टेलिकमले भोलिदेखि भ्वाइस तथा डाटामा आकर्षक प्याकेज ल्याउने, कस्ता छन् अफर ? « Arthapath.com
२४ आश्विन २०८०, बुधबार

टेलिकमले भोलिदेखि भ्वाइस तथा डाटामा आकर्षक प्याकेज ल्याउने, कस्ता छन् अफर ?



काठमाडौँ । नेपाल टेलिकमले भोलि (असोज २५) देखि लागु हुनेगरी अटम अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा अफरलाई अझ आकर्षक बनाएको छ ।

अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने (अनलिमिटेड डे टाइम भ्वाइस) प्याकेज उपलब्ध हुनेछ । त्यसैगरी सोही अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रुपैयाँ मै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने गरी (अनलिमिटेड नाइट टाइम भ्वाइस) प्याकेज पनि उपलब्ध हुनेछ ।

त्यस्तै, अल नेट भ्वाइस प्याक अन्तर्गत १८ रुपैयाँमा १ दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ । अल टाइम डाटा प्याक अन्तर्गत ९५ रुपैयाँमा ७ दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी आकर्षक सुविधा सहितको फोरजी अल टाइम डाटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफर समेत उपलब्ध हुनेछ ।

कम्पनीले पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड ६३६ प्याकेज प्रिपेड मोबाइलमा पनि उपलब्ध गराउने भएको छ । यस अनुसार ६३६ रुपैयाँमा टेलिकमको नेटवर्कमा अनलिमिटेड भ्वाइस, १५० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) भ्वाइस, २०० वटा सबै नेटवर्कमा एसएमएस र ९ जीबी डाटासहितको प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज २८ दिनसम्म चलाउन सकिने छ ।

कम्पनीका सेवाग्राहीले ‘नेपाल टेलिकम’ एप डाउनलोड गरेर चलाउदा १ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ । सो डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने छ । अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1#  डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्