित्तीय संस्थासँग समन्वयमा ‘नगदरहित’ कारोबार अभियान नै चलाईरहेको छ। सो अभियानले पनि डिजीटल कारोबार र भुक्तानीमा बढी टेवा पुगेको छ ।

पछिल्लो समय मोबाइल बैंकिङ्ग कारोबार पनि उत्तिकै बढेको छ । सर्वसाधारणको बढी आकर्षण मोबाइल बैंकिङ्ग कारोबारमा देखिएको हो । जेठ मसान्तसम्म आईपुग्दा मोबाइल बैंकिङ्ग मार्फत २ खर्ब ३० अर्ब ४७ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ८९ प्रतिशतले बढी हो । गत आवको समिक्षा अवधिमा यस्तो कारोबार १ खर्ब २१ अर्ब ९६ करोड २० लाख रुपैयाँ रहेको थियो । चालु आवको ११ महिनामा २ करोड ९२ लाख १० हजार ३२२ पटक मोबाइल बैंकिङ्ग मार्फत कारोबार भएको छ ।

डिजीटल कारोबारलाई राष्ट्र बैंकले पनि बढवा दिँदै आएको छ । विशेषगरि नेपालमा कोरोना महामारीपछि नै मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र क्यूआर कोड पेमेमेन्ट तर्फ प्रयोगकर्ताहरुको आकर्षण बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो समय नगदसहित आरजिटिएस, एटिएम र डिजिटल कारोबारका लागि कनेट आइपिएस, इ–कर्मश, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्यूआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का प्रयोगकर्ता बढेको छ ।

नेपाल विस्तारै क्यासलेस अर्थतन्त्रतर्फ गइरहेको छ । सरकारले पनि डिजिटल पेमेन्टलाई बढावा दिन विभिन्न पेमेन्ट कम्पनीहरुलाई आफ्नो पेमेन्ट सिस्टममा जोडेको छ । इसेवा, खल्ती, फोनपे, आइएमई पे जस्ता माध्यमबाट सरकारी सेवाको शुल्क तिर्न सकिने व्यवस्था समेत गरिएको छ । डिजिटल कारोबार मार्फत एक बैंकबाट अर्को बैंकको खातामा रकम पठाउने, आफूलाई आवश्यक वस्तुहरुको किनमेल, टेलिफोन, विद्युत, खानेपानी लगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने लगायतको काम गर्न सकिन्छ । त्यसैले पनि यसतर्फ मानिसहरुको आकर्षण दिनानुदिन बढ्दै गएको छ । पछिल्लो समय कनेक्ट आइपिएस, क्युआरकोड अर्थात् (क्विक रेस्पोन्स पेमेन्ट) सेवा र मोवाइल वालेटमा पनि सर्वसाधारणको मुख्य आकर्षण बन्दै आइरहेको छ ।

चालु आवको ११ महिनामा इन्टरनेट बैंकिङ्ग मार्फत १४ अर्ब ५४ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, कनेक्ट आइपीएसबाट ४ अर्ब १७ अर्ब २० करोड, वालेट मार्फत २० अर्ब १४ करोड, पिओएस मार्फत ५० करोडको कारोबार भएको तथ्याङ्कमा उल्लेख छ ।

२ करोड बढी छन् मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, अन्य कति ?

नेपालमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुको संख्या पनि उत्तिकै बढ्दो छ । राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म आइपुग्दा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड १० लाख १९ हजार ५९ पुगेको छ ।

पछिल्लो एक महिनामै ३ लाख २७ हजार ७१३ मोबाइल बैंकिङ्ग प्रयोगकर्ता थपिएका छन् । गत बैशाख मसान्तसम्ममा २ करोड ७ लाख ६३ हजार ३४६ रहेको थियो । गत आवको जेठ मसान्तसम्ममा भने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या १ करोड ७९ लाख ६१ हजार बढी रहेको थियो ।

समिक्षा अवधिमा इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता १८ लाख ३० हजार ४२५, कनेक्ट आइपीएस प्रयोगकर्ता १० लाख ९० हजार र वालेट प्रयोगकर्ताको संख्या १ करोड ८६ लाख ४१ हजार ४५३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्