एक ‘मोबाइल योद्धा’ले पाएको सफलताको कथा « Arthapath.com
१ चैत्र २०८०, बिहीबार

एक ‘मोबाइल योद्धा’ले पाएको सफलताको कथा



सङ्गीता पहाडी अर्याल, प्रबन्ध निर्देशक, नेपाल टेलिकम

२०४७ सालको संविधान निर्माण गर्दा न्यायाधीश विश्वनाथ उपाध्यायको अध्यक्षतामा गठित ९ सदस्यीय संविधान सुझाव आयोगका एक सदस्य थिए स्व. लक्ष्मण अर्याल । अन्तरिम संविधान २०६३ को मस्यौदा समिति संयोजक पनि ऊनै थिए । 

तिनकै घरमा कान्छी छोरीको रूपमा जन्मिएकी थिइन्, सङ्गीता पहाडी । उनी अहिले ‘राष्ट्रको गौरव’ को रूपमा रहेको कम्पनी नेपाल टेलिकमको निमित्त प्रबन्धक निर्देशक छिन् । काठमाडौँको बानेश्वरमा जन्मे हुर्केर पद्मकन्या माविबाट एसएलसी उत्तीर्ण गरेकी उनको बाल्यकाल रमाइलै रह्यो । 

त्रिचन्द्र क्याम्पसबाट आइएसी पढेकी उनी त्यसपछि भने इन्जिनियरिङ पढ्न भारतको मोतीलाल नेहरु रिजनल इन्जिनियरिङ कलेज पुगिन् । २०४९ सालमा स्नातक अध्ययन सकेपछि उनले दूरसञ्चार कम्पनीमा काम सुरु गरेकी थिइन् । 

उनले जागिरसँगै पढाइ पनि अघि बढाइन् । थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट ‘मास्टर्स इन टेलिकम्युनिकेशन’को डिग्री हासिल गरिन् । औपचारिक अध्ययन त सकियो, तर व्यवहारिक अध्ययन त्यसपछि सुरु भयो ।  

दूरसञ्चारमा सुरुको ४ वर्ष ट्रान्समिसनमा र २०५४ देखि मोबाइल सेवामा काम गरिन् । त्यसपछि करिब २२ वर्ष उनले अनवरत मोबाइल सेवामा काम गरिन् । उनले मोबाइल सेवातर्फ परियोजना, सञ्चालन, मर्मत, खरिददेखि सबै क्षेत्रको अनुभव बटुलेकी छिन् । त्यसपछि टेलिकमको ‘ब्याक बोन’ मानिने ट्रान्समिसन निर्देशनालयमा काम गरिन् । त्यो विभागले मूलभूत पूर्वाधार निर्माण गर्छ । त्यहाँको अपरेसन, मेण्टिनेन्सको प्रमुखका रूपमा रहेर काम गरिन् । 

त्यसपछि फोर जी आयोजनामा नेटवर्क टिमको प्रोजेक्ट म्यानेजर भएर काम गरिन् । फेरि उनी ब्याक बोनमै फर्किन् र ११ औँ तहमा निर्देशकको भूमिकामा रहिन् । २ वर्ष त्यहाँ काम गरेपछि केन्द्रीय कार्यालयमा अर्को २ वर्ष व्यापार प्रमुखको जिम्मेवारीमा रहेर काम गरिन् । प्रमुख व्यावसायिक अधिकृत भएर काम गरेकै बेला प्रतिभा वैद्य सेवानिबृत्त भएपछि उनले ‘चिफ टेक्निकल अफिसर’को रूपमा काम गरिन् । 

यसैबिच नेशनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार गरेको भन्दै टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा परे । त्यसपछि असोज १७ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सङ्गीताले सम्हालिरहेकी छिन् । यसरी दूरसञ्चार कम्पनीमै करिब ३१ वर्षको अनुभव संगालेर उनी कम्पनीको नेतृत्व तहमा पुगेकी छिन् । 

ती दिन र यी दिन

उनका दुवै जना दाइहरू इन्जिनियर भएकाले उनलाई पनि त्यतैतिर रस पस्यो । तीन जना दिदी बहिनीमा कान्छी उनी सानैदेखि दाइहरूलाई पच्छ्याउँथिन् । भौतिक शास्त्रका विद्यार्थीहरू त्यसताका सबैजसो इञ्जिनियरिङतिरै आकर्षित हुन्थे । उनी पनि त्यतै लागिन् । 

‘कर्म गर्ने कुरा आफ्नो हातमा छ, फल आफ्नो हातमा छैन’ भनेर बुबाले सिकाएको भागवत गीताको सन्देशले उनी सधैँ प्रभावित भइरहिन् । आफ्नो कम्पनी र राष्ट्रलाई योगदान गर्नुपर्छ भन्ने सिकाइले उनलाई सधैँ प्रोत्साहन र प्रेरणा मिलिरह्यो । ‘अरूलाई जवाफ दिनुभन्दा पहिले आफूले आफैँलाई जवाफ दिनुपर्छ भन्नेजस्तो मलाई लाग्छ’, उनी भन्छिन् । 

‘देउता’ चलचित्रका लागि तुलसी घिमिरेले गीत लेखेका थिए, ‘हाम्रो जुगको पानी मीठो, हाम्रो समय साँच्चै रमाइलो ।’ सङ्गीतालाई पनि आफ्नै बाल्यकाल रमाइलो लाग्छ । ‘ऊ बेला अहिलेजस्तो सामाजिक सञ्जाल त टाढाको कुरा, टेलिभिजन पनि थिएन’, उनी सम्झिन्छिन् । उनले एसएलसी पास गरिसके पछिमात्रै नेपालमा टेलिभिजन सुरु भएको थियो ।  

‘त्यस बेला एक अर्काबिच कुराकानी नै सबैभन्दा बढी प्रभावकारी सञ्चारको माध्यम थियो’, उनी भन्छिन्, ‘अहिलेका बच्चाहरू अधिकतर समय मोबाइलमै गुजारिरहेका हुन्छन् ।’ अहिलेको समय र आफूले बिताएको बाल्यकाल हेर्दा आफ्नै बालपन ‘स्वर्णिम’ थियो जस्तो लाग्छ उनलाई ।

उनले सिभिल इन्जिनियरसँग विवाह गरिन् । दूरसञ्चार कम्पनीमा जागिर सुरु गरिसकेपछि विवाह गरेकाले उनलाई ‘खुसीराजि’ गर्न छुट भयो । त्यसैले उनलाई घर परिवार र कार्यक्षेत्र दुबैतिर सफल व्यवस्थापन गर्न साहस जुट्यो । 

कार्यक्षेत्रमा पनि आफ्ना सहकर्मीको उत्तिकै साथ र सहयोग मिलेको उनी बताउँछिन् । ‘मैले पहिले पनि जे गरेँ, राम्रै गरेँ र कम्पनीलाई आफ्नो तर्फबाट उत्कृष्ट योगदान दिएँ जस्तो लाग्छ’, उनी भन्छिन्, अब आउने पुस्तालाई पनि आफ्नो तर्फबाट सधैँ राम्रो सोच्नुभयो र कम्पनीको हितमा सदैव काम गर्नु भयो भने आफूले चाहेको ठाउँमा र आफूले चाहेजस्तो परिणाम दिन आफैँ सक्नुहुने भनेर प्रेरित गरिरहेकी छु ।’ 

नेपालमा पहिलो पटक मोबाइल सेवाको वृत्तान्त

सुरुआति समयमा नेपालमा मोबाइललाई ग्रामीण दूरसञ्चार प्रविधिका रूपमा भित्र्याएका थियौँ । यसका लागि सञ्चार मन्त्रालयले लाइसेन्स बाँड्न ठेक्का खोल्यो । त्यस बेला एनटीसीमात्र होइन, अरूले पनि ठेक्का हाले । सङ्गीता ती शुरुआति दिनदेखि नै मोबाइलको खाका कोर्नमा तल्लीन थिइन् । 

‘विभिन्न कारणले त्यस बेला लाइसेन्स लिने प्रक्रिया सफल हुन सकेन’, उनी भन्छिन्, ‘त्यसपछि नेपाल टेलिकम आफैँले २०५६ साल वैशाख २६ गतेदेखि मोबाइल सेवा प्रारम्भ गर्‍यो ।’ यसका लागि एक वर्ष अघिदेखि उनी र उनका साथीले खुब मिहनत गरेका थिए ।

त्यस बेला एनटीसीका लागि मोबाइल सेवा बिलकुलै नौलो कुरा थियो । सुरुमा काठमाडौँ उपत्यकाभरि जम्मा १२ वटा मात्रै बीटीएस (बेस ट्रान्सिभर स्टेशन)हरू स्थापना गरिए । पोखरामा ४ वटा, वीरगन्जमा ४ वटा, नेपालगन्जमा ४ वटा गरेर चार सहरमा कुल २४ वटा बीटीएसबाट सेवा सञ्चालन गरेको उनलाई ताजा स्मरण छ । 

नेपालमा मोबाइल ल्याउने बेला अहिलेजस्ता ‘प्लानिङ टुल’हरू केही पनि थिएन । खाली कागजमा हातले धर्सा कोरेर उनीहरूले योजना बनाए । पछि प्लानिङ टुलहरू आएपछि कुन टावर कहाँ कस्तो अवस्थामा छ भनेर भौगोलिक सूचना प्रणाली (जीआईएस)मा देखिने भयो । त्यसले योजना तर्जुमामा सहयोग पुग्यो । 

एनटीसीले पहिलो चरणमा काठमाडौँमा १० वटा बीटीएस थपेर काठमाडौँको सेवा विस्तार गरिएको उनले सुनाइन् । त्यस बखत मोबाइल सेटहरू पनि निकै ठुलो आकारमा आउँथ्यो । ‘नोर्टेलको ठुलो सेट र सीमकार्डको मूल्य जोड्दा त्यस बखत नै करिब ५० हजार रुपैयाँ पर्ने अवस्था थियो’, उनी भन्छिन्, ‘२०५६ सालमा ५० हजार भनेको अहिलेको करिब १० लाख मूल्य बराबर होला ।’ 

त्यसैले सुरुआति चरणमा यो सेवा बिलकुलै सर्वसाधारणको पहुँचभन्दा बाहिरको थियो । यो त सम्भ्रान्तहरूको विलासिताको वस्तु थियो त्यस बखत । यो कुरा आजभन्दा केवल २३–२४ वर्ष अघिको हो । अहिले ती परिस्थितिहरू सम्झँदा पनि विश्वास गर्न कठिन हुन्छ । त्यसैले त सुरुमा सीमित मानिसहरूले मात्रै मोबाइल फोन बोक्थे । 

धेरैले मोबाइल बोक्नै नसक्ने भएकाले त्यस बेला भित्र्याइएको सिस्टमको सामर्थ्य पनि २० हजार सिमलाई मात्रै थेग्ने खालको थियो । सेवा विस्तार गर्ने क्रममा सिस्टमको क्षमता पनि बढाएर ५० हजार पुर्यायौं । त्यसपछि २०६३ सालमा मात्रै मोबाइल सेवाको क्षमता ५० हजारबाट १ लाख पुर्‍याइएको थियो । 

२०६१ सालमा एनटिसीले ‘इन्टेलिजेन्ट नेटवर्क–आईएन’ प्रणालीमा आधारित प्रिपेड सेवा सञ्चालन गरिएको थियो । त्यसअघि पोस्टपेड सेवा मात्रै थियो । त्यस बखत हामीले निकै सस्तो मूल्यमा आईएन सेवा सञ्चालन गरेको उनी सम्झन्छिन् । भन्छिन्, ‘त्यही भएर भद्रकालीको केन्द्रीय कार्यालयबाट सीमकार्ड वितरण गर्दा सिम लिन चाहनेहरूको लाइन कुपण्डोन पुलसम्म थियो ।’ 

चाबहिल, जावलाखेलमा पनि उस्तै लोमो लाइन थिए । एउटा सीमकार्ड लिनलाई ‘फोर्स लगाउनु पर्ने’ अवस्था थियो । त्यस बेला मोबाइल सेट हुनेहरूले पनि सीमकार्ड पाउन कठिन थियो । त्यस्तो अवस्थाबाट गुज्रिएर मोबाइल सेवा सहज हालतमा पुगिसकेको हो । 

२०६३ सालमा अर्को अपरेटरले पनि मोबाइल सेवा सुरु गर्‍यो । त्यसपछि सुरु भयो प्रतिस्पर्धाको बजार । ‘हाम्रा लागि सेवा र यसको प्रविधि नयाँ नै थियो । हामीसँग मोबाइल सेवाको कुनै अनुभव थिएन । गर्दै र सिक्दै थियौँ’, उनी भन्छिन्, ‘तर प्रतिस्पर्धी कम्पनी १८–१९ वटा देशमा मोबाइल सेवा विकास गरेर नेपालमा प्रवेश गरेको थियो ।’ 

त्यसै कारण अरूका लागि ‘सामान्य’ भए पनि नेपाल टेलिकमका प्राविधिकहरूका लागि यो चुनौतीपूर्ण विषय थियो । ‘हामीले दिएको सेवा, सुविधा र विस्तारलाई सबैले मन पराउनु भयो’, उनी भन्छिन्, ‘त्यही क्रममा हामीले आफ्नो क्षमता बढाएर एकै पटक १० लाख मोबाइल सेवा सञ्चालन गर्न सक्ने सामर्थ्यको प्रणाली ल्यायौँ । सन् २०१३ मा फेरि क्षमता बढाएर १ करोड मोबाइल ग्राहकलाई सेवा दिने प्रणाली ल्यायौँ ।’ 

सन् २०१८ मा फोरजी (चौथो पुस्ता) सेवा सञ्चालनमा ल्याएको एनटीसी अहिले फाइभ जीको परीक्षण गरेर सेवा सञ्चालन गर्ने प्रतीक्षामा छ । अन्य कर्पोरेट दुनियाँभन्दा भिन्न, दूरसञ्चारमा कतै न कतै ‘राष्ट्रियता’लाई प्रश्रय दिने परिपाटी लामै समय कायम भएकाले यसको लाभ पनि एनटीसीलाई मिलेको छ । 

अहिले आफूहरूको ग्राहक सङ्ख्या करिब २ करोड १२ लाख पुगेको सङ्गीता बताउँछिन् । उनका अनुसार ‘रियल टाइम’मा सक्रिय प्रयोगकर्ता १ करोड ५० लाख छन् । तर यस आँकडामा ध्यान दिनुपर्ने कुरा के हो भने, कुनै सीमकार्ड लगातार ३ घण्टा भन्दाबढी सक्रिय त्यो ‘रियल टाइम डेटा’मा देखिँदैन । 

मोबाइल अफ गरिएको छ भने पनि त्यो प्रणालीमा देखिँदैन । तर फेरि फोन अन गरेपछि लोकेसन अपडेट हुन्छ र गणना हुन्छ । त्यसले गर्दा कोही विदेश जाने–आउने हुन्छ, कतिपयले फोन अफ राख्छन् । यसो हुँदा सक्रिय प्रयोगकर्ताको अङ्क डेढ करोडभन्दा माथि नै हुने उनी बताउँछिन् ।

अहिले फोर जी सेवा सबै जिल्लामा विस्तार भइसकेको छ । तर कयौँ कुनाकाप्चामा सेवा विस्तार गर्न बाँकी छ । ‘यसका लागि छिट्टै नै अर्को योजना पनि लिएर आउँदै छौँ’, उनले भनिन् । फोरजीमात्र होइन, फाइभ जीका लागि पनि आफूहरू तयार रहेको उनले बताइन् । 

दूरसञ्चार प्राधिकरणबाट नेपालमा फाइभ जीको स्टेरिङ लाइसेन्स लिएर परीक्षण सेवा सञ्चालन गरिसकेको छ । टेलिकमसँग अहिले नै फाइभ जीको प्रणाली तयार छ । कुन फ्रिक्वेन्सी प्रयोग गर्ने भनेर नियामक निकाय (नेपाल दूरसञ्चार प्राधिकरण)ले यकिन गर्नासाथ नै यो प्रणाली लागू गर्न आफूहरू तयार रहेको उनी बताउँछिन् । 

अहिले सहरी क्षेत्रमा पनि नेटवर्क नटिप्ने अवस्था छ । ‘एक ठाउँमा टावर बनाएका हुन्छौँ, त्यसको अगाडी टावर नै छेक्ने गरी घर बनाइदिएको हुन्छ । यसले सहरी क्षेत्रमा केही समस्या पनि ल्याएको छ’, उनी भन्छिन् । यस्ता समस्या भएका ठाउँमा टावर सार्ने कामहरू पनि भइरहेको उनले बताइन् । भनिन्, ‘हाम्रो अहिलेको प्राथमिकता सेवा विस्तार सँगसँगै गुणस्तर सुधार पनि हो ।’

टेलिफोन लाइन र इन्टरनेट

एनटीसीको अर्को प्रतिष्ठित सेवा टेलिफोन लाइन हो । मोबाइल सेवा सञ्चालनमा आउनुअघि पिएनएसटी (ल्याण्डलाइन) फोन धेरै प्रयोगमा थियो । त्यस बेलाको इन्टरनेट ‘डायल–अप’ प्रविधिबाट चल्थ्यो । त्यसमा बढीमा १२८ केबीपीएसको क्षमता हुन्थ्यो । 

त्यसपछि टेलिकमले एडीएसएल प्रविधिमा स्तरोन्नति गर्‍यो । त्यो प्रविधि पनि धेरै चल्यो । झन्डै ६–७ लाख ग्राहकले एनएसटी फोनमार्फत एडीएसएल इन्टरनेट सेवा लिनु भएको थियो । त्यसपछि त्यो प्रविधिलाई पनि स्तरोन्नति गर्दै टेलिकमले २०७१ सालदेखि ‘फाइबर टु द होम’ सेवा सञ्चालनमा ल्याएको छ । 

‘पहिले टेलिकमले दिएको सेवामा ग्राहकको घरभित्र तामाको तार पुग्थ्यो भने अहिले ग्राहकको घरभित्र सिसाको तार पुगेको छ’, सङ्गीता भन्छिन्, ‘हामीले फाइबर नेटवर्क सुरु गर्ने बेलामा अरू इन्टरनेट सेवा प्रदायकहरूले पनि सेवा सञ्चालन गरिसक्नु भएको थियो ।’

आफूहरू मोबाइल, टेलिफोन, एडीएसएल लगायत सेवा दिइरहेको हुनाले ‘फाइबर टु द होम’ सेवा सञ्चालन गर्न केही समय ढिला हुन गएको उनी बताउँछिन् । त्यसैले फाइबर इन्टरनेटको बजार केही हदसम्म अन्य इन्टरनेट सेवा प्रदायक (आइएसपी)हरुले लिइसकेका थिए । टेलिकमले ढिला प्रवेश गरेको भए पनि उसले यस प्रविधिको विस्तारलाई कायमै राखेको छ । हालसम्म २२ लाखभन्दा बढी ग्राहकको घरमा इन्टरनेट दिन सक्ने ‘नेटवर्क’ बनाइसकेको उनको दाबी छ । 

चालु आर्थिक वर्षभित्रै तामाको तारमा सञ्चालित फोन तथा इन्टरनेट सेवालाई फाइबर तारले विस्थापित गरिसक्ने लक्ष्य कम्पनीले लिएको छ । यसमा ८० प्रतिशतभन्दा बढी प्रगति पनि भइसकेको सङ्गीता बताउँछिन् । ‘यो नयाँ इन्टरनेट प्रविधिलाई हामीले निकै व्यवस्थित रूपमा विस्तार गरिरहेका छौँ’, उनी भन्छिन्, ‘जथाभाबी केबल तान्ने काम गरेका छैनौँ ।’ त्यसै कारणले आफूहरूको सेवा विस्तारमा केही सुस्तता भएको उनको तर्क छ । 

‘जथाभाबी तार तान्दा सेवाको गुणस्तर राम्रो हुँदैन । हामीले अलि विशिष्ट ढङ्गले तारलाई भूमिगत रूपमा बिछ्याएका छौँ । त्यसले पनि सेवा विस्तारमा समय लागेको देखिन्छ ।’ यो कुरा आफ्ना ग्राहकले राम्रोसँग बुझिसकेको उनी बताउँछिन् । 

‘समस्यारहित बिलिङ प्रणलि’

टेलिकमको बिलिङ प्रणालीमा चुहावट भएको वा बढी बिलिङ गरिरहेको भनेर बेलाबखत खबर सार्वजनिक भइरहेका छन् । एनटीसीले मोबाइल मात्रै नभएर टेलिफोन र फाइबर टु द होम लगायत सबै सेवाको बिलिङ एउटै प्रणालीबाट गरिरहेको छ । 

‘हामीले आन्तरिक तौरबाटै यसमा भएका लिकेजको सन्दर्भमा अध्ययन गर्न टोली नै गठन गरेर पनि अध्ययन गराएका छौँ । तर त्यसमा हामीले कुनै लिकेज भएको भेट्टाएनौँ’, उनी भन्छिन्, ‘हाम्रो अध्ययनले ०.१२ प्रतिशत मात्रै यस्तो लिकेज भएको देखाएको छ । तर सञ्चारमाध्यममा १२ प्रतिशत लिकेज भएको कुराहरू आइरहेको छ । तर त्यो तथ्यमा कुनै आधार देखिँदैन । त्यो १२ प्रतिशत कहाँबाट आएको हो भन्ने हामीले पत्ता लगाउन सकेका छैनौँ ।’

उनले एनटीसीको बिलिङ प्रणाली सुरक्षित रहेको दाबी दोहोराइन् । ‘बिलिङ प्रणाली असुरक्षित हुनु भनेको राजस्व चुहावट पनि हो । हामी त्यसो हुन दिँदैनौँ’, उनी भन्छिन् । यसले यस प्रकारका प्रणालीहरू खरिद गर्दा नै चुहावट नहुने गरी थुप्रै प्राविधिक मानकहरू राखेर मात्रै खरिद गरेको बताइन् । 

‘प्रणाली लागू हुँदा पनि हामीले यसका धेरै प्राविधिक पाटाहरू पहिले परीक्षण गरेर नै कार्यान्वयन गरेका हुन्छौँ’, उनी भन्छिन्, ‘त्यसले गर्दा अहिलेसम्म धेरै लिकेज छ भन्ने कुरा बाहिर आइरहेको भए पनि त्यसको प्रमाण भेटिएको छैन । हाम्रो प्रणालीले शतप्रतिशत नै काम गरिरहेको छ ।’

आफूहरूले कुनै पनि सामान वा प्रणाली खरिद गर्दा इन्टरनेशनल टेलिकम्युनिकेशन युनिट (आइटीयु)को मापदण्ड र हाम्रा आफ्नै सर्त तथा मापदण्डलाई समेत ध्यान दिनुपर्ने अवस्था रहेको उनी बताउँछिन् । हामीले खरिद गर्दा मात्रै होइन, कम्पनीले त्यस्ता वस्तु वा सेवा उत्पादन गर्दा नै स्थापित मापदण्डको परिपालना गर्नुपर्छ । अन्यथा त्यस्ता वस्तुको बजार सुनिश्चितता नै नहुन सक्छ । 

‘उत्पादकहरू आफैँ पनि गुणस्तरको मापदण्डमा बाँधिएका हुन्छन् । हामीले बनाउने स्पेसिफिकेशनमा पनि अन्तर्राष्ट्रिय स्ट्याण्डर्डलाई स्वीकार गरिएको हुन्छ’, उनी थप्छिन् । त्यसैले बेलाबखत चर्चा हुने गरेजस्तो कुनै देश (खास गरी चीन)को कम्पनीहरूले उत्पादन गरेको उपकरण गुणस्तरीय छैन भन्ने कुरामा सत्यता नरहेको उनी बताउँछिन् । 

नेपालमा दूरसञ्चारको महसुल दर एसियामै दोस्रो सस्तो 

आफ्नो जीवनको पुरा क्रियाशील उमेर नै नेपाल टेलिकमलाई सुम्पिसकेकी उनीसँग यही कम्पनीलाई सुधार गर्नेभन्दा बाहेक जिन्दगीको कुनै दोस्रो लक्ष्य छैन । ‘सुधार गर्नुपर्ने ठाउँ धेरै छ । हामी गर्न बाँकी काम धेरै छन्,’ उनी भन्छिन्, ‘हामीले जिल्ला जिल्लामा हे¥यौं भने भौगोलिक विकटताले गर्दा सबै स्थानमा समान पहुँच छैन ।’ 

अहिले बस्ती विस्तार हुने प्रवृत्तिमा पनि ठुलो अन्तर आएको उनी सुनाउँछिन् । पहिले डाँडाका टुप्पा टुप्पामा बस्ती हुन्थ्यो भने अहिले सडक सञ्जाल पुगेको, बिजुली पुगेको ठाउँमा मानिसहरू झुम्मिन थालेका छन् । त्यसैले हाल मोबाइल सेवा दिइरहेको क्षेत्रलाई पनि ‘रि–अर्गनाइज’ गर्नुपर्ने आवश्यकता बनेको उनले बताइन् । भविष्यमा चाहिने फाइभ जी, सिक्स जीको पूर्वाधार बनाउने, अध्ययन गर्ने जस्ता काममा अब उनको ध्यान तानिएको छ । 

नेपालमा अहिले दूरसञ्चारको महसुल दर एसियामै दोस्रो सस्तो भएको उनी बताउँछिन् । उनले पोस्टपेड ग्राहकहरूका लागि हालै मात्र सुलभ दर अर्थात् ६३६ रुपैयाँमा ९ जीवी डेटा, २०० एसएमएस र असीमित भ्वाइस कल प्रदान गर्ने प्याकेज सञ्चालनमा ल्याएको उनले बताइन् । 

‘विद्यार्थीदेखि दैनिक प्रयोगकर्तालाई समेट्ने खालका दैनिक प्याकेजहरू पनि ल्याएका छौँ’ उनी भन्छिन् । यी विविध प्याकेज सुविधाले सेवाग्राहीलाई थुप्रै विकल्पहरू प्रदान गरिएको उनको ठम्याइ छ । तर यसले व्यापारलाई भने जोखिमपूर्ण दिशामा अघि बढाएको उनको बुझाइ छ । ‘अन्य देशमा भ्वाइसको महसुल घट्दै र डेटाको बढ्दै छ’, उनी भन्छिन्, ‘नेपालमा डेटाको पनि महसुल घटाइरहेको हुनाले दूरसञ्चार उद्योग ओरालो लाग्ने ठाउँमा पुगिरहेको छ ।’

कतिपय आइएसपीहरुले देशभरि नै २४–२५ सय ‘हटस्पट’ राखेर त्यही मोबाइल सेवा दिइरहेकोमा उनको गुनासो छ । ‘उहाँहरूले वार्षिक २ लाख ५० हजार तिर्‍यो भने त्यो सेवा दिन पाउनु हुन्छ । तर हामीले ५ वर्षमा २० अर्ब रोयल्टी तिर्नुपर्छ’, उनी भन्छिन्, ‘यो सेवा प्रदायकबीच भएको विभेद हो । यही विभेदले गर्दा पनि हाम्रो आम्दानी घटिरहेको छ ।’ 

यस प्रकारको विभेद अन्त्य गर्न आफूहरूले विगतदेखि नै नीति निर्माता र नियामक निकायलाई आग्रह गर्दै आएको उनले सुनाइन् । ‘मोबाइल डेटा सेवा दिने आइएसपी वा वायरलेस जे भए पनि समान किसिमको राजस्व लाग्ने व्यवस्था हुनु पर्‍यो’, उनी थप्छिन्, ‘आइएसपीको लाइसेन्स लिएर मोबाइल डेटा दिने अवस्था बन्द हुनु पर्‍यो भनेर हामीले आवाज उठाइरहेका छौँ । त्यसमा सच्चियो भने हाम्रो डेटातर्फको आम्दानी बढ्छ ।’


प्रतिक्रिया दिनुहोस्